सूर्यप्रसाद प्रधान कहाँ भोली बिहान भेट्ने भनेर बीपी कोइरालाले ९ बजेको समय दिनुभएको रहेछ । त्यसैअनुसार बिहान म गएँ । साढे ७–८ बजेतिर एकठाउँमा हामी पत्रकार जम्मा भयौं । त्यहाँ हामीले बीपीसँग कुराकानी गर्ने, बीपीको अन्तर्वार्ता लिने भनेर ‘लौ प्रश्न बनाऔँ’ भन्ने तयारी गर्न थालियो । उसले उसलाई बनाउन भन्ने, एकले अर्कालाई बनाउन भन्ने भन्दाभन्दै समय गइरहेको थियो । त्यसपछि कसले गर्ने कसले गर्ने भन्ने त्यस्तै अलमल चाहिँ भयो ।

त्यसपछि डिल्लीप्रसाद आचार्यले चाहिँ के भन्नुभयो भने–‘उसले उसलाई भनिरहनुभन्दा अर्जुन तिमी चाहिँ अलिकति साहित्यतर्फको मान्छे, प्रश्न बनाऊ र बीपीसँग कुरा गर्न सुरु गर ।’
त्यहाँबाट मैले ‘त्यसो भए सुरु त म गर्छु, तर त्यसपछि तपाईंहरूले अगाडि बढाउनुपर्छ’ भन्ने सहमति भएर हिँडियो, प्रश्न चाहिँ बन्न सकेन ।
एकले अर्कोलाई भन्ने । नारायणजीलाई भन्यो–‘तपाईं राससको मान्छे, बनाउनुस’ भन्दा ‘ बीपीको अगाडि त मेरो त हिम्मतै हुन्न भन्ने ।’ ‘अब म पहिलोचोटि यस्तोमा परेको छैन,’ भनेर बसन्तजीले भन्ने । डिल्लीप्रसादले ‘अब तिमीहरू छँदा छँदै तिमीहरू गरन’ भन्ने । प्रश्न बन्न चाहिँ बनेन् ।
के भयो भने, त्यो बीपीको दहकसले त्यहाँ प्रश्न बन्न नसकेको हो । त्यसपछि गइयो । अर्को नजान पनि भएन, समय लिइसकिएको छ, इज्जतको सवाल भयो त्यहाँनिर । जाँदाखेरि १५ मिनेट जति बाँकी छ । मैले मनमा सोचेँ–‘अब केही त गर्नपर्यो ।’ अब मलाई सरस्वतीले साथ दिएजस्तो चाहिँ लाग्छ । जाँदाजाँदै मलाई चाहिँ नि एक÷दुईवटा प्रश्न चाहिँ दिमागमा चाहिँ ‘यो गर्दा हुन्छ’ भन्ने भयो, गइयो । गएर बीपीको अगाडि बसियो ।
चट्ट बायाँ काटे दौरा लाउनुभएको छ । त्यो फ्रेन्च कट दारी छ । अग्लो खालको मान्छे । बीपीको अगाडि चाहिँ नि बोल्नुछ, प्रश्न गर्नुछ । अनि ‘त्यो प्रश्न नै तिम्रो ठिक छैन’ भनेर बीपीले भन्ने हुन् कि भन्ने मलाई वास्तवमा डर छ ।
त्यसपछि मैले हिम्मतका साथ मैले पहिलो प्रश्न उहाँलाई गरेँ । मैले भनेँ- ‘बीपीबाबु’ भनेर चाहिँ सम्बोधन गरेँ । र भनेँ के भनेँ- त्यतिखेर परिवेश त्यस्तै बनाएको थियो के नेपाली कांग्रेसको । पञ्चायतमा प्रवेश गर्ने कि नगर्ने भन्ने हल्ला चलेको थियो, गरेको थिएन । ‘पञ्चायतले चाहिँ एउटा चुनाव चिन्ह दिन्छ भने, वर्गीय सङ्गठनको सदस्यता लिनुपथ्र्यो