२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अब तराईमै सम्भव छ व्यवसायिक स्याउ खेती

अब तराईमै सम्भव छ व्यवसायिक स्याउ खेती

दाङ घोराही–११ पलासपुरका मनु बुढामगरले हरिमन ९९, अन्ना र डोरसेट गोल्डेन गरी तीन प्रजातिका स्याउ खेतीको परीक्षण सफल भएपछि तीन बिघामा व्यवसायिक खेती र नर्सरीमा ७० हजार बिरुवा उत्पादन गरेका छन् ।

अब तराईमै सम्भव छ व्यवसायिक स्याउ खेती

अब तराईमै सम्भव छ व्यवसायिक स्याउ खेती

दाङ घोराही–११ पलासपुरका मनु बुढामगरले हरिमन ९९, अन्ना र डोरसेट गोल्डेन गरी तीन प्रजातिका स्याउ खेतीको परीक्षण सफल भएपछि तीन बिघामा व्यवसायिक खेती र नर्सरीमा ७० हजार बिरुवा उत्पादन गरेका छन् ।

अब तराईमै सम्भव छ व्यवसायिक स्याउ खेती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • बुटवल
    स्याउ फलाउन हिमाल र चिसो पहाड नै चाहिन्छ भन्ने परम्परागत मान्यता अब बदलिएको छ ।  दाङको घोराही–११ पलासपुरका मनु बुढामगरले तराईको हावापानीमा स्याउ फलाएर देखाएपछि नेपालमा स्याउ खेतीको सम्भावनाबारे नयां बहस सुरु भएको छ ।
    दाङमा परीक्षणका रूपमा रोपिएका हरिमन–९९, अन्ना र डोरसेट गोल्डेन जातका स्याउको सफल उत्पादनपछि बुढामगरले अहिले विभिन्न जातका करिब ७० हजार स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । उनले तीन बिघा क्षेत्रफलमा व्यावसायिक स्याउ खेतीसमेत सुरु गरेका छन् । थप चार बिघा जग्गामा पनि सयाउ खेती विस्तार गर्ने तयारीमा छन् ।

     
    मनुका अनुसार करिब ४८ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम सहन सक्ने जात छनोट गर्न सकिए तराईमा समेत व्यवसायिकरुपमा स्याउ खेती गर्न सम्भव छ । तराईमा स्याउ फलाउन सफल भएको उनको प्रयोगले उच्च पहाड र हिमाली क्षेत्रमा मात्र स्याउ उत्पादन हुन्छ भन्ने धारणालाई चुनौती दिएको छ ।


    भारतको हिमाचल प्रदेशको सिम्लामा करिब २२ वर्ष स्याउ खेतीमै काम गरेर फर्किएका ४२ वर्षीय मनु अहिले आफ्नै जिल्लामा स्याउ खेतीको व्यावसायिक सम्भावना खोजिरहेका छन् ।


    सिम्लामा जन्मे-हुर्केका मनुले ५ वर्ष सिम्लामै अरुको स्याउ फर्ममा बेना उमार्नेदेखी फल टिप्ने काममा मजदुरी गरेको र पछि आफैले करिब ९ बिघा जग्ग्गा लिजमा लिएर डेढ बिघामा नर्सरी र साढे ७ बिघामा स्याउ खेती गर्दै आएको बताए । 
    सिम्लामा अहिले पनि स्याउ खेती गरिरहेका मनु ८ वर्षअघि दाङ आएका थिए । उनको पुख्र्यौली घर भने रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ हो ।


