पाल्पा ।पाल्पालगायत पहाडी क्षेत्रका बस्तीमा बाँदर, दुम्सी, बँदेल, मृग, खरायोलगायतका जंगली जनावारले खेतीपातीमा ठुलो नोक्सान पु¥याउँदै आएका छन् । जंगली जनावरको कारण बस्ती नै खाली हुन थालेपछि पाल्पा रिब्दीकोट गाउँपालिका वडा नंं. १ ख्याहाले गाउँ–गाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जाली लगाएर जंगली जनावर नियन्त्रणको नमूना काम गरेको छ ।
अहिले मकै खेतीको मुख्य सिजन हो । चैत्र बैशाखमा लगाएको मकै अहिले फल्ने, दाना हाल्ने समय हो । जंगली जनावार बाँदर, बँदेलको संख्या अत्याधिक वृद्धिसँगै कृषकले लगाएको मकैलगायत अन्नबालीमा ठुलो नोक्सान पु¥याउँदै आएको छ । केन्द्रीय सरकारलाई बाँदर तथा बँदेल जस्ता जंगली जनावर नियन्त्रणको लागि कृषकहरुले आवाज उठाए पनि कहि कतैबाट सुनुवाइ हुन सकेको छैन । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा वडा कार्यालयले २०८० सालदेखि प्रत्येक वर्ष बाँदरलाई नौ÷दश जनाका दरले हेरालु कर्मचारी खटाएर कृषकको मकै खेती जोगाउने अभियानमा लागेको छ । यो वर्ष वडा कार्यालयले साउन भदौको लागि बाँदर लाग्ने वडाको धैरेनी मेयालपानी क्षेत्रमा ९ जना हेरालु राखेर मकै खेती रेखदेख गर्दै आएको छ । ख्याहाको धैरेनी मेयालपानी, रातामाटा कोटफेरालगायतका क्षेत्रमा ६ जना र जोगिथुम क्षेत्रमा ३ जना गरी ९ जना हेरालु राखेर बाँदर धपाउने कामले कृषकलाई रातह मिलेको बाँदर हेरालु विष्णुबहादुर सुनारले बताए ।
बाँदर हेरालुहरु बिहान ५ बजेदेखि राति ८ बजेसम्म निरन्तर कृषकको मकैबारी क्षेत्रमा खटिंदै आएका छन् । वडाले बाँदर हेरालुलाई गुलेली, नक्कली बन्दुक, गोला बारुदलगायतका सामग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ । बाँदर हेरालु कार्यक्रमले स्थानीयस्तरमा मकै खेती जोगाउन सहयोग मिलेको र केहिले गाउँमै रोजगारी समेत पाएको स्थानीय रामप्रसाद न्यौपानेले बताए ।
दिउँसोमा हेरालुको कारण ख्याहा कृषकको मकै खेती बाँदरबाट जोगिएको छ भने रातीमा बँदेल, दुम्सी, मृग घोरललगायतका जनावारहरु काँडेतार र जालीबाट भित्र पस्न नपाउँदा ख्याहाका कृषकहरुलाई राहत मिलेको छ । गाउँमा ठुलो संख्यामा बाँदर आउँदा कृषकका घरपरिवारका सदस्यहरुले पनि बाँदर धपाउन सहयोग गर्दै आएका छन् भने अन्य समयमा हामी हेरालुबाटै बाँदर धपाउने काम हुँदै आएको तिलबहादुर सुनारी मगरले बताए ।
मकै खेती जोगाउन जेठ महिनादेखि भदौसम्म बिहान ४ बजेदेखि राती ८ बजेसम्म बारीमा बाँदर धपाउन बस्नु पर्ने बाध्यता ख्याहावासीमा थियो । विगत २०८० सालदेखि वडा कार्यालयबाट हेरालुले व्यवस्था भएपछि धैरे सजिलो भएको स्थानीय सूर्यबहादुर विकले बताए । एक वर्षअघिसम्म रातिमा मृग, दुम्सी र बदेलले बाली खाए हैरान पार्दथ्यो अहिले जाली लगाएपछि रातिमा जंगली जनावर आएर बालीनाली नोक्सान गरेको छैन भने वडा कार्यालयले गरेको सहयोगले कृषकहरुलाई राहत मिलेको, खेतीबाली जोगिएको स्थानीय ख्याहा धैरेनीका कृषक शंकरबहादुर सुनारले बताए ।
रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाको बाँदर लाग्ने क्षेत्रका स्थानीय बासिन्दाको मागअनुसार वडा कार्यालयले विगत ५ वर्षदेखि बाँदर हेरालु राख्दै आएको छ । वडा कार्यालय बाँदर लाग्ने क्षेत्रका कृषकहरु बिच एक आपसमा प्रतिष्पर्धा गराएर बलिया फुर्तिला व्यक्तिहरु छनौट गरेर २ महिनाको लागि बाँदर हेरालु जागिरेको रुपमा नियुक्त गरी कृषकको मकै लगाएको खेतबारीमा खटाएको छ । गत वर्षदेखि वडा कार्यालयले कृषकको खेती क्षेत्रमा ७ फिटको १६० मिटरमा काँडेतार जाली लगाएर जंगली जनावर नियन्त्रणमा अर्काे महत्पूर्ण काम गरेको छ । । मेयालपानी र आरुखर्कसम्म काँडे जाली लगाउनु पर्ने स्थानीवासीको माग रहेको छ । स्थानीय जनताको मागअनुसार वडा कार्यालय चालु आर्थिक वर्षमा थप ५ सय मिटर क्षेत्रमा काँडेतार जालीको बजेट बिनियोजन गरेको वडा अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । वडा कार्यालयले गत वर्ष मात्र नमूनाको रुपमा जंगली जनावरले अत्याधिक दुःख दिने स्थानमा काँडेतार जाली लगाएको छ, जसले गर्दा बाँदर जालीमा चढ्न समेत कठिनाई हुने, रातिमा आउने बँदेर, दुम्सी, मृग, घोरल, खरायो जस्ता जनावर नियन्त्रणमा आएको स्थानीयवासीको भनाइ रहेको छ ।
एकातर्फ पहाडी क्षेत्रमा जंगली जनावरकै कारण अधिकांश खेतीयोग्य जमिन दिनहुँ बाँझो बन्दै गएको छ भने अर्काेतर्फ खेतीपाती गर्दै आएका कृषकहरुलाई बाँदर, बँदेल, दुम्सी, मृग, घोरल, जंगली खरायोका कारण उठिवास लगाएको छ । यस्तो अवस्थामा रिब्दीकोट गाउँपालिका वडा नंं. १ ख्याहाले बाँदर हेरालु र खेतीयोग्य जमिनको छेउँमा काँडेतार जाली लगाएर कृषकहरुलाई राहत प्रदान गरेको छ । वडा कार्यालयले गरेको बाँदर धपाउने, बारीमा काँडेतार जाली लगाउने नमूना कार्यले ख्याहा पाल्पाका कृषकहरु खुसी भएका छन् । यस्ता नमूना कार्य अन्य वडा कार्यालयबाट भएका कृषकहरुलाई ठुलो राहत मिल्ने देखिन्छ ।




