बुटवल । सामाजिक सेवाको क्षेत्रमा सक्रिय कपडा बैंकलाई रोयल सुजले १०० जोर जुत्ता सहयोग गरेको छ। रोयल सुजका कार्यकारी निर्देशक भीमलाल पौडेलले कपडा बैंकका सञ्चालक कमल जीसीलाई जुत्ता हस्तान्तरण गरेका हुन्। कपडा बैंकले मानवीय सेवा र सामाजिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै रोयल शुजले जुत्ता सहयोग गरेको कमल जीसीले बताए ।
सहयोगस्वरूप प्राप्त जुत्ता कपडा बैंकमार्फत आवश्यकतामा रहेका सर्वसाधारणले निःशुल्क रूपमा लैजान पाउने व्यवस्था गरिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा नयाँ कपडा र जुत्ता खरिद गर्न कठिन हुने परिवारलाई लक्षित गर्दै कपडा बैंकले सहयोग सामग्री वितरण गर्दै आएको छ।
कपडा बैंकले प्रयोग गर्न मिल्ने तर घरमा अनावश्यक भएर थन्किएका कपडा संकलन गरी आवश्यकतामा रहेका व्यक्तिसम्म पुर्याउँदै आएको छ। घरघरमा प्रयोग नभएका कपडा फाल्नुको सट्टा संकलन गरेर पुनः प्रयोगमा ल्याउने अभियानमार्फत कपडा बैंकले पुनःप्रयोगको संस्कृति विकाससँगै सामाजिक सेवाको कामलाई अघि बढाउँदै आएको छ।
कपडा बैंकमा संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिले आफ्नो आवश्यकता र रोजाइअनुसार निःशुल्क लैजान सक्ने व्यवस्था गरिएको छ। यसले एकातर्फ आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुर्याउने र अर्कोतर्फ प्रयोग गर्न मिल्ने कपडा खेर जान नदिई पुनःप्रयोगमा ल्याउने काममा योगदान पुर्याउँदै आएको छ।
कपडा बैंकका सञ्चालक कमल जीसीले विभिन्न व्यक्ति, संस्था तथा व्यवसायीबाट प्राप्त सहयोगलाई आवश्यकतामा रहेका नागरिकसम्म पुर्याउँदै आएको बताउँदै रोयल सुजको सहयोगले सेवाको दायरा थप फराकिलो बनाउन सहयोग पुग्ने बताए।
उनका अनुसार कपडा बैंकमा आउने सहयोग सामग्री व्यक्तिगत रूपमा मात्र नभई विभिन्न सामाजिक अभियान तथा समुदायका आवश्यकताअनुसार पनि वितरण हुँदै आएको छ। सहयोग गर्ने हात र आवश्यकतामा रहेका हातलाई जोड्ने माध्यम बनेको कपडा बैंकको अभियानले सामाजिक सेवासँगै पुनःप्रयोग र वातावरण संरक्षणको सन्देशसमेत प्रवाह गरिरहेको छ।




