सामुदायिक वन, कृषि र समुदाय परिचालनमा मुलुककै नमूना गाउँ मदनपोखराको विकासमा अतुलनीय भूमिका खेलेका घण्टप्रसाद अर्यालको ९९ वर्षको उमेरमा भएको निधन अपुरणीय क्षति हो । समाजमा लामो समय सत्कर्ममा लागेका व्यक्तिको निधन असामान्य हुन्छ । ९९ वर्षको उमेर दीर्घजीवनका रुपमा हेर्दा उत्कृष्ट हो । जन्म र मृत्यु स्वभाविक प्रक्रिया हुन्, तर जीवनको लामो समय समाजको उन्नयनमा लागेका घण्टप्रसादको अभाव यो समाजलाई सधैँ खड्किरहनेछ ।
२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा पाल्पामा अगुवाको भूमिका खेलेका अर्यालले सामन्तवादी सोंच र व्यवहारविरुद्ध सधैँ विद्रोह गरे । बाहुनले हलो जोत्नु हुँदैन् भन्ने त्यसबेलाको समाजमा उनले हलो जोत्ने अभियान चलाएर सामाजिक जडताविरुद्ध विद्रोह गरे । राजनैतिक अभियान र समाज सुधारको लागि विद्रोह गर्दा उनी पटक–पटक पक्राउ परे, प्रहरी हिरासत र जेल परे । तर पनि उनको साहस र आँट डग्मगाएन् । मदनपोखरावासीलाई साथमा लिएर शिक्षा, खानेपानी, कृषि र सामुदायिक वन विकासका लागि निरन्तर अगुवाइ गरे । मदनपोखरामा स्कुल खोल्न र शैक्षिक अभियान चलाएर उनले नेतृत्वदायी भूमिका खेले । शारदा माध्यमिक विद्यालयलगायत शैक्षिक संस्थाको स्थापना र विस्तारले यहाँको समाजलाई जागरुक र चेतनशील बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । सरसफाइ, खानेपानी र कृषिको व्यवसायिकरण गर्न पनि उनको योगदान देखिन्छ ।
मुलुकमा वन संरक्षणमा समुदायले गर्न सक्छ भन्ने सफल प्रयोग पहिलोपल्ट मदनपोखराले ग¥यो । देशभर वन विनाश भइरहेको र त्यसले भूक्षयलगायतका विपत्ति निम्तिरहेको बेला त्यो अभियान साँच्चिकै लोभलाग्दो थियो । अन्ततः मदनपोखराकै मोडलमा सामुदायिक वन संरक्षणमा समुदायलाई अघि सार्ने राज्यले नीति लियो । सामुदायिक वन उपभोक्ता समूह बनाएर संरक्षण गर्ने अभियान चलायो । समुदायले नै वनलगायतका प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्नुपर्छ भन्ने अभियानको अगुवाइ गरेर अर्यालले सरकारलाई वन संरक्षणसम्बन्धी नीति बदल्न बाध्य पारे ।
समाज सुधारको अभियान एक्लै गरेर सफल हुने विषय होइन्, नागरिकको साथ र सहभागिता अनिवार्य शर्त हो । हक्की, आँटिला र निरन्तर खट्न सक्ने अर्यालले नै समुदायको साथ लिन सफल भए । उनको अगुवाइमा सामाजिक सुधारको अभियानमा एकाकार भए । आज कृषिको व्यवसायिक विकासमा मदनपोखरा अब्बल भएको छ । राजनैतिक रुपमा सचेत मदनपोखराले पाल्पामा थुप्रै नेतृत्वदायी अनुहार जन्माएको छ । तत्कालीन मदनपोखरा गाविसले मुलुकमै पहिलोपल्ट सामुदायिक रेडियो सफल सञ्चालन गरेर देखायो । आज मदनपोखराको विकास मोडल स्वदेशी र विदेशी अध्येताका लागि अध्ययन गर्ने थलो भएको छ ।
घण्टप्रसाद अर्याल अब भौतिक रूपमा छैनन् । उनको भौतिक अवसान भएको आज १३ दिन पुगेको छ । तर उनले मदनपोखरा गाउँलाई नमूना बनाउन, सचेत र जागरुक गाउँको रुपमा विकास गर्न उनले खेलेको भूमिका सधैँ जीवित रहनेछ । सत्कर्मले उनी युगौंसम्म बाँचिरहने छन् । समाजमा उनी जस्ता अगुवाको अभाव सधैँ रहनेछ । स्वर्गीय घण्टप्रसाद अर्यालप्रति हार्दिक श्रद्धाञ्जली ।




