बुटवल । ‘कायापलट ल्याउनु छ, देशमै युवा उद्यमशीलतालाई सम्मान गरौँ’ भन्ने नारासहित रुपन्देहीको तिलोत्तमा नगरपालिका–मणिग्राममा ‘नेपालका लागि नेपाली स्टोर’ सञ्चालनमा आएको छ। स्वदेशमै उत्पादित वस्तुको बजारीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको स्टोरको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले औपचारिक उद्घाटन गर्नुभएको हो।
नगरप्रमुख खाँडले रिबन तथा केक काटेर स्टोरको शुभारम्भ गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको प्रयास मात्र पर्याप्त नहुने बताउनुभयो। निजी क्षेत्र, व्यवसायी, किसान तथा उद्यमीहरूले समेत आ–आफ्नो क्षेत्रबाट योगदान गरे मात्रै देशले अपेक्षा गरेको आर्थिक वृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो।
स्थानीयस्तरमा उत्पादन भएका वस्तुले बजार नपाउँदा किसान तथा साना उद्यमीहरू समस्यामा पर्ने गरेको अवस्थामा यस्ता स्टोरले उत्पादन र बजारबीचको दूरी कम गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो। स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत सहयोग पुग्ने उहाँको धारणा थियो।
विशेषगरी गाँजा तथा अल्लोबाट उत्पादित कपडा, नेपाली ढाका, कृषि उपज तथा विभिन्न प्राकृतिक र व्यावसायिक नेपाली उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राखेर स्टोर सञ्चालन गरिएको सञ्चालकले जनाएका छन्। स्टोरमा सम्भव भएसम्म नेपाली उत्पादन मात्रै बिक्री गर्ने लक्ष्य लिइएको बताइएको छ।
लामो समयदेखि कृषि पेशामा आबद्ध महेन्द्र गौतमले कृषि उत्पादनलाई बजारसम्म पुर्याउने र किसानलाई उत्पादनसँगै उद्यमशीलतातर्फ जोड्ने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको बताउनुभयो। किसानले मेहनत गरेर उत्पादन गरे पनि उचित बजार र मूल्य नपाउने समस्या अझै रहेको उल्लेख गर्दै उहाँले उत्पादनको बजारीकरणलाई व्यवस्थित बनाउन सके किसानलाई उद्यमीका रूपमा स्थापित गर्न सकिने बताउनुभयो।
गौतमका अनुसार ‘नेपालका लागि नेपाली स्टोर’ केवल व्यापार गर्ने ठाउँका रूपमा मात्र नभई नेपाली उत्पादनलाई उपभोक्तासँग जोड्ने अभियानका रूपमा अघि बढाउने योजना रहेको छ। स्थानीय किसान तथा उद्यमीले उत्पादन गरेका वस्तुलाई प्राथमिकताका साथ बजार उपलब्ध गराउँदै स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउने उद्देश्य रहेको उहाँले बताउनुभयो।
स्टोरकी सञ्चालक सन्जु शर्माका अनुसार स्टोरमा नेपाली मौलिकता झल्काउने विभिन्न उत्पादन बिक्रीका लागि राखिएका छन्। हाल स्टोरमा गाँजाबाट बनेका कपडा, नेपाली ढाकाका कपडा, गुन्द्रुक, भाँगो, टिमुर, भाँगोको अचार, गाँजाको चियालगायतका विभिन्न नेपाली तथा प्राकृतिक उत्पादन उपलब्ध छन्।
परम्परागत सीप, स्थानीय कच्चा पदार्थ र नेपाली मौलिकतालाई आधुनिक बजारसँग जोड्ने प्रयासका रूपमा स्टोरलाई विकास गर्ने योजना रहेको शर्माले बताउनुभयो। स्वदेशी उत्पादनको प्रयोग बढाउन सके स्थानीय उत्पादन गर्ने किसान, घरेलु उद्यमी तथा साना व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ।
नेपालमा उत्पादन भएका वस्तुको बजार विस्तार गर्न सके आयातमा निर्भरता घटाउनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने सञ्चालकहरूको विश्वास छ। त्यसका लागि उपभोक्ताले समेत स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
पछिल्लो समय नेपाली उत्पादनप्रति उपभोक्ताको रुचि बढ्दै गएको अवस्थामा यस्ता व्यवसायले स्थानीय उत्पादनलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। विशेषगरी कृषि तथा प्राकृतिक उत्पादनलाई प्रशोधन, प्याकेजिङ र बजारीकरणमार्फत उपभोक्तासम्म पुर्याउने वातावरण बनाउन सके किसानको उत्पादनले उचित मूल्य पाउने र उद्यमशीलता विस्तार हुने विश्वास गरिएको छ।
‘नेपालका लागि नेपाली स्टोर’ तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सुलभ फार्मेसीको ठीक पछाडि, मणिग्रामको स्ट्रिट नं. ९ मा रहेको छ। स्टोरले आगामी दिनमा नेपाली उत्पादनको दायरा थप विस्तार गर्दै स्थानीय किसान, उद्यमी र उत्पादकसँग सहकार्य गर्ने लक्ष्य लिएको जनाएको छ।
स्वदेशी उत्पादनलाई बजार, किसानलाई उद्यम र युवालाई व्यवसायसँग जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको यो स्टोरले ‘नेपाली उत्पादन प्रयोग गरौँ, नेपाली उद्यमीलाई प्रोत्साहन गरौँ’ भन्ने अभियानलाई समेत बल पुग्ने अपेक्षा गरिएको छ।




