बुटवल । बुटवलमा बिहानको समयमा सञ्चालन हुँदै आएको निःशुल्क जुम्बा योगाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। सङ्गीतको तालमा योग, व्यायाम र शारीरिक गतिविधि गराइने जुम्बा योग बुटवल र आसपासका विभिन्न खुला चौरमा नियमित सञ्चालन भइरहेको हो।
लुम्बिनी वाणिज्य क्याम्पसको चौर, मणिमुकुन्द सेन उद्यान फुलबारी, बुटवल बहुमुखी क्याम्पस, योगिकुटी, शङ्करनगर, भलवारी, ठुटेपिपल र नयाँगाउँलगायतका स्थानमा बिहान ५ देखि ६ बजेसम्म जुम्बा योग सञ्चालन हुँदै आएको छ।
निःशुल्क रूपमा सञ्चालन भइरहेको अभियानमा जुनसुकै उमेरका महिला तथा पुरुष सहभागी हुँदै आएका छन्। प्रशिक्षकहरूका अनुसार सहभागीमध्ये करिब ८० प्रतिशत महिला छन्। करिब एक दर्जन प्रशिक्षकमा पनि अधिकांश महिला नै छन् ।
जुम्बा योग अभियानको मुख्य प्रशिक्षक विष्णुमाया श्रेष्ठ हुन्। कोरोना महामारीका बेला बुटवलको लक्ष्मीपार्कबाट थोरै व्यक्तिलाई सहभागी गराएर सुरु गरिएको अभियान अहिले जिल्लाका विभिन्न स्थानमा विस्तार भएको श्रेष्ठले बताइन्।
श्रेष्ठका अनुसार सङ्गीतसँग जोडेर योग गराउँदा नियमित व्यायाम गर्न कठिन मान्नेहरू पनि सहज रूपमा सहभागी भएका छन्। उनले पछिल्लो पाँच वर्षमा दर्जनभन्दा बढी योग प्रशिक्षक तयार पारेको बताइन्।
अभियानअन्तर्गत अहिले विष्णुमाया श्रेष्ठ, सरिता मल्ल खड्का, सुमी मगर, पदम जिसी, लक्ष्मी पोखरेल, लक्ष्मी खड्का, विष्णु केसी, धना राना, विनोद आचार्य र थम्मन राना प्रशिक्षकका रूपमा सक्रिय छन्।
प्रशिक्षक सरिता मल्ल खड्काका अनुसार जुम्बा योगमा महिलाको सहभागिता उल्लेख्य छ। बिहानको समयलाई स्वास्थ्यका लागि उपयोग गर्ने बानी विकास भएकाले सहभागीको संख्या बढिरहेको उनको भनाइ छ।
प्रशिक्षक सुमी मगरले सङ्गीतसँग जोडिएको अभ्यास भएकाले जुम्बा योगमा सहभागी हुन सहज भएको बताइन्। उनका अनुसार नियमित अभ्यासले शरीरलाई सक्रिय राख्न सहयोग गरेको छ।
प्रशिक्षक पदम जिसीले योगासन, प्राणायाम र ध्यानसँगै भजन, स्वदेशगान तथा अन्य सङ्गीत प्रयोग गर्दा सहभागीलाई मानसिक रूपमा सहज हुने बताए। उनका अनुसार नियमित अभ्यास गर्ने कतिपय सहभागीले स्वास्थ्यमा सुधार भएको अनुभव सुनाउने गरेका छन्।
प्रशिक्षक लक्ष्मी पोखरेलले जुम्बा योगमा विभिन्न उमेर समूहका मानिस सहभागी भइरहेकाले यसलाई सबैका लागि उपयोगी सामूहिक अभ्यासका रूपमा विकास गर्न सकिने बताइन्।
प्रशिक्षक लक्ष्मी खड्काले महिलाहरूको ठूलो सहभागिता अभियानको सकारात्मक पक्ष भएको बताउँदै दैनिक जीवनको व्यस्तताबीच स्वास्थ्यका लागि समय छुट्याउने वातावरण बनेको बताइन्।
प्रशिक्षक विष्णु केसीका अनुसार सङ्गीत र शारीरिक अभ्यासको संयोजनले नियमित व्यायाममा मानिसको रुचि बढाएको छ। उनका अनुसार बुटवलका विभिन्न स्थानमा अभियान विस्तार हुँदै गएको छ।
प्रशिक्षक धना रानाले सामूहिक रूपमा गरिने अभ्यासले शारीरिक सक्रियतासँगै मानसिक स्फूर्ति बढाउने बताइन्। उनका अनुसार सहभागीहरू नियमित रूपमा अभ्यासमा फर्किनु अभियानको प्रभावकारिताको संकेत हो।
प्रशिक्षक विनोद आचार्यले निःशुल्क रूपमा सञ्चालन भइरहेको अभियानले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई समेत स्वास्थ्य अभ्यासमा जोडिन अवसर दिएको बताए।
प्रशिक्षक थम्मन रानाले विभिन्न उमेर र पेसाका मानिस एउटै स्थानमा भेला भएर अभ्यास गर्दा स्वास्थ्यसँगै सामाजिक सम्बन्धसमेत बलियो हुने बताए।
जुम्बा योगमा सहभागीहरू सेतो टिसर्टको ड्रेसकोडमा उपस्थित हुने गरेका छन्। सहभागीलाई आपसी सूचना तथा समन्वयका लागि ह्वाट्सएप समूहमा समेत जोडिएको छ।
प्रशिक्षक विष्णु उपााध्यायका अनुसार पानी परेको दिनबाहेक हरेक दिन बिहान ५ देखि ६ बजेसम्म अभ्यास सञ्चालन हुन्छ। बुटवलको हिलपार्कमा समेत बिहानै मर्निङ वाकसँगै योग तथा सङ्गीतमा आधारित व्यायाम गर्नेहरूको संख्या बढ्दै गएको छ।
अर्की प्रशिक्षक शान्ता श्रेष्ठले जुम्बा योगा निशुल्क भएकाले आम सर्वसाधारण जो कोही सहजै सहभागी भएर स्वस्थ बन्न पाउने भएकाले सबै खुशी भएका बताइन् ।
व्यस्त जीवनशैली, मानसिक तनाव र शारीरिक निष्क्रियताका कारण स्वास्थ्यमा देखिने समस्यालाई कम गर्न नियमित व्यायाम र योग आवश्यक रहेको प्रशिक्षक पदम जीसीले बताए ।
‘निःशुल्क रूपमा सञ्चालन भएको जुम्बा योग अभियानले बुटवलमा बिहानको समयमा सामूहिक स्वास्थ्य अभ्यास गर्ने संस्कार विकास गर्न थालेको छ’– पदमले भने ।
– टिआर शर्मा




