परासी । संस्कृति सम्पदा संरक्षण महाअभियानले किसानका समस्या समाधानदेखि विकास निर्माणमा गुणस्तर, सीमा क्षेत्रमा सुरक्षा तथा वडा तहबाट सहज सेवा प्रवाह सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
महाअभियानका संयोजक अनिल शर्माले परासीमा पत्रकार सम्मेलन गरि खेतीपातीको समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपरेको भन्दै तत्काल सर्वसुलभ रूपमा मल उपलब्ध गराउन माग गरेका हुन। समयमै मल, बीउ र सिँचाइको व्यवस्था मिलाउँदै किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित गर्नुपर्ने अभियानको भनाइ छ।सीमा क्षेत्रमा देखिएका समस्या राजनीतिक विवादका रूपमा नभई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने अभियानको धारणा छ। सुस्ता लगायत संवेदनशील सीमा तथा बाढी–पहिरो प्रभावित क्षेत्रका समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको अभियानका संयोजक शर्माले बताए ।
त्यस्तै, विकास निर्माणका योजनामा गुणस्तर र पारदर्शिता कायम गर्न ठेकेदार तथा सम्बन्धित निकायलाई जवाफदेही बनाउन माग गरिएको छ। विकास निर्माणका कामको परिमाणसँगै गुणस्तरसमेत सुनिश्चित गर्नुपर्ने र नियामक निकाय तथा जनप्रतिनिधिले स्थलगत अनुगमन गरी भ्रष्टाचार तथा लापरवाही रोक्नुपर्नेमा अभियानले जोड दिएको छ।
छ। साथै, स्थानीयवासीको सुरक्षा, जीवनस्तर सुधार र भूमिसम्बन्धी समस्या समाधानमा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ।
महाअभियानले वडा तहबाटै नागरिकलाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउन पनि माग गरेको छ। सवारी साधन नवीकरण, सिफारिसलगायत सामान्य कामका लागि नागरिकले अनावश्यक झन्झट र खर्च बेहोर्नुपर्ने अवस्था अन्त्य गरी वडा तहबाटै सहज सेवा दिने व्यवस्था गर्नुपर्ने बताइएको छ। अधिकार र सेवा सुविधालाई जनताको घरदैलोसम्म विकेन्द्रीकरण गर्नुपर्नेमा अभियानले जोड दिएको छ।
यसैगरी, नागरिकले राजनीतिक नेतृत्वलाई मात्र दोष दिएर नहुने भन्दै आफ्नो नगर, वडा र टोलको सरसफाइ तथा विकासमा समेत योगदान दिनुपर्ने अभियानको भनाइ छ। ‘पहिला आफू ऐनामा हेरौँ र सुधार आफैँबाट गरौँ’ भन्ने भावनाका साथ नागरिक उत्तरदायित्व बहन गर्न अभियानले आग्रह गरेको छ।
महाअभियानले देशको सर्वोपरि हितका लागि शिक्षा, स्वास्थ्य, कृषि र सुशासनका क्षेत्रमा राज्यले तत्काल प्राथमिकता दिनुपर्ने जनाएको छ।
नेपालमा सांस्कृतिक सम्पदा संरक्षणलाई विकास र सामाजिक दायित्वसँग जोडेर अघि बढाउनुपर्ने विषयमा पनि सरोकारवालाले जोड दिँदै आएका छन्।




