भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलाबखत दिने दुःखले सुस्तावासी हैरान छन् । नेपाली भूमिमा बनेको सिँचाइ कुलो भत्काउने र नारायणी नदीको कटानबाट बच्नका लागि तटबन्ध निर्माण गर्न अवरोध गर्ने जस्ता ज्यादतीपूर्ण घटना भारतीय सुरक्षाबलबाट भएका छन् । नेपाली भूमिमा आएर भारतीय पक्षबाट भएको दुव्र्यवहार रोक्न नेपालको कुटनीतिक पहल फितलो छ ।
नारायणीको बाढीबाट नागरिकलाई बचाउन सरकारले गत आर्थिक वर्ष बजेट विनियोजन गरेको थियो । भारतीय पक्षले तटबन्ध निर्माण गर्न नदिएपछि सुस्तावासीलाई अहिले समस्या भएको हो । सुस्तामा करिब १५ करोड रुपैयाँको लागतमा एक किलोमिटर क्षेत्रमा तटबन्धको काम असारअघि नै सम्पन्न भएको थियो । थप १ सय ३२ मिटर क्षेत्रमा गर्नुपर्ने तटबन्ध भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि काम हुन पाएन् । बस्ती डुबानमा पर्ने भएपछि स्थानीय बासिन्दाले बोरामा माटो राखेर अस्थायी बाँध बाँध्ने काम गरिरहेका छन् ।
स्थानीयले जनश्रमदान गर्दै बस्ती जोगाउन माटो, ढुंगा, ढलेका रूख र स्थानीय रूपमा उपलब्ध सामग्री प्रयोग गरेर काम गरिरहेका छन् । साउन १७ गते आइतबार सुस्ता गाउँपालिका–५, सुस्ता गाउँमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेर अस्थायी बाँध खन्न लागेपछि स्थानीयले प्रतिकार गरे । दिउँसो ३ बजे सादा पोसाकमा कोदालो लिएर आएका भारतीय सुरक्षाकर्मीले नारायणी नदीको बाढी बस्तीमा पस्ने जोखिम रहेको क्षेत्रमा स्थानीयले बनाएको अस्थायी बाँध खन्न थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले लठ्ठी लिएर भारतीय सुरक्षाकर्मीको प्रतिकार गरेका थिए । केही समय विवाद भएपछि नेपाली सुरक्षाकर्मीले दुवै पक्षलाई सम्झाइबुझाई गरेर विवाद मिलाए । जेठ २९ गते नारायणी नदीमा १ सय ३२ मिटर तटबन्ध निर्माणमा भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि स्थानीयले भारतीय सुरक्षाकर्मीलाई लखेटेका थिए । अहिले भारतीय पक्षले तटबन्ध गर्न अवरोध गरेको सुस्ता थारू टोलबाट बाढी बस्तीमा पस्दै आएको छ । स्थानीयले भने सोही स्थान वरपर अहिले माटो राखिरहेका छन् ।
नेपाली भूमि र नागरिकप्रति भएको दुव्र्यवहार रोक्न सरकारले कुटनीतिक पहलकदमी नबढाउने हो भने अझै दुव्र्यवहार बढ्न सक्छ । सुस्तावासीले विगतदेखि नै भारतीय पक्षबाट सास्ती व्यहोर्दै आएका छन् । नेपालको कुटनीतिक पहलकदमी कमजोर हुँदा नागरिकले सास्ती व्यहोर्न बाध्य भएका हुन् । अहिले नागरिकले नारायणी नदीमा दिन रात गरेरेर तटबन्ध गरिरहेका छन्, तर उनीहरुलाई एउटा त्रास छ,-भारतीय सुरक्षाबलले तटबन्ध भत्काएर दुःख दिने हो कि । बर्खायाममा नारायणीले कटान गरिरहेको छ । यो कटान बढ्दै गए बस्तीमा बाढी पस्ने जोखिम छ । भारतीय पक्षले नेपाली नागरिकले निर्माण गरिरहेको तटबन्ध सहमति नभई गरेको र भारतलाई असर गर्ने भनाई राख्दै आएको छ । नदीले गरिरहेको कटान रोक्न र बस्ती जोगाउन समुदायले गरिरहेको पहलकदमीप्रति भारतीय पक्ष संवेदनहिन बन्नु निन्दनीय छ ।