    ‘सिम्लामा २२ वर्ष स्याउ खेतीमै काम गरेपछि धेरै ज्ञान र अनुभव भयो अनि नेपाल फर्केर आफ्नै ठाउँमा व्यवसायिक स्याउ खेती नै गर्छु भन्ने अठोट लिएर दाङ फर्किएं,’ मनुले भने–‘दाङमा आएर तीन वर्षअघि सगरमाथा नर्सरी प्रालिको प्रशिक्षणमार्फत हरिमन–९९, अन्ना र डोरसेट गोल्डेन जातका १०–१० बिरुवा रोपेर सफल परीक्षण भएपछि विद्यालयको जग्गा भाडामा लिएर तीन बिघामा व्यावसायिक खेती सुरु गरेको हुँ ।’ 


     अहिले त्यहाँ करिब ३०० स्याउका बिरुवा हुर्किरहेका छन् । थप चार बिघा जग्गा लिजमा लिएर करिब ५०० बिरुवा थप रोप्ने तयारी पनि उनले गरेका छन् । मनुले म्याग्दीका प्रविन पौडेलसँग सहकार्य गरेर म्याग्दीमा समेत पाँच बिघा क्षेत्रफलमा तीन हजार बिरुवा रोपिसकेका छन् ।


    दाङमा ७० हजार बिरुवा उत्पादन
    मनुको काम खेतीमा मात्र सीमित छैन । उनले दाङमा सञ्चालन गरेको नर्सरीबाट तराईमा फल्न सक्ने तीन जातसहित मध्यपहाड र हिमाली जिल्लामा उत्पादन गर्न सकिने विभिन्न ४५ जातका करिब ७० हजार स्याउका बिरुवा उत्पादन गरेका छन् ।
    नर्सरीमा स्याउसँगै ओखर र काजुसम्मका बिरुवा उत्पादन हुँदै आएका छन् । नर्सरी र स्याउ खेतीमा अहिलेसम्म करिब एक करोड रुपैयाँ लगानी भइसकेको मनुले बताएका छन् । स्याउका बिरुवाको माग बढ्दै गएपछि गत वर्ष मात्रै दाङ र सुर्खेतमा करिब १५ हजार बिरुवा बिक्री गरेको उनले बताए । मागअनुसार बिरुवा उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।


    सिम्लामा मजदुरदेखि आफ्नै बगैँचासम्म
    स्याउ खेतीको प्राविधिक ज्ञान र अनुभव हासिल गर्न मनुले भारतको हिमाचल प्रदेशको सिम्लामा पाँच वर्षसम्म स्याउ फार्ममा मजदुरी गरेका थिए । त्यसपछि करिब नौ बिघा जग्गा लिजमा लिएर डेढ बिघामा नर्सरी र साढे सात बिघामा स्याउ खेती गर्दै आएका थिए ।


    उनको पुख्र्यौली घर भने रोल्पाको त्रिवेणी गाउँपालिका–७ हो । करिब आठ वर्षअघि उनी दाङ आएका हुन् ।
    सिम्लामा २२ वर्ष स्याउ खेतीमा काम गरेपछि नेपाल फर्किएका मनुले आफ्नै ठाउँमा व्यावसायिक स्याउ खेती गर्ने अठोट लिए । उनको अनुभवमा मध्यपहाड र हिमाली जिल्लामा स्याउ खेती नौलो होइन, तर तराई र भित्री मधेसमा समेत यसको सम्भावना रहेको प्रमाणित गर्नु मुख्य उद्देश्य हो । ‘मध्यपहाड र हिमाली जिल्लामा त स्याउ खेती नौलो होइन । तराई र भित्री मधेसमा पनि स्याउ फल्छ भन्ने जानकारी थियो । त्यसलाई आफैं खेती गरेर प्रमाणित गर्न दाङ आएको हुँ ।’–मनुले भने ।
    दाङमा तीन जातका स्याउको उत्पादन सफल भएपछि अब सिम्लामा गर्दै आएको खेती र नर्सरीको कामलाई बिट मारेर दाङमै केन्द्रित गर्ने उनको योजना छ ।


