२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मान्छेमाथि वन्यजन्तुको आक्रमण : न उपचार न राहत !

मान्छेमाथि वन्यजन्तुको आक्रमण : न उपचार न राहत !

मान्छेमाथि वन्यजन्तुको आक्रमण : न उपचार न राहत !

मान्छेमाथि वन्यजन्तुको आक्रमण : न उपचार न राहत !

मान्छेमाथि वन्यजन्तुको आक्रमण : न उपचार न राहत !
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
आइतवार, श्रावण १३ २०८१
आइतवार, श्रावण १३ २०८१
  • देउखुरी । च्याउ टिप्न गएकी लमही नगरपालिका-६ देउपुर निवासी ४६ वर्षीया शहरी घर्तीको अनुहारमा भालुले हिर्कायो । उनी २०८१ असार २७ गते बिहानै घरबाट निस्किएकी थिइन । साथीहरुले बनाएको योजना पछ्याउँदै उनी जंगल छिरेकी थिइन । भालुको पञ्जाले उनको अनुहारमा गहिरो चोट लाग्यो । आक्रोशित मुद्रामा आएको उक्त वन्यजन्तुसँग बच्न घर्तीले थप प्रयास नगरेको पनि होइन, तर त्यसले उनलाई थप पीडा दियो । भागदौड गर्ने क्रममा उनको दाहिने हात पनि भाँचियो । अनुहारको घाउ त जसोतसो निको होला । हात पनि जसो तसो जोडियला । तर मनमा लागेको घाउ कसरी निको होला । डर र त्रासले गर्दा उनी यो घटना सम्झिन पनि चाहँन्निन् ।

    च्याउ टिप्न नपाउँदै भालुसँग उनको जम्काभेट भएको थियो । त्यति नै बेला घर्ती त्यसको आक्रमणमा परिन । घाइते उनलाई सशस्त्र प्रहरी बल ४१ नम्बर गण अर्जुनखोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकाल नेतृत्वको टोलीले उद्धार गरेर सबैभन्दा नजिकको लमही अस्पताल लग्यो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई बुटवल लगियो । भालुको आक्रमणबाट घाइते भएकी घर्ती उपचारमा अहिलेसम्म झण्डै सात लाख रुपैयाँ खर्च भइसकेको छ । अचल सम्पत्ति बेच्दा पनि उपचार गर्न पैसा नपुगेर ऋण लिनु परेको दूखेसो उनका श्रीमान नेत्रहादुर घर्तीको छ । उपचार गर्दा गर्दै बेखर्ची भएका घर्तीका श्रीमान मागेर उपचार खर्च जुटाउने अवस्थामा पुगेका छन् ।

    श्रीमती अस्पतालको बेडमा छटपटाइरहेको देख्न सक्दिन । उपचार गर्ने पैसा नभएपछि माग्न थालेको छु’, शहरीका श्रीमान नेत्रहादुरले भने- श्रीमती घाइते भएपछि म काममा पनि जान सकिनँ । ज्याला मजदुरीले घर खर्च चल्थ्यो । त्यो पनि ठप्प हुने अवस्था आयो ।’ उपचार गर्न निकै कठिन भएकाले माग्नु पर्ने अवस्था आएको दूखेसो नेत्रहादुरको छ ।

    धन सम्पत्ति हुन्थ्यो भने किन हात फैलाउनुपथ्र्यो र ? साँझ बिहान कसरी छाक जुटाउने भन्ने बेलामा अहिले उपचार खर्च जोहो गर्नुपरेको छ,’ उनले भने-॥।नहुनु थियो, घटना भइहाल्यो । सिकिस्त श्रीमतीलाई छाडेर काममा पनि जान सक्दैन ।’शहरी घर्तीका श्रीमान गाउँमै काठको फर्निचर उद्योगमा काम गर्दछन् । दैनिक ५/६ सय आम्दानी हुने गरेको थियो । अहिले त्यो पनि ठप्प भएपछि परिवारका सदस्यको बिचल्ली हुन थालेको छ । शहरीका चार छोरी छन् । जसमध्ये तीन छोरीको विवाह भइसकेको छ । एकजना छोरी पढ्दैछिन् । आमाको उपचार खर्च जुटाउन विद्यालयका शिक्षक र विद्यार्थीहरुसँग समेत रकम संकलन गरिएको छ । जंगली जनावरको आक्रमणमा परेर घाइते भएकाहरुको उपचारमा समस्या देखिएको छ ।

