मदन पौडेल
लुम्बिनी अञ्चलाधीश कार्यालयले लुम्बिनी सन्देश साप्ताहिक प्रकाशन गर्दथ्यो । त्यो पत्रिकाको सम्पादक पहिले मोदनाथ प्रश्रित थिए । त्यसपछि सम्पादक भए अर्जुन ज्ञवाली । त्यही बेला चिनजान भयो उनीसँग । यो २०२४ सालको कुरा हो ।
यहाँबाट प्रकाशन हुने लुम्बिनी साप्ताहिक दोस्रो पत्रिका हो । पहिलो लुम्बिनी साप्ताहिक हो, जुन सूर्यलालले निकाल्थे । अर्जुनजीका आफन्त चुरामणि ज्ञवाली पञ्चायत निरीक्षक अधिकारी थिए, उनैले लुम्बिनी सन्देशको सम्पादकको चाँदोपाँदो मिलाइदिएका थिए । चुरामणिले अर्जुनजीलाई काका भन्थे । त्यसपछि धेरैले ‘अर्जुन काका’ भन्न थाले । पूराना मित्र देवीप्रसाद पाण्डेले अहिले पनि ‘अर्जुन काका’ भन्छन् । लुम्बिनी सन्देशमा १० वर्ष सम्पादक भए, उनी । खरदार सरहको तलब थियो ।
म २०२८ सालमा नेकपा रूपन्देहीको सचिव थिएँ । त्यसभन्दा अघि नै म वारेन्टेड थिएँ । भूमिगत रूपमा पार्टी काममा क्रियाशिल थिएँ । सरकारले मेरो जग्गाजमिन बेचबिखनमा प्रतिबन्ध लगाएको थियो । २०३१ सालमा खुला भएँ । राजकाजका दुई मुद्दा थिए । प्रशासनमा हाजिर भएँ । बुटवल भैरहवाबाट बाहिर जान नपाउने गरी प्रशासनले मलाई हिंड्डुलमा प्रतिबन्ध लगायो ।
पुष्पलालले मलाई कुनै एक दिन भने–‘तपाईंको पत्रकार हुने स्वभाव छ, पत्रकार हुनुस्, ।’ उनकै सल्लाहमा म पत्रकारितातिर लागें । म मातृभूमिको संवाददाता भइ काम गरें । त्यही बेला मैले अरू पत्रिकामा पनि काम गर्न अर्जुनजीलाई सल्लाह दिएँ ।
मातृभूमिको सह–प्रकाशन जनदूत दैनिक प्रकाशन हुन्थ्यो । त्यसमा संवाददाता भइ काम गर्न मैले अर्जुनजीलाई सघाएँ ।
उनको समाचारभन्दा फिचरमा रूची र दखल थियो । विकास निर्माण र सामाजिक मुद्दामा उनले फिचर लेख्थे । केही समय राष्ट्रिय समाचार समितिमा पनि काम गरे । हामीले कतिपय समाचार र फिचर संयुक्त रूपमा लेख्यौं । हामीले लेखेका समाचार र फिचर भारत र चीनका सञ्चारमाध्यमले उधृत गर्थे । रेडियो पेकिङले धेरैपल्ट हाम्रो समाचार पढ्थ्यो । रेडियो पेकिङले हिन्दी भाषामा समाचारमूलक कार्यक्रम चलाउँथ्यो । त्यही कार्यक्रममा धेरैपल्ट हाम्रा समाचार पढ्थ्यो ।
लुम्बिनी सन्देश बन्द भएपछि उनी शिक्षण पेशामा संलग्न भए । उनले सेमलारमा पढाउन थाले । पछि बुटवल माविमा सरूवा भयो । त्यसैबेला शंकरनगरमा जग्गाजमिन किनेर घर बनाइ बस्न थाले । त्यसपछि मणिग्रामस्थित शान्ति माध्यमिक विद्यालयमा सरूवा भयो ।
हरिहर संस्कृत पाठशाला अर्घाखाँचीको खिदिममा छ । यही उनको प्रारम्भिक शिक्षा आर्जन भयो । मिहिनेती अर्जुनले छात्रवृत्तिमा वनारस पढ्ने अवसर पाए । वनारसबाट सम्पूर्ण मध्यमा पूरा गरे । सम्पूर्ण मध्यमा पूरा गरेपछि उनी बुटवल आएका थिए । नेपाली भाषा र व्याकरणको राम्रो ज्ञान भएकाले उनले लुम्बिनी सन्देशको सम्पादकको जिम्मेवारी पाएका हुन् । काम गर्दै अघि बढ्दा पत्रकारिताको ज्ञान आर्जन भयो । भाषाको ज्ञान राम्रो भएकोले मैले इस्यु दिन्थे, उनी लेख्थे ।