    दुई वर्षमै फल, एक बोटबाट एक क्विन्टलसम्म
    मनुको दाबीअनुसार तराईमा रोपिएका उपयुक्त जातका स्याउका बिरुवाले दुई वर्षमै फल दिन सुरु गर्न सक्छन् । राम्रो व्यवस्थापन भए एउटा बोटबाट एक क्विन्टलसम्म उत्पादन लिन सकिने सम्भावना रहेको उनी बताउँछन् ।
    उनका अनुसार विगतमा नेपालका केही तराईका जिल्लामा स्याउ खेतीको प्रयास भए पनि अपेक्षित सफलता प्राप्त हुन सकेन । त्यसको मुख्य कारण तराईको हावापानीमा अनुकूल हुने जात छनोट नगरिनु हो ।


    हरिमन–९९, अन्ना र डोरसेट गोल्डेनजस्ता जातका स्याउ करिब ४८ डिग्रीसम्मको तापक्रम हुने क्षेत्रमै उत्पादन गर्न सकिने भएकाले तराईका जुनसुकै जिल्लामा पनि व्यावसायिक खेतीको सम्भावना रहेको मनुको दाबी छ । ‘विगतमा पनि नेपालका केही तराईका जिल्लामा स्याउ खेती गरिएको थियो । तर सफल हुन सकेन । यसको कारण तराईको हावापानीमा एडजस्ट हुने जात नरोप्नु हो,’ उनले भने–‘हरिमन–९९, अन्ना र डोरसेट गोल्डेनजस्ता जात ४८ डिग्री सेल्सियससम्म तापक्रम हुने तराईका जिल्लामा पनि उत्पादन गर्न सकिन्छ ।’


    एउटा किसानको बगैँचाले सयौँलाई आशा
    घोराही–११ रतनपुरका अनुराम बुढाले मनुको बगैँचामा स्याउ फलेको आफ्नै आँखाले देखेपछि आफू पनि स्याउ खेतीतर्फ आकर्षित भएको बताए । उनले मनुको नर्सरीबाट सय वटा बिरुवा किनेर आफ्नै खेतमा रोपेका छन् ।


    ‘तराईमा पनि स्याउ फल्छ भन्ने कल्पना गरेका थिएनौँ । मनुले फलाएको आफ्नै आँखाले देखेपछि सय वटा बिरुवा किनेर लगाएको छु । अहिले राम्रैसँग फल लाग्न थालेको छ ।’–अनुरामले भने । यसअघि खेती नगरी बाँझो रहेको जमिनमा मनुले स्याउको नर्सरी र खेती सुरु गरेपछि स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसमेत आकर्षित भएका छन् ।


    घोराही–११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले तराईमा स्याउ फलाउन सकिने प्रमाणित भएपछि यसबारे सोधखोज गर्ने किसानको संख्या बढेको बताए । ‘तराईमा स्याउ खेतीको सफल परीक्षण भएपछि धेरै मानिसले फोन गरेर यसबारे सोध्न थालेका छन्,’ लामिछानेले भने–‘तराईका जिल्लामा व्यावसायिक स्याउ खेती सफल हुन्छ भने यो देशकै लागि निकै ठूलो उपलब्धि हुन सक्छ ।’ उनले स्थानीय, प्रदेश र संघीय सरकारले यस्ता नयाँ कृषि उद्यमलाई प्रोत्साहन, संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताए ।


    वार्षिक १० अर्बको स्याउ आयात 
    नेपालमा स्याउको बजार ठूलो भए पनि ठूलो हिस्सा आयातमै निर्भर छ । सरकारी तथ्यांकअनुसार नेपालमा वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको स्याउ आयात हुने गरेको छ । स्वदेशी स्याउको हिस्सा भने करिब ४० प्रतिशत मात्रै रहेको बताइएको छ ।
    आर्थिक वर्ष २०८१-८२ मा नेपालले विदेशबाट ९० हजार २५३ मेट्रिक टन स्याउ आयात गरेको थियो । उक्त परिमाणको स्याउ आयात गर्दा नेपालबाट १० अर्ब ५५ करोड ७५ लाख ६९ हजार रुपैयाँभन्दा बढी रकम विदेशिएको तथ्यांक छ । स्वदेशी उत्पादन र आयातित स्याउलाई जोड्दा नेपालको वार्षिक स्याउ बजार करिब एक लाख ५० हजार २०२ मेट्रिक टनको हाराहारीमा पुग्ने देखिन्छ । नेपालमा आयात हुने स्याउको ठूलो हिस्सा चीन र भारतबाट आउने गरेको छ ।


