बुटवल । प्यूठानका विभिन्न स्थानमा माडी नदी र लुङ्ग्री खोलाको किनारमा पाँच वटा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका–जुडापाटमा माडी नदी किनारमा करिब १२ वर्षीय पहिचान नखुलेका बालकको शव भेटिएको छ।
यस्तै स्वर्गद्वारीकै किमिचौरमा एक पुरुष र गोठीवाङमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। बिहीबार बिहान सरोजास्थित लुङ्ग्री खोला किनारमा घुँडामुनिको बायाँ खुट्टाको भाग नभएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। त्यसैगरी माण्डवी गाउँपालिका–३ अर्दुसस्थित माडी नदी किनारमा एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार थप शवसमेत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको छ। प्रहरीले रोल्पाको उवा गाउँमामा गएको पहिरोपछि आएको बाढीले मानिसलाई बगाएर प्यूठानसम्म ल्याएको हुन सक्ने आशंका गरेको छ।
प्यूठानमा हालसम्म मानिस हराएको वा ठूलो बाढीपहिरोको घटना भएको जानकारी नआएकाले शवको पहिचान तथा घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको डीएसपी अधिकारीले बताए।




