बुटवल । नेपाल मानव धर्म सेवा समिति बुटवल युवा संगठनले १६८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
प्रेम, करुणा र मातृत्वकी प्रतिमूर्ति पूज्य माता श्री अमृता जीको पावन जन्मदिवसको अवसरमा समितिले बुटवल उपमहानगरपालिका–८ स्थित श्री जनता माध्यमिक विद्यालयमा शिक्षा अभियानअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको हो।
कार्यक्रममा लुम्बिनी आश्रम युवा संगठनका संयोजक शेखर थापाले शिक्षा अभियानको उद्देश्यबारे मन्तव्य राख्दै कार्यक्रमको सुरुवात गरेका थिए। समितिका अध्यक्ष चोपनारायण बन्जाडेका अनुसार विद्यालयका १६८ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो।
नेपाल मानव धर्म सेवा समिति बुटवलकी प्रभारी महात्मा अम्बिका वाईले संस्थाले आत्मज्ञानको प्रचार–प्रसारसँगै सामाजिक सेवा र मानवीय कार्यलाई पनि निरन्तरता दिँदै आएको बताइन्। उनका अनुसार बुटवलसहित केन्द्रीय आश्रम तथा विभिन्न शाखा र आश्रमहरूमा पनि शिक्षा अभियानअन्तर्गत यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
विद्यालयकी प्रधानाध्यापक आशा बस्नेत थापाले मानवले गर्नुपर्ने सामाजिक सेवा मानव धर्म सेवा समितिले गर्दै आएको भन्दै आगामी दिनमा पनि विद्यालयलाई संस्थाको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्। उनले शैक्षिक सामग्री सहयोगका लागि संस्थालाई धन्यवाद दिइन्।
कार्यक्रमको सञ्चालन युवा सदस्य दीपक पंगेनीले गरेका थिए।