शिक्षण पेशामा हुँदै गर्दा पनि अखबारी लेखन छाडेनन् । निरन्तर यहाँका विभिन्न पत्रपत्रिकामा लेखे । कुनै विषयमा लेख्नुपर्दा सल्लाह माग्थे । हामीबिचमा कहिल्यै तपाईं र तिमी चलेन् । मैले अर्जुन दाइ भनेपछि उनले मदन भनेर सम्बोधन गरे पनि तँ—तँ चल्यो । यो एउटा असल मित्रताको कडी थियो । पत्रकारिता र राजनीतिले बनाएको सम्बन्ध पछि पारिवारिक भयो ।
दुःख सुख हरेक कुरामा उनले मलाई सम्झे, मैले उनलाई । कतिपय विषयमा सल्लाह गर्नुपर्दा एक अर्कालाई खोज्यौं । हाम्रो स्वभाव अलि फरक छ, म अलि कडा स्वभावको । उनी नरम स्वभावको । दुई जनाको फरक स्वभाव भए पनि एक अर्कालाई स्वीकार ग¥यौं ।
पाल्पामा पत्रकारितामा जमेका थिएँ, विनयकुमार कसजू । उनले ग्रामीण विकास पाल्पा संस्था स्थापना गरे । त्यही संस्थाले पत्रकारिताको तालिम दिने गर्दथ्यो । अर्जुनलाई पनि तालिममा प्रशिक्षकको रूपमा काम गर्ने अवसर दिए कसजूले । सरल ढंगले पत्रकारिताका विभिन्न आयामबारे बताउने अर्जुन योग्य प्रशिक्षक पनि थिए ।
साउन ८ गते बिहीबार कस्तो धभयो होला भनेर सोध्न भिडियो कल गरें । उनले भने–‘मलाई ठिक भयो, पाँच छ दिनपछि आउँछु ।’ आधा घण्टा कुरा भयो । मैले सञ्चो हुन्छ, उपचार गराउन सहयोग गर्नु । डाक्टरले भने अनुसार दवाई खानुपर्छ । जाँच गराउन सहयोग गर्नु भनेर सम्झाएँ । त्यो किन भनेको भने डाक्टरले दिएका दवाई खान नखोजेको कतिपय जाँच गर्न अप्ठारो मानेको कुरा मलाई छोराहरूले सुनाएका थिए ।
उनले मलाई सञ्चो भयो भनेको तीन दिनमै उनलाई सकस भयो । बाबुहरूले मलाई फोन गरे । मैले छिटो अस्पताल लैजान भनें । साउन १० गते राति साढे आठ बजेतिर उनको देहान्त भयो । उनको देहान्तसँगै ६० वर्ष लामो हाम्रो अविचलित सम्बन्ध सकियो ।
अविचलित एउटा सम्बन्ध, त्यो सम्बन्ध अरूसँग भन्दा विशेष छ, यार दोस्तको सम्बन्ध । तँ–तँ को सम्बन्ध । अर्जुनजी भौतिक रूपमा छैनन् भनेर सुन्दा मलाई झट्ट पत्यार लागेन् । तर मलाई पत्यार नलागेर के गर्नु । आखिर अन्तिम सत्य त्यही हो । त्यही बाटोमा हामी पनि जाने नै हो । उनका बारेमा अहिले धेरै कुरा नाचिरहेका छन्, सम्बन्धहरू धेरै उतारचडाव भए, कहिले घाम, कहिले छायाँ । तर यो यस्तो सम्बन्ध रह्यो, घाम—छायाँ रहेन् । अविचलित कञ्चन नदी झै बगिरह्यो । प्रिय अर्जुन, तिमी भौतिक रूपमा नरहे पनि तिमीसँगको दोस्ती सधैँ सम्झना हुनेछ, एउटा दोस्त नहुँदाको अभाव मैले सामना गर्नुपर्नेछ । त्यो रिक्तता मलाई परेको छ । हार्दिक श्रद्धाञ्जली अर्जुन ।