    मानव बन्यजन्तुका घटना बढ्दै गए पनि यससँग जोडिएका विषयमा उपचार गर्ने प्रबन्ध सजिलो छैन । शहरीको टाउको, अनुहार र हातको सल्यक्रिया गरिएको छ । अनुहारको दाहिने भागमा टाँका लगाइएको छ । टाउकोमा छाला थिएन ।

    साप्राको छाला काटेर टाउकोमा हालिएको छ । दाहिने हाँत भाँचिएकाले सल्यक्रिया गरेर पलास्टर गरिएको छ । २०८१ असार २४ गते यस्तै अर्को घटना भयो । स्थानीय तीन जना महिला तुलसीपुर उप-महानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । तीनै जना महिलालाई बाघले आक्रमण गर्‍यो । तुलसीपुर-९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी बाघको आक्रमणमा परेर घाइते भए । तीनैजनाको उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरियो ।

    यसैगरी लमही नगरपालिका-८ खोलिगाउँ निवासी बेलमती चौधरी र चितुवाबीचको भिडन्त कम डरलाग्दो थिएन् । २०७८ माघ १० गते उनी बाख्रा चराउन जंगलमा गएकी थिइन । बेलमतीको जम्काभेट चितुवासँग भयो । आक्रोशित चितुवा कराएको आवाज बेलाबेलामा अहिले पनि कानमा गुञ्जिरहने बताउँछिन्, बेलमती । त्यो चितुवाले उनलाई अनुहार, टाउको र पिठ्युमा आक्रमण गरेको थियो । तीन ठाउँमै गहिरो घाउ लागेको थियो । चितुवाले पनि पञ्जाले नै बेलमतीको अनुहार र टाउकोमा आक्रमण गरेको थियो ।

    त्यसले तीन ठाउँमा हानेपछि मेरो त आँखा बन्द भयो ।’ उनले भनिन् । उपचार गर्न अस्पताल पुर्‍याएपछि मात्रै उनको होस आयो । घर परिवारका सदस्य र गाउँलेले अस्पतालसम्म उपचार गर्न पुर्‍याए । एम्बलुलेन्समार्फत् अस्पतालसम्म लगियो ।

    बेलमतीको टाउको, अनुहार र पिठ्यूमा दाग छ । एक पटक चितुवाको आक्रमणमा परिसकेकी बेलमतीलाई फेरि पनि आक्रमणमा परिने हो की भन्ने डर त्यत्तिकै छ । उनी भन्छिन्-॥।अनुहारमा, टाउँकोमा लागेको घाउ त निको भयो । मनमा लागेको घाउ आलै छ । अब त एक्लै जंगल जाने आटै आउँदैन् । साथीभाइसँग जाँदा पनि मुटुले ठाँउ छोड्छ ।’

    माथि उल्लेखित प्रतिनिधि घटना मात्र हुन् । दाङ जिल्लाका विभिन्न क्षेत्रमा वनजंगल बाक्लिदै गएको छ । योसँगै वन्यजन्तुहरुको संख्या पनि बढ्दो छ । कुनै समय यहाँबाट हराइसकेका वन्यजन्तुहरु समेत बासस्थान सुरक्षित हुँदै गएपछि फेरि देखिन थालेका छन् । यसले गर्दा पछिल्ला वर्षहरुमा सर्वसाधारण वन्यजन्तुको आक्रमणमा पर्ने क्रम पनि बढ्दै गएको छ ।

    आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा एक/एक वटा घटना भएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ मा मात्रै चारवटा घटना भएका छन् । विशेषगरी विपन्न र निम्न वर्गका समुदायका मानिस नै सबैभन्दा बढी आक्रमणमा पर्ने गरेका छन् । आक्रमण बढेसँगै उद्दार र उपचारमा पीडित परिवारले कठिनाइ व्यहोर्नु परेको छ । आर्थिक अभावले गर्दा  ऋण लिएर समेत उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।

    दाबको जैविक मार्ग भएर वन्यजन्तुको ओहोरदोहोर बढेसँगै वन्यजन्तुको आक्रमणका घटना बढ्न थालेका छन् । वन क्षेत्रमा प्रवेश गर्दा होसियारी अपनाउन जरुरी हुँदाहुँदै पनि वन प्रवेश खुला हुँदा सर्वसाधारणहरु वन्यजन्तुको क्रमणमा परेर घाइते हुने अवस्था छ ।

    विगतको तुलनामा वन क्षेत्रको हैसियत बढेसँगै जंगली जनावरको उपस्थिति पनि वन क्षेत्रमा बढ्दै गएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व कम वातावरणमैत्री व्यवहार अपनाउन जोड दिइएको छ । पश्चिममा बाँके राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सोहिलुवा वन्यजन्तु आरक्षणसँग जोडिएको छ, दाबको जैविक मार्ग । वन क्षेत्रमा भएको सुधारले वन्यजन्तु ओहोरदोहोर गर्न सजिलो मात्रै भएको छैन, संरक्षणबाट वनको हैसियत समेत बढेको छ । जैविक मार्ग भएर नेपालका संरक्षित वन्यजन्तुहरु पाटे बाघ, हुँडार, चौका, हात्तीलगायतका जनावर आवतजावत गरिरहेको पाइएको छ ।

    बाघलगायतका वन्यजन्तुको संरक्षणको लागि चोरी सिकारी कार्यलाई निरुत्साहित गर्नुपर्ने चुनौती छ । वन्यजन्तुको ओहोरदोहोर बढ्दै गर्दा चोरी सिकारीको डर समेत बढेको छ । जिल्लाभित्र वन्यजुन्त हिंड्ने जैविक मार्ग भए पनि मानवीय गतिविधि र उपस्थितिका कारण वन्यजन्तु असुरक्षित रहेको संरक्षणकर्मी तथा वरिष्ठ फरेस्टर चिरञ्जिवी खनाल बताउँछन् ।

    वन्यजन्तु र मानव हिंड्ने बाटो फरक-फरक बनाउन सकियो भने मानव र वन्यजन्तुको द्वन्द्व समेत घटाउन सकिने उनको भनाइ छ । ॥।वन वन्यजन्तुको बासस्थान हो । अनि वन्यजन्तु हिंड्डुल गर्ने पनि जैविक मार्ग छ । त्यो मार्गमा मानिस पनि हिंड्न थालेपछि आक्रमणको घटना हुने गरेको देखिन्छ’, उनले भने-। मान्छे र वन्यजतु हिंड्ने अलक अलग बाटो चाहिन्छ ।’

    डिभिजन वन कार्यालय देउखुरीअन्तर्गत १४८ सामुदायिक वन समूह छन् । यी वन समूहले ५४ हजार चार सय ६० हेक्टर वन क्षेत्र ओगटेका छन् । राष्ट्रिय र सामुदायिक गरी एक लाख नौ हजार ६ सय ७२ हेक्टर वन क्षेत्र छ । यी वन क्षेत्रलाई वन्यजन्तुको बासस्थान र आवतजावत गर्ने जैविक मार्गको रुपमा विकास गर्दै लग्न ध्यान दिनुपर्ने भनाइ उनको छ ।

