बुटवल । रुपन्देही ट्रेनिङ इन्स्टीच्युट (आरटीआइ) बुटवलले सात वर्षको यात्रा पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा सयजना युवालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने घोषणा गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रोजगारीसँग जोडिने सीपमूलक तालिम प्रदान गर्ने जनाएको हो ।
आठौँ वर्ष प्रवेशका अवसरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका सञ्चालक सागर पाण्डेले सात वर्षको अवधिमा हजारौँ विद्यार्थीले संस्थामाथि गरेको विश्वासलाई सामाजिक जिम्मेवारीमार्फत फर्काउने उद्देश्यले आरटीआइ सिएसआर इनिसियटिभ २०२६ कार्यक्रम अघि बढाइएको बताए । अंग्रेजी वर्ष २०२६–२७ भित्र सय जना युवालाई उनीहरुले चाहेको विषयमा एक महिनेदेखि तीन महिना अवधिसम्मका तालिम पूर्णतः निःशुल्क रुपमा दिने घोषणा गरेर कार्यान्वयन गर्ने तयारीमा रहेको पाण्डेले बताए ।
“आठौँ वर्ष प्रवेश हाम्रा लागि समाजप्रतिको जिम्मेवारी अझ बढाउने समय हो । विगतमा विद्यार्थी, अभिभावक र समाजले हामीमाथि गरेको विश्वासको केही अंश समाजलाई फर्काउनुपर्छ भन्ने महसुस गरेर यो अभियान सुरु गरेका हौँ ।”– पाण्डेले भने ।
उनका अनुसार अभियानअन्तर्गत आरटीआइमा उपलब्ध रोजगारमूलक तालिममध्ये सहभागीको रुचि, आवश्यकता, योग्यता र क्षमता हेरेर उपयुक्त तालिम छनोट गरिनेछ । तालिमका लागि सहभागीबाट कुनै शुल्क नलिइने संस्थाले जनाएको छ ।
संस्थाकी सञ्चालक पूर्णिमा भुसाल पाण्डेले अभियानको उद्देश्य निःशुल्क प्रमाणपत्र वितरण गर्नु नभई युवालाई व्यवहारिक सीप दिएर उनीहरूको भविष्यमा वास्तविक परिवर्तन ल्याउनु रहेको बताइन् । उनका अनुसार आर्थिक तथा अन्य कारणले सीप सिक्ने अवसरबाट वञ्चित भइरहेका तर केही गर्ने इच्छा र क्षमता भएका युवालाई कार्यक्रमको प्राथमिकतामा राखिनेछ ।
“सीप सिक्ने इच्छा छ, अगाडि बढ्ने सपना छ तर अवसरको अभाव छ भने त्यस्ता युवासम्म यो कार्यक्रम पुग्नुपर्छ। हामीले दिएको तालिम उनीहरूको रोजगारी, स्वरोजगार वा उद्यमशीलताको बाटो बन्न सकोस् भन्ने हाम्रो चाहना हो ।”– पूर्णिमाले भनिन् । रोजगार बजारको मागअनुसार उपयोगी तथा व्यवहारिक सीप विकासमा संस्थाले जोड दिने जनाएको छ ।
सञ्चालक सागर पाण्डेले संस्थाको आगामी यात्रा अझ बढी जिम्मेवार र परिणाममुखी हुने बताए । “हामीलाई विश्वास गर्ने विद्यार्थी र समाजप्रति हाम्रो जिम्मेवारी छ । अबको यात्रा केवल संस्था विस्तार गर्ने होइन, सीप, रोजगारी र अवसरमार्फत समाजमा योगदान पु¥याउने पनि हो ।”– उनले भने ।




