बजारमा उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहजै पाउन छाडेको एक महिना नाघिसेकको छ । वितरण प्रणाली व्यवस्थित बनाएर सहज वितरण गर्नुको साटो झन भद्रगोल भएको छ ।
उपभोक्ता ग्यासका लागि नजिकका किराना र खाद्य पसल तथा डिलर कहाँ जान्थे । खासमा जानुपर्ने त्यही हो, तर अहिले शहरको कुनै एक ठाउँमा घण्टौं लामो लाइन लाग्न बाध्य छन् । सरकारले ग्यास वितरणको लागि डिलरलाई नदिएर आफैँ बाँड्न थालेपछि झन समस्या चुलिएको छ । संकटका बेला सरकारी निकायको सक्रियता हुनु राम्रो हो । सरकारी निकायको सक्रियतापछि सहज हुनुपर्नेमा झनै भद्रगोल हुनुले वितरण प्रणाली व्यवस्थित बनाउन सरकारले पटक्कै ध्यान दिएन् । सस्तो लोकप्रियताका लागि सरकारी निकायलाई ग्यास बाँड्ने जिम्मा दियो । बजारको समस्याका बारेमा मिहिन अध्ययन गरी अघि बढ्नुको साटो आफैँ उपभोक्ताको घरदैलोमा पुग्दा झनै भद्रगोल हुनु स्वभाविक हो । अहिले ग्यास वितरण भद्रगोल डिलरले लुकाएका कारण भएको होइन । उपभोक्ता कति छन्, ती उपभोक्तालाई कति ग्यास सिलिण्डर दिइएको छ भन्ने प्रष्ट तथ्याङ्कको अभावमा समस्या भएको हो । ग्यास डिलरले उपभोक्ताको रेकर्ड राख्न सक्छन् । त्यो रेकर्ड राख्न वडा कार्यालयमार्फत् पनि सकिन्छ, तर अहिले त्यतातिर नलागि आफैँ ग्यास बाँडेर सरकारले झनै भद्रगोल बनाएको छ । उपभोक्तासँग ग्यास भएको नभएको जानकारी डिलरसँग जानकारी हुन्छ । डिलरलाई जिम्मेवार बनाउन सक्दा वितरण सहज हुन्छ । डिलरलाई बेवास्ता गर्दा जवाफदेही कोही हुन सकेन् ।
केही समयदेखि ग्यास आपूर्तिमा समस्या भएको हो । त्यसकारण सरकारले आधा सिलिण्डर ग्यास दिन थालेको हो । ग्यास व्यवसायीका अनुसार, नेपालमा मासिक करिब ५० हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ । त्यसमध्ये औसत ३५ हजार मेट्रिक टन मात्रै आयात भएको छ । ७.१ केजीको ग्यास बिक्री भएको समय (चार महिना)मा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको छ । नेपालमा आवश्यकताभन्दा धेरै सिलिन्डर रहेकोले पनि समस्या भएको व्यवसायीको भनाइ छ । नेपालमा करिब १ करोड सिलिन्डर आवश्यक पर्छ । अहिले १ करोड ८० लाखभन्दा बढी सिलिन्डर बजारमा छन् । एकातिर आयातमा कमि र अर्कोतिर आवश्यकभन्दा बढी सिलिण्डर भएकाले अभावका बेला सिलिण्डर धेरै हुनेले स्टक राख्दा समस्या भएको हो भन्ने बुझ्न कठिन छैन ।
अब सरकारले नै वितरण व्यवस्थापन रोकेर डिलरलाई जवाफदेही बनाउँदै वितरणको जिम्मा दिनुपर्छ । कसले कति ग्यास लग्यो भन्ने रेकर्ड राखेर वितरण प्रणालीलाई व्यवस्थित गर्न सक्दा मात्रै उपभोक्ताले सहजै ग्यास पाउनेछन् ।