    वन क्षेत्रमा चितुवा, भालु, हुँडार, वन कुकुर(ढाले), जयारो, चित्तल, राते(रतुवा), चौका, निलगाई, रटेल, दुम्सिलगायतका वन्यजन्तु देखिने गरेका छन् । पूर्वमा बागमती नदीदेखि पश्चिममा महाकाली नदीसम्मको नेपालको तराई भू-परिधि क्षेत्रभित्र छ वटा संरक्षित क्षेत्र र अन्य प्रमुख जैविक मार्गहरु छन् । तराईका पहिचान भएका जैविक मार्गभित्र दाबको लमही, बाँकेको महादेवपुरी, बर्दियाको खाता, कञ्चनपुरको मोहना-लालझाडी पर्दछन् । दाबको राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्र जैविकमार्ग र बोटल नेक (साँघुरो घाँटी) क्षेत्रभित्र पर्दछ ।

    यी जैविक मार्ग हुँदै वन्यजन्तु आवत जावत गर्ने क्रममा सवारी दुर्घटनामा परेर मृत्यु हुने, घाइते हुने अवस्था  देखिएको छ भने वन प्रवेश गर्ने उपभोक्ताहरु पनि वन्यजन्तुको आक्रमणमा पर्न थालेका छन् ।जंगली जनावरहरु आहाराको खोजीमा र विचरण गर्ने क्रममा वनमा ओहोरदोहोर गर्ने समयमा मानिसको उपस्थिति हुँदा जंगली जनावरको आक्रमण हुने गरेको छ ।

    त्यसैले जंगलभित्र जथाभावी प्रवेश नगर्न संरक्षणकर्मी तथा वरिष्ठ फरेस्टर खनाल बताउँछन् । यो समय भनेको भालु आफ्ना बच्चासँग हुने बेला हो । आफ्ना सन्तानको सुरक्षामा चुनौती थपिएको ठानेर आक्रमण गरेको हुन सक्छ,’- खनालले भने-। सकभर जंगलभित्र प्रवेश नगरौं । अत्यावश्यक काम भएको खण्डमा सावधानी र चनाखो बनौं ।’

    देउखुरीको वन क्षेत्रमा अहिलेको समयमा भालु आफ्ना बच्चाहरुसँग विचरण गरिरहेको खनालको भनाइ छ । एक्लै वन प्रवेश नगरौं, वन प्रवेश गर्दा सतर्क हुन सबैमा अनुरोध छ,’ उनले भने।देउखुरीको वन क्षेत्र भालु, चितुवा, पाटे बाघ, हुँडारलगायतका वन्यजन्तुको बासस्थान भएकाले सावधानी अपनाउँदा सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ ।’

     

    दर्ता हुँदैनन् स-साना घटना

     डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएको विवरणअनुसार देउखुरी क्षेत्रमा चितुवाको आक्रमण धेरै देखिएको छ । सानातिना घटना वन कार्यालयसम्म आइपुग्दैनन् । अर्को कुरा उद्दार गरिएका वन्यजन्तुलाई राख्ने ठाउँ पनि छैन । अनि प्रभावकारी उपचार नहँुदा उद्दार गरिएको अवस्थामा वन्यजन्तुको मृत्यु समेत हुने गरेको छ । चितुवाको आक्रमणले गर्दा घरपालुवा जनावरको क्षति भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा लमही नगरपालिका-९ निवासी इन्द्रबहादुर चौधरीको बाख्रा र पाठा मरेका थिए ।

