बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत सिटी क्याम्पस बुटवल÷स्कुल अफ लमा स्नातक तहको बी.ए.एलएल.बी. दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूबिच ‘अपराधमुक्त समाजका लागि कडा कानुनी प्रावधान कि करुणामूलक रूपान्तरण ?’ विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ४९ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा विष्णु गौतम प्रथम, विशाल पाण्डे द्वितीय तथा ननिता श्रेष्ठ तृतीय भएका छन् ।
बी.ए.एलएल.बी. दोस्रो सेमेस्टरअन्तर्गत रहेको ‘बौद्ध कानुनी दर्शन’ विषयको आन्तरिक मूल्याङ्कन कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगिता सहायक क्याम्पस प्रमुख जे. बी. क्षेत्रीको अध्यक्षता तथा स्कुल अफ लका निर्देशक बद्रीप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतियोगितामा उपप्राध्यापक लालबहादुर बस्नेत र उपप्राध्यापक गोपाल उपाध्यायले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन लिगल एन्ड सिभिक सोसाइटीकी संयोजक प्रेरणा आचार्यले गरेकी थिइन् ।
विषय शिक्षक तथा सहायक क्याम्पस प्रमुख जे. बी. क्षेत्रीले विद्यार्थीहरूमा अनुसन्धानमुखी अध्ययन संस्कृतिको विकास, विषयप्रति गहिरो समझ, तार्किक विश्लेषण क्षमता तथा प्रभावकारी अभिव्यक्ति कलाको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार यस्ता शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा आलोचनात्मक चिन्तन, स्वस्थ बौद्धिक प्रतिस्पर्धा तथा नेतृत्व क्षमताको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्कुल अफ लका निर्देशक बद्रीप्रसाद गौतमले लुम्बिनी बौद्ध विश्वविद्यालयले पूर्वीय दर्शनको नैतिक आधारमा आधुनिक, सक्षम तथा प्रतिस्पर्धी कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षण गतिविधि सञ्चालन गरिरहेको बताए ।
उनले कानुनका विद्यार्थीहरूले बुद्धका शिक्षा, नैतिक आचरण, सदाचार तथा जिम्मेवार व्यावसायिक व्यवहारलाई आत्मसात् गर्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।
उनले करुणा, नैतिकता र कानुनी दक्षताको समन्वयबाट मात्र न्यायपूर्ण, उत्तरदायी र मानवीय समाज निर्माण सम्भव हुने उल्लेख गर्दै भावी कानुन व्यवसायीहरूले सामाजिक रूपान्तरणका संवाहकका रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको स्कुल अफ लले नेपाल बार काउन्सिलद्वारा २०८२ सालमा सञ्चालित अधिवक्ता अनुमतिपत्र परीक्षामा नेपाल प्रथम हुने सफलता हासिल गरेको क्याम्पसले जनाएको छ ।




