झपेन्द्र जिसी
तत्कालीन पाल्पा कोकल पाला, हाल तानसेन नगरपालिका वडा नं. ८, मदनपोखरामा वि.सं. १९८४ असोज ९ गते घण्टप्रसाद अर्यालको जन्म भएको हो । उहाँको हजुरबुबा टुनाखर अर्याल र बाबा गिरिधारी अर्याल हो । तत्कालीन अवस्थामा स्थानीय गाउँमा कुनै विद्यालय नभएको हुँदा उहाँले पर्वत पाङ र हालको रम्भा गाउँपालिकाबाट साक्षार हुने अवसर पाउनु भयो । त्यतिखेरको पाठ्य सामग्री वनारसे लघु कौमुदी पढ्नुभयो ।
व्यक्तित्व–अत्यन्त हकी स्वभावका अर्यालजी निर्भिक र हिम्तिलो भएकै कारण आफूलाई मनमा लागेका र देखेका कुराहरु प्रष्टसँग राख्न नहिच्कच्याएको पाइन्थ्यो । मेरा बाबा कृष्णबहादुर जिसी भन्दा करिब ६ वर्षभन्दा कान्छा हुनुहुन्थ्यो । यो हिसाबले म उहाँको छोरा पुस्ताको हुँ । मैले आफ्नो उमेर अनुसार जान्दै बुझ्दै र देख्दै गर्दा उहाँ खुबै पढालेखा हो जस्ता देखिनु हुन्थ्यो भेटघाट कुराकानी गर्दा । उहाँ सामान्य साक्षर भएको मात्र थाहा भयो उहाँको शैक्षिक योग्यता । उहाँ सधँै सफा सुग्घर भएर, सफा सुग्घर कफडा (पाइन्ट, सर्ट) जुत्ता लगाएर चिटिक परेर हिंड्ने लोभ लाग्दो देखिनु हुन्थ्यो ।
राजनीतिमा प्रवेशः २००७ सालमा पाल्पामा पनि राणा एकतन्त्रीय पारिवारिक राणा शासन अन्त्यको आन्दोलन उठ्यो । तत्कालीन युवाहरु पनि स्थानीय तहमा आन्दोलनमा जुटे । त्यतिखेरसम्म कम्युनिष्ट कांग्रेस नभनी सबैको एक मात्र उद्देश्य हुकुमी राणा शासनको अन्त्य गरी नागरिक अधिकार प्राप्ति नै थियो । यो भनाइलाई स्पष्ट पार्ने गरी तानसेन नगरपालिका मखनटोल निवासी नेता तथा गीतकार त्रिरत्न बज्राचार्यका गीतहरुलाई सोही टोलबासी शंकर कपालीको संगीतमा गाइएको गीतको अंश–
वीर किसान हो बढौं अगाडि
सामन्तको राज तोड्नलाई !
आज हामी देख्दै छौं जनवादी चीन
जहाँ आज सुखी छन् मजदूर किसान
हामी पनि सामन्तको अधीनमा बस्ने किन ?
वीर किसान हो....
हजारौं जग्गा जमिन जसको
हजारौं उनको विर्ता
छैन बस्न हामीलाई जमिन एक वित्ता
जिउनु पर्छ गरिबले खाई सिस्नो गिंठा
वीर किसान हो.......
बगाउँदै पसिना हामीले नै खेतबारी जोत्ने
हाम्रो पसिनामाथि यिनै भुँडी पल्टाई बस्ने
उल्टो हाम्लाई ऋण बोकाई जग्गा जमिन लुट्ने !
जग्गा जमिन लुट्ने ।
जहाँ नपइचे रवि त्यहा पहुँचे कवि भनिन्छ ।
कमरेड माओको नेतृत्वमा चीनका जनवादी क्रान्तिबाट अत्यन्त प्रभावित भएका स्रष्टा त्रिरत्न ब्रजाचार्य र यो गीतमा संगीत दिने शंकर कपालीद्वारा अगाडि सारिएका यो लगायतका धेरै गीतहरु तत्कालीन अवस्था लोकप्रिय किसान गीत बनेर र किसानहरुले गाउन थाले ।
२००७ साल फागुन ७ गते राणा सरकारको अन्त्य भयो भनी त्रिभुवन राजाले घोषणा गरेको स्मरणीय छ । यहीनेर भन्नुपर्छ राणा शासनको अन्त्य भयो भने पनि राजा कांग्रेस र राणा प्रधानमन्त्रीको दिल्ली सम्झौता अनुसार प्रधानमन्त्री मोहन शमशेर, गृहमन्त्री वीपी कोइराला आदि भए ।
यसैको सेरोफेरोमा क्रान्तिकारी कम्युनिष्ट नेता कमलराज रेग्मीको नेतृत्व र सहजीकरणमा मदनपोखरास्थित कमलकै सांिहला मामा मोतीराज घिमिरेको घरमा घण्टप्रसाद अर्याल, दुर्गाराज गौतम, खोमनाथ खनाल, बासु नेपालजस्ता दर्जनौं नेपाल कम्युनिष्ट पार्टीको गाउँ एकाइमा संगठित भए ।
त्यही एकाइ कमिटीको नेतृत्वमा वीर किसान हो... एवम् ए साथी बढ्दै क्रान्ति दिनदिन नेपालमा छिनछिन जस्ता गीतहरु गाएर जनतालाई नेकपाप्रति आकर्षित र गोलबन्द गर्ने काम भए ।
संगीत अनुरागः
उहाँ निर्भिकताका साथ गीतहरु भटाउने गरेको र अरु युवा नौजवानले साथ दिने गरेको झपेन्द्र जिसीद्वारा तयार गरिएको प्रकाशन उन्मुख दस्ताबेज छ । उहाँले तबेला, हार्माेनियम, खैंजडी, मजुरा, राम्ररी बजाउन जानेको र शारदा माविको विभिन्न कार्यक्रममा उक्त बाजाहरु बजाएर नानी बाबुहरुलाई नचाउनु हुन्थ्यो ।
