नवीन लोचनमगर - रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, उवा कोटलभारामा गएराति आएको पहिरोमा परी दुई जनाको ज्यान गएको छ भने १० जना बेपत्ता भएका छन् । राति करिब ८ः४० बजे आएको पहिरोले आधा दर्जन घर गोठ बगाएको प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुले जानकारी दिए । मृत्यु हुनेहरुमा १६ वर्षीया शान्ति पुनमगर र ६० वर्षीय कमलबहादुर पुनमगर रहेका छन् ।
पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरको उद्धार गरी उपचारमा पठाइएको प्रहरीको भनाई छ । पहिरोमा परी नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष नवीन रोकामगरका आमा हस्तमा रोकामगरको पनि मृत्यु भएको छोराद्वारा पुष्टि गरिए पनि प्रहरीले केही बताएको छैन । पहिरो खसेको थाहा पाएलगत्तै प्रहरी त्यसतर्फ हिडे पनि राति करिब १०ः४५ तिर घटनास्थल पुगेको थियो । पहिरोमा दशजना बेपत्ता भएको र उनीहरुको उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक पंचकुमार बाखुले बताए ।
बिहीबार बिहानसम्म प्रहरी र स्थानीयबासीको सक्रियतामा उद्धार कार्य जारी रहेको बताइएको छ । सुलिचौर–थबाङ सडक खण्डको उवा क्षेत्र पहिरोको उच्च जोखिम क्षेत्रका रुपमा मानिन्छ । सडक विग्रेका कारण घटनास्थलसम्म हिडेर पुग्नुपर्ने र उद्धार गरिएकाहरुको उपचारका लागि पनि बोकेर सुलिचौर ल्याउनुपर्ने भएकाले घाइतेहरु पनि जोखिममा रहेको बताइएको छ ।




