पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पाल्पा च्याप्टरले तानसेन–रिडी पदयात्रा गरेको छ । पैदलयात्रा टोली बतासेडाँडा, चण्डीभन्ज्याङ, पुरानो सुरूङ, कुरूङखोला, जोर्ते, राजकुलो हुँदै रूरूक्षेत्र पुगेर सेनकालीन पदमार्गको प्रचार अभियान अघि बढाएको छ । यो पदयात्राले रूरू क्षेत्रको धार्मिक महत्वलाई प्रचार गर्ने मात्र नभई नयाँ पुस्तालाई पुरानो संस्कृति बुझाउने र इतिहासबारे जान्ने एउटा गतिलो माध्यम हो ।
कुनै बेला पाल्पाको सेन राज्य शक्तिशाली राज्य थियो । नेपाल एकीकरण पूर्वको सेन राज्यमा बनेका पुरातात्विक महत्वका संरचना पाल्पा, बुटवल र रिडीमा भेटिन्छन् । रूरू क्षेत्रको ऋषिकेशव मन्दिर सेनकालमै निर्माण भएको हो । तानसेन शहर सेनकालकै प्रसिद्धी कमाएको शहर हो । भैरवस्थानको भैरव मन्दिर र बुटवल फूलबारीमा सेनकालीन शीतकालीन दरबार सेनकालका प्रमाण हुन् । संस्कृति र सभ्यतामा सेनकाल स्वर्णकाल मानिन्छ । कला र वास्तुकलामा सेनहरु अगाडि थिए ।
त्यसबेलाका दरबार, त्यहाँका कलात्मक वस्तु तत्कालीन संस्कृति र समाज बुझ्ने औजार हुन् । तानसेन–रिडी पदयात्रा सेनकालीन संस्कृति बुझ्ने मार्ग हो । राणाकालमा पनि रिडीको महिमा उच्च थियो । कालान्तरमा ओझेलमा परेको रिडीको प्रचार गरी पर्यटक आगमन बढाउन सके यहाँको पर्यटन फस्टाउन सक्छ । नेपालका चार धाम मुक्तिक्षेत्र, पशुपति क्षेत्र, रूरू क्षेत्र, बराह क्षेत्र हिन्दु संस्कृतिमा महत्वपूर्ण मानिन्छन् । रूरूक्षेत्रमा शालीग्राम, ऋषिकेश मन्दिर, शिवालय मन्दिर, रूरूकन्या मन्दिर, भृगुतेश्वर मन्दिरलगायतका प्रसिद्ध रहेकाले संस्कृति बुझ्न र बुझाउनका लागि राम्रो अवसर हो । रिडीको पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकासमा ढिलाइ गर्न हुन्न् । गुरुयोजना बन्यो, तर त्यसअनुसारको काम अघि बढेको छैन । प्रतिफलमुखी आयोजनामा बजेट खर्च नगरी अन्यत्र गर्ने प्रवृत्तिले रिडीको विकासमा अवरोध भएको छ ।
नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी अभियानअन्तर्गत यसअघि तानसेनदेखि सेनकालीन पाल्पा राज्यको राजधानी पूर्णाकोटका साथै रामनदी धाम अर्थात् राम्दीसम्मको पदयात्रा नाट्टाले सम्पन्न गरिसकेको छ । अब नुन मार्ग अर्थात् तानसेनदेखि मस्याम हुँदै नुवाकोटगढीसम्म पदयात्रा गर्ने तयारी छ । यस्तो पदयात्रा गर्दा सांस्कृतिक कार्यक्रम र साहित्यिक कार्यक्रमसहित गर्दा सुनमा सुगन्ध थपिन सक्छ । नाट्टा पाल्पाको यो अभियान निरन्तर हुनुपर्छ, आगामी दिनका कार्यक्रममा नयाँपन ल्याउँदै नयाँ पुस्तालाई जोड्न सक्नुपर्छ ।




