बुटवल । रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामस्थित श्री रामेश्वर महादेव मन्दिरमा शिव महापुराण सत्संग तथा महारुद्राभिषेक महोत्सव शुरु भएको छ ।
सनातनी युवा मञ्चको आयोजनामा भएको कार्यक्रम अन्तर्गत पहिलो दिन मन्दिर परिसरबाट विभिन्न आमा समूह र टोल संस्था ले भेषभूषा र बाजागाजासहित बृहत् कलश शोभायात्रा पछि दिउँसो शिव महापुराण सत्संग उद्घाटन भएको छ ।
बिहीबार बिहान विधिवत् पूजापाठ र स्वस्तिवाचन सहित कलशयात्रा प्रारम्भ गरी मणिग्राम आशपास क्षेत्रमा कलशयात्रा गरिएको छ ।
उद्घाटन समारोहमा तिलोत्तमा गौशालाका अध्यक्ष कृष्णप्रसाद बरालले सनातनी युवाहरुको जागरुकतामा शिव महापुराण सत्संग आयोजनाले श्रावण मासमा शिव पूजनको महत्वलाई उजागर गरेको बताए ।
सनातनी युवा मञ्चका अध्यक्ष प्रेम सुजन शास्त्रीले धर्म संस्कृतिको रक्षा, प्रचारप्रसार, आध्यात्मिक ज्ञानको अभिवृद्धि साथै संस्थालाई साङ्गठनिक रुपमा सशक्त बनाउन शिव महापुराण सत्संग तथा महा रुद्राभिषेक महोत्सव गरिएको बताउनभयो । उहांले युवापुस्तालाई धर्मको बारेमा बुझाउन सनातनी युवामन्च सदा तत्पर रहने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य सनातनी युवा मञ्चका सल्लाहकार चुडामणी पान्डेयले गरेका थिए भने सनातनीले समाजमा गर्नुपर्ने कर्तव्य र योगको विषयमा शुभयात्रा नेपालका संस्थापक अध्यक्ष मधुसुदन गैरेले प्रष्ट पारे । अर्का वक्ता यज्ञमूर्ति पाण्डेले मानसिक शान्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता बारेमा स्पष्ट पारेका थिए ।
मातृशक्ति र समाजमा धर्मको महत्व र आवश्यताका विषयमा वामदेव खनालले बोलेका थिए ।
उद्घाटन कार्यक्रमको सञ्चालन सनातनी युवा मञ्चका संस्थापक सचिव निशान्त अधिकारीले गरेका थिए ।
कार्यक्रमअन्तर्गत प्रत्येक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म शिव पूजन तथा महाअभिषेक, दिउँसो १ बजेदेखि देवी सत्सङ्ग प्रवचन, साँझ ५ बजे कथा समापन तथा प्रसाद वितरण र साँझ ७ बजेदेखि विशेष आरतीसँगै राष्ट्रिय कलाकारहरूको भजन–कीर्तन आयोजना गरिने छ ।
कार्यक्रममा सहभागी भएर धार्मिक अनुष्ठानसँगै सामाजिक तथा सांस्कृतिक एकताको सन्देश प्रवाह गर्न आयोजक संस्थाले सबैमा आग्रह गरेको छ ।
साउन महिनालाई शिव आराधनाका लागि विशेष महत्वका साथ मनाइने भएकाले कार्यक्रमले स्थानीय धार्मिक गतिविधिसँगै मन्दिर क्षेत्रमा भक्तजनको सहभागिता बढाउने अपेक्षा आयोजकको छ । कार्यक्रममा समाजसेवी कोषप्रसाद भट्टराई, सरस्वती पञ्चायतन मन्दिरका सचिव वामदेव खनाल र विभिन्न आमासमूहका अध्यक्षहरु लक्ष्मी न्यौपाने, कमला कँडेल, शिव कार्की सुवेदी, उमा शर्मालगायतले पनि सुझावहरु राखेका थिए ।




