प्यूठान । वर्षौंदेखि बजेट अभावका कारण अलपत्र परेको झिमरुक गाउँपालिका–३ स्थित बतासेडाँडा–मच्छी सडकखण्ड निर्माणका क्रममा ठेकेदारको चरम लापरबाही भेटिएको छ।सडक निर्माणअन्तर्गत बनिरहेको पलाम वालमा लेदो र माटो भेटिएको छ ।
संघीय समपूरक बजेटमार्फत् झिमरुक गाउँपालिकाका लागि ९ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । सोही बजेटबाट सडकको कटिङ, चौडा पार्ने, पलाम वाल तथा जालीलगायतका काम गर्न हरियाली निर्माण सेवा, प्यूठानले ठेक्का सम्झौता गरेको हो ।
निर्माण कम्पनीले आर्थिक वर्ष २०८२-०८३ मा १ करोड ७१ लाख रुपैयाँ बराबरको काम गर्नुपर्ने कम्पनीका साइट इञ्चार्ज बिराजन गिरीले बताए । तर निर्माणाधीन पलाम वालको संरचनाभित्रै माटोको लेदो र ढुंगा प्रयोग भएको भेटिएपछि निर्माणको गुणस्तरमाथि चरम लापरवाही देखिएको छ । क्रसरको सामग्री रोकिएका कारण खोलाबाट ल्याइएको सामग्री प्रयोग गर्दा यस्तो देखिएको निर्माण इञ्चार्ज गिरीले बताए । तर सडकको महत्वपूर्ण संरचना मानिने वाल निर्माणमा मापदण्डविपरीत सामग्री प्रयोग भएको हुँदा ठेकेदारको लापरबाही मात्र होइन,पालिकाले निर्माणको अनुगमन र गुणस्तर परीक्षणमाथि प्रश्न उठेको छ ।
निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको जानकारी पाएपछि झिमरुक गाउँपालिकाको पूर्वाधार शाखाले तत्काल काम रोक्न निर्देशन दिएको छ । शाखा प्रमुख इञ्जिनियर अशोक जिसीले निर्माण कम्पनीलाई तत्कालका लागि काम रोक्न आदेश दिएको बताए ।
स्थानीय पूर्वाधारमा करोडौँ रुपैयाँ खर्च भइरहेका बेला निर्माण कम्पनीले ‘क्रसरको माल रोकिएको’ भन्दै खोलाको सामग्री प्रयोग गर्नुले ठेक्का सम्झौता र प्राविधिक मापदण्डको पालना कति भइरहेको छ भन्ने प्रश्न उब्जाएको छ ।
यस विषयमा थप जानकारीको लागि झिमरुक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाललाई सम्पर्क गर्न खोज्दा उनको मोवाइलमा घन्टी बज्यो तर उठेन । वर्षौंदेखि सडकको समस्या झेल्दै आएका स्थानीयले गुणस्तरीय र टिकाउ सडकको अपेक्षा गरेका छन् । तर निर्माणकै क्रममा संरचनाभित्र माटो र लेदो भेटिनुले सडक बनेपछि कति समय टिक्ला भन्ने चिन्ता थपिएको स्थानीयको भनाइ छ ।