    हिमाली तथा उच्च पहाडी जिल्लामा स्याउ उत्पादनको ठूलो सम्भावना हुँदाहुँदै पनि उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनका समस्याका कारण नेपाल अझै ठूलो परिमाणमा विदेशी स्याउमा निर्भर रहनुपरेको छ । यही अवस्थामा तराईमा समेत उत्पादन सम्भव हुने जातको स्याउ खेती सफल हुनु कृषि क्षेत्रमा नयाँ सम्भावनाका रूपमा हेरिएको छ ।
    आयात घटाउन तराईमा स्याउ खेती कोशेढुंगा हुन सक्छ : श्रेष्ठ
    नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले तराईमा फल्ने स्याउलाई सरकारले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्ने बताए ।


    उनका अनुसार तराईमा सफल हुने जातका स्याउको व्यावसायिक खेती विस्तार गर्न सके आयात घटाउँदै स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्ने सम्भावना छ । ‘तराईमा फल्ने स्याउलाई तहगत सरकारले चासो दिएर प्रवद्र्धन गर्ने हो भने स्याउको आयात घटाउँदै स्वदेशी उत्पादनमै आत्मनिर्भर बन्न सक्ने सम्भावना देखिन्छ,’ पोखरेलले भने–‘नेपालले वर्षेनि अर्बौँ रुपैयाँको स्याउ विदेशबाट आयात गरिरहेको अवस्थामा तराईको हावापानी अनुकूल जातको पहिचान, प्रविधिको प्रयोग र व्यावसायिक उत्पादन विस्तार गर्न सके आयात प्रतिस्थापनको सम्भावना बलियो बन्न सक्छ ।’


    दाङको पलासपुरमा मनु बुढामगरले सुरु गरेको प्रयोगलाई कसरी तराईका हजारौँ किसानमाझ व्यावसायिक खेतीमा विस्तार गर्ने भन्नेमा राज्यको ध्यान जान जरुरी भएको पोखरेलले औंल्याए । 


    स्याउ खेतीको ज्ञान बाँड्दै मनु
    आफूले सिकेको प्राविधिक ज्ञान मनुले आफ्नै खेतमा मात्र प्रयोग गरेका छैनन् । उनले स्याउ खेती गर्न इच्छुक किसानलाई प्राविधिक ज्ञान र प्रशिक्षणसमेत दिँदै आएका छन् । तराईका विभिन्न जिल्लादेखि जुम्ला, रोल्पा, रुकुम, बागलुङ, मुस्ताङ र म्याग्दीसम्म पुगेर किसानलाई स्याउ खेतीसम्बन्धी तालिम दिएको उनले बताए ।


    मनुको लक्ष्य दाङमा नर्सरी र तराईमा सफल हुने स्याउ खेतीलाई विस्तार गर्दै देशका विभिन्न भागमा गुणस्तरीय बिरुवा र प्रविधि पु¥याउनु हो । तराईमा स्याउ खेती विस्तारका लागि बिरुवा उत्पादनदेखि प्राविधिक सेवा, किसानलाई तालिम, अनुदान, सिँचाइ, भण्डारण, ढुवानी र बजार व्यवस्थापनसम्म राज्यले एकीकृत नीति बनाउनुपर्ने उनको भनाइ छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij