बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मा.वि. बुटवलमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् । विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका सात सय बढी विद्यार्थीलाई मणिग्राममा आयोजित एक समारोहमा सांगीतिक प्रस्तुतिसहित स्वागत गरिएको हो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्रप्रसाद कसजूले रुपन्देहीमा गुणस्तरीय शिक्षा दिने पवित्र उद्देश्यले ३७ वर्ष अघि शिक्षाप्रेमीहरुले न्यू होराइजन संस्था स्थापाना गरेको चर्चा गर्दै संस्थाले विद्यालय तहदेखि विश्वविद्यालय तहासम्मको शिक्षा दिने देशकै अग्रणी शैक्षिक संस्था बनेको बताए ।

प्राचार्य बासुदेव अर्यालले गुणस्तरीय र संस्कारयुक्त शिक्षामा संस्था प्रतिबद्ध रहेकै कारण हरेक वर्ष देशमै उत्कृष्ट नतिजा आउने गरेको बताए । संस्थाले पाठ्यक्रमको ज्ञान संगै विद्यार्थीको सर्वाङ्गीण विकास गर्न खेलकुद र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदै आएको बताए ।
निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले ३७ वर्ष लामो र गौरवपूर्ण इतिहास बोकेको देशकै प्रतिष्ठित शैक्षिक संस्था न्यू होराइजनलाई छनोट गर्नु विद्यार्थी र अभिभावक गुणस्तरीय शिक्षाप्रति सचेत रेहेको पुष्टी भएको बताए ।
कक्षा १२ का छात्र स्मरण पौडेलको अध्यक्षता, रिजन श्रेष्ठ, मेलिना गुरुङ, प्रसिद्धिका श्रेष्ठ र उप्सना थापाको सञ्चालन, रक्षा चुदालीको स्वागत तथा कक्षा १२ की मन्दिपा पौडेल र कक्षा ११ की जुविका भुसालले मन्तव्य राखेका थिए ।
कक्षा ११ का तर्फबाट बोल्ने विद्यार्थीले आफूहरुले शैक्षिक गुणस्तरमा देशकै अग्रणी न्यू होराइजन माविमा अध्ययन गर्न पाउंदा खुशी लागेको बताएका थिए भने १२ कक्षाका विद्यार्थीले न्यू होराइजन रोज्ने विद्यार्थी र अभिभावकहरु कहिल्यै पछुताउन नपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विधाका गीत र नृत्य प्रस्तुत गरेर सहभागीलाई भरपूर मनोरन्जन दिलाएका थिए ।उक्त कार्यक्रम स्वागत कार्यक्रम मात्र नभई विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा, कला, क्षमता र व्यक्तित्व प्रष्फुटन गर्ने र एक अर्काको प्रतिभा अनुशरण गर्ने महत्वपूर्ण अवसर भएको कार्यक्रमको समग्र संयोजन गरेका उपप्राचार्य राजीव श्रेष्ठले बताए ।
कार्यक्रम कक्षा १२ का विद्यार्थीको आयोजना तथा विद्यालयको व्यवस्थापन र विज्ञान संकायको संयोजनमा भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति कोषाध्यक्ष रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति थियो ।