    राहत समितिले दश हजार राहत उपलब्ध गराउने निणर्य गरेको थियो । आर्थिक वर्ष २०७९/०८० मा राप्ती गाउँपालिका-४ निवासी कमल गिरीले पालेका चारवटा खसी/बाख्रा मरेका थिए । राहत समितिले नियमअनुसार राहत उपलब्ध गराउने सिफारिस गरेको थियो । चालु आर्थिक वर्ष २०८०/०८१ मा लमही नगरपालिका-३ निवासी सुकराम कुमालले पालेका पाँचवटा बाख्रा मरे । राहत समितिले ४८ हजार छ सय रुपैयाँ उपलब्ध गराउने निणर्य गर्‍यो । यस्तै लमही नगरपालिका-१ निवासी बसन्तराज अधिकारीले पालेका १७ वटा बाख्रा चितुवाको आक्रणमा परेर मरेका थिए ।

    जसवापत एक लाख ७० हजार रुपैयाँ राहत उपलब्ध गराउने निणर्य गरिएको थियो । गढवा गाउँपालिका-४ निवासी रामप्यारे यादवको मकैबालीमा क्षति भएवापत एक हजार छ सय २० रुपैयाँ राहत उपलब्ध गराउने निणर्य गरिएको थियो । यस्तै गढवा गाउँपालिका-५ निवासी छुकु चौधरीले पालेका पाँचवटा भेंडा मरेका थिए । राहत सिफारिस समितिले ६० हजार राहत उपलब्ध गराउने निणर्य गरेको थियो । यि निणर्यका आधारमा किसानलाई राहत उपलब्ध गराइएको छ ।

    उपचार खर्च पाउनै मुस्किल

    डिभिजन वन कार्यालयले उपचारको लागि पहल गरे पनि प्रक्रिया पूरा हुन समय लाग्ने गरेको छ । वन क्षेत्रभन्दा बाहिर जंगली जनावरले आक्रमण गरेको खण्डमा राहत उपलब्ध गराउन सक्ने व्यवस्था रहे पनि जंगल क्षेत्रको विषयमा सम्बोधन गर्न गाह्रो हुने देखिएको छ । यद्यपि कागजी प्रक्रिया पूरा भएको खण्डमा पीडितसँग प्रदेश सरकार कार्यक्रमबाट सम्बोधन गर्न सकिने भएकाले आवश्यक सिफारिस गरिने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले बताए ।

    उपचार खर्च दिने कोष हामीसँग छैन । मन्त्रालयबाट निकासा गर्नुपर्ने भएकाले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ,’- उनले भने-। हामी सँग कागज आइपुगेको छैन । आएको खण्डमा पहल लिन्छौं ।’ वन्यजन्तुको आक्रमणमा परेका सामान्य घाइतेको उपचारको लागि बढीमा २० हजार, गम्भीर घाइतेको हकमा दुई लाख रुपैयाँसम्म, अंगभंग भई जीवनभर गम्भीररुपले शारीरिक अशक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालाई जीविकोपार्जनका लागि एकमुष्ट पाँच लाख रुपैयाँसम्म, मृत्यु भएको हकमा नजिकको हकवालालाई राहत दश लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ । राहत वितरण प्रक्रिया सहज छैन ।

    प्रदेश सरकार अन्तरगत वन निर्देशनालयमार्फत् राहत प्राप्त गर्न प्रक्रिया पूरा गर्न समस्या पर्छ । डिभिजन वन कार्यालयमार्फत् सिधैं वन्यजन्तुले हानी नोक्सानी गरेको क्षती तथा घाइते भएका व्यक्तिको उपचार र मृत्यु भएका व्यक्तिका परिवारका सदस्यलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाउन माग राखिएको छ।

    क्षतीको आधारमा राहत वितरण गर्न एक त बजेटकै अभाव हुन्छ । त्यसमा पनि वन निर्देशनालय पुग्नुपर्दा समस्या छ,’ डिभिजन वन कार्यालय देउखुरीका प्रमुख क्षेत्रीले विकल्प औंल्याउँदै भने-॥।राहत वितरणको काम डिभिजन वन कार्यालयमार्फत् गरिंदा सहज र छिटो हुने थियो ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij