बुटवल । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ’करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’ आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित नरहेर कक्षाकोठा बाहिरको व्यावहारिक शिक्षा ग्रहण गर्नु आजको युगमा अनिवार्य भइसकेको बताए । उनले भने–‘पाठ्यपुस्तकले जग बसाल्छ, तर बाह्य जीवनका सीप र क्षमताले विद्यार्थीलाई प्रतिस्पर्धात्मक संसारमा अब्बल गराउँछ, इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर यस्तो उपयोगी कार्यक्रम आयोजना गर्नु सराहनीय छ ।’
कार्यक्रमका प्रमुख प्रशिक्षक रसायनशास्त्रका प्राध्यापक एवं चिल्ड्रेन प्याराडाइज इङ्लिस बोर्डिङ्ग स्कुल कपिलवस्तु का प्रिन्सिपल माधव बेलबासेले करियर मार्गको पहिचान शैक्षिक तथा व्यक्तिगत विकास, सीप निर्माण र भावी अवसरहरूबारे केन्द्रित रहेर सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणपश्चात् आयोजित अन्तरक्रियात्मक सत्रमा विद्यार्थीहरू अविनम कुँवर, श्रेया गैरे, गृष्मा श्रेष्ठ, रोजिल थापा र शौरभ केसीलगायतले करियर चयन तथा क्षमता अभिवृद्धिका विषयमा प्रशिक्षकसँग प्रत्यक्ष संवाद गरेका थिए ।
समारोहका अध्यक्ष एवं एकेडेमीका प्रबन्ध निर्देशक रामराज पोख्रेलले यस वर्षको युवा दिवसको मूल नारा ‘फरक परिवेश, साझा अकांक्षा’ माथि प्रकाश पारेका थिए । उनले भने– ‘हाम्रा विद्यार्थीहरू फरक–फरक पृष्ठभूमि वा परिवेशबाट आएका हुन सक्छन्, तर उहाँहरूको साझा अकाङ्क्षा भनेकै एक सुन्दर र सफल भविष्य निर्माण गर्नु हो । केवल परीक्षाको नतिजा वा अङ्क मात्रै सफलताको मापदण्ड हुन सक्दैन; उत्कृष्ट नतिजाका साथै व्यावहारिक सिपयुक्त असल नागरिक बनाउनु नै हाम्रो मुख्य ध्येय हो ।’
सो अवसरमा विद्यालयका विद्यार्थीहरू सिम्रन बस्याल र एसिरा थापाले अन्तर्राष्ट्रिय युवा दिवसको महत्व र कार्यक्रमको औचित्यबारे आफ्ना धारणा राखेका थिए । साथै, स्काउटमा आबद्ध विद्यार्थीहरूले युवाका कथा–व्यथा र आशा समेटिएका प्रेरणादायी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयकी को–अर्डिनेटर माया पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।