चुनावमा जान । वर्गीय सङ्गठनको सदस्यता लिएर भए पनि चुनावमा जाने, एउटा चुनाव रूख चिह्न दिन्छ भने’ भन्ने कुरा करिब–करिब सोध्न लागेको थिएँ रोकिएको रोकियो । अनि त्यसपछि ‘नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टी चुनावमा जाने कुरामा के फरक पथ्र्यो ? तपाईंहरूको यस्तो चर्चा आएको थियो, आखिरमा चुनावमा किन जानुभएन ?’ भनेर मैले बीपीलाई सोधेँ ।
त्यहाँबाट बीपीले प्रसन्न भएर के भन्नुभयो भने–‘हेर्नुस्, तपाईंहरू अहिले जुन घरमा आउनुभएको छ, घरको ढोकामा ‘अनुमतिविना प्रवेश निषेध’ भनेर लेखिएको छ भने र हुन्छ भने, तपाईं सज्जन हुनुहुन्छ भने अनुमति नलिईकन आउनुहुन्न । दुर्जन हुनुहुन्छ भने मात्रै आउनुहुन्छ । हो, हाम्रो त्यस्तै हो । हामी सज्जन थियौँ । अनि चाहिँ नि प्रजातान्त्रिक अभ्यास गर्न चोरबाटो किन जाने ? हाम्रो त मूलबाटो नै छँदैछ । त्यसैले हामीले भाग लिएनौँ’ भनेर भन्नुभयो । मेरो चाहिँ नि जुन भय (डर) थियो उहाँसित प्रस्तुत हुने, छर्लङ्ग भएर म चाहिँ ढुक्कसित कुरा गर्न सक्ने भएँ ।
त्यसपछिको पनि प्रश्न मलाई याद छ । बीपीले फेरि कम्युनिस्टहरूलाई असाध्यै गाली गर्ने । ‘अब जनमत सङ्ग्रह भइरहेछ मुलुकमा । कम्युनिस्ट र कांग्रेसहरू एक हौँ र जनमत संग्र्रहमा जाऔँ, बहुदलीय शासन व्यवस्थाले जित्छ भनेर कम्युनिस्टहरू भनिरहेका छन् । आम जनताको त्यही भावना छ । तपाईं चाहिँ कम्युनिष्टसित एकता गर्दिनँ भन्नुहुन्छ । यसो किन गर्न परेको छ र ?’ भनेर मैले बीपीलाई सोधेँ ।
उहाँले पनि त्यसको जवाफ यति मजाले दिनुभयो–‘हेर्नुस्, मैले कम्युनिस्टसित एकता गर्दिनँ भनेको होइन । बहुदलवादी जोसुकैसित म गर्छु । तर कम्युनिष्टका १७ वटा पार्टी छन् कोसित एकता गर्ने ? एउटासित गरे अर्को रिसाउँछ । त्यसो भएर मैले मनमोहनजीलाई भनिदिएको छु–एउटा वाममोर्चा बनाउनुस्, अनि त्यससित संयुक्त मोर्चा गरौँ र जनमत सङ्ग्रहमा जाऔँ । उहाँ लाग्नुभएको छ, वाममोर्चा बन्दैछ र वाममोर्चामार्फत् कम्युनिस्टहरूसित एकता हुन्छ, हामी एक भएर बहुदलमा जान्छौँ, चिन्ता नगर्नुस ।’–भनेर उहाँले भन्नुभयो ।
बीपीसँग भेट भएको त्यो क्षणलाई अहिले पनि म पत्रकारिताको अर्थमा गाइडलाइनको रूपमा सम्झन्छु र मेरो जीवनमा अलि बेग्लै खालको स्मरणीय पलको रूपमा त्यसलाई मैले अहिले पनि सम्झिरहेको छु ।