हास्य कलाकार–उहाँले नाटक पनि खेल्नु हुन्थ्यो । पेट मिचीमचिी हसाउनु हुन्थ्यो । दर्शकहरुलाई विभिन्न अभिनय गरेर ।
जाली फटाहा विरोधी आन्दोलन
विर्ता प्रथा तोड आन्दोलन, मुखिया जिम्बाल घ्यू, मह, खाने प्रथा विरोधी संघर्ष जाली फटाहा विरोधी संघर्ष, सुदखोर प्रथा विरोधी संघर्षजस्ता जुलुस, अभियानमा सहभागी भई नेतृत्व गरेको पाइन्छ ।
सिर्जनात्मक कार्यहरु– आउँदो मंसिर २०८३ मा मणि दिवस मनाउँदै गरेको श्री शारदा मा.वि.को स्थापनामा अहम् भूमिका पाइन्छ । तत्कालीन पञ्चायती सरकारले मदन पोखरामा शारदा प्रावि तिनपिप्लेमा बालकृष्ण प्रावि सुन्दर गाउँमा सरस्वती प्र्रावि दमकडामा दमकडा प्रावि, छापमा भगवती प्रावि, दमकडा प्राविलाई स्थापना र सञ्चालन गर्न सुमदायले देखाएका जागरुकता योगदानको कदर गर्दै निःशुल्क तथा अनिवार्य शिक्षा लागू सरकारले ग¥यो । तर निःशुल्क भनिए पनि अनुदान नदिएपछि आफ्नो साथी कमलराज रेग्मीमार्फत् शिक्षामन्त्री कीर्तिनिधि समक्ष काठमाडौंसम्म डेलिगेशन गई केही अनुदान प्राप्त गरी भोका शिक्षकहरुको पारिश्रमिक भुक्तानी गरेको पाइन्छ ।
विद्युतीकरण
सदरमुकाम तानसेनमा बिजुली बलेजस्तै मदनपोखरामा पनि बिजुली बल्नु पर्छ भन्ने मदनपोखराको ठहर बमोजिम तत्कालीन शारदा माविका प्रधानाध्यापक हरिप्रसाद उपाध्यायको साथ सहयोगले हरिजीकै कलेज अध्ययनका साथी विद्युत् प्राधिकरणका हाकिम कहाँ गई बिजुली ल्याउन र बिजुलीका लागि सुन्दर गाउँ ठाँटीदेखि ट्रान्सफरमर ल्याउने बाटो खोल्ने काम घण्टप्रसादजीको नेतृत्व र साथीहरुको सहभागितामा भएको पाइन्छ ।
सामुदायिक वन व्यवस्थापन
त्यो बेला वन जोगाउन सरकारले वनपाले आदि त राख्थ्यो । तर हरियाली वन क्षेत्र उजाड भए । कारणहरु समुदायलाई वनको स्वामित्व भएन । वन वनपालेको हो भन्ने बुझाइ रह्यो । कारणभित्रको कारण खोज्दा वन त वनपालेको भुँडीपाल जस्तो भए । त्यसैले अर्यालजीले आफ्नै वडाको मूल गैरा वनको संरक्षण गर्ने योजना बनाई आफैँ वन संरक्षक भई संरक्षण गर्नु भयो । केही वर्षभित्र उजाड मूल गैरा वन हरियाली वनमा परिणत भयो । सामुदायले संरक्षण गरेको वन कस्तो हुँदोरहेछ त भनेर देश विदेशका मान्छेहरुको अवलोकन गर्न घुइँचो लाग्न थाल्यो । सायद वन संरक्षण समुदायले कसरी गर्न सक्छन् ? अथवा वन संरक्षण समुदायले मात्र गर्न सक्छन् भन्ने चेत राज्य सरकारलाई पनि यसबाट पनि आयो कि ? अहिले त लाखौं वन सामुदायिक वनका नामबाट संरक्षित छन् ।
धर्मप्रतिको दृष्टिकोण
स्वर्ग, नर्क, देवतामा उहाँको विश्वास थिएन । उहाँको सधैँ प्रश्न रहन्थ्यो स्वर्ग को गएर आयो ? स्वर्ग कस्तो छ ? के कसैले बताउन सक्छ ? सारतः स्वर्ग नर्क छैन भन्ने उहाँको दृष्टिकोण र विश्वास हो । यसरी नै देवतालाई कसले देख्यो ? कहिले देख्यो ?
यी सबै अन्धविश्वास हुन र सिधासादा जनतालाई ठिंगुरीमा जाकेर आफ्नो भुडी भर्ने दाउ थिए र हुन् भनेर भनिरहनु हुन्थ्यो । भूत प्रेत मरिमसान, दोखजस्ता काल्पनिक स्वरुपमा पनि उहाँको विश्वास थिएन । उहाँले मौका पाउनासाथ चौर, चौपारी र भन्ञ्याङ्मा भेला भएका मान्छेलाई त्यस्तै भनिरहनुहुन्थ्यो । यसको विरुद्ध वकालत गरिरहेको आँखैले देखियो । बाहुनले हलो जोतेर जात जाने होइन । हलो जोते अन्न खान पाइन्छ । हलो नजोते भोकै मरिन्छ भन्ने उहाँको धारणा हो । यसै कारण ब्राह्मण÷बाहुन नौजवान दौतरीहरुलाई हलो जोत्न प्रेरित गरेर आफूले समेत हलो जोतेर उदाहरण प्रस्तुत गरेको पाइन्छ ।
अन्त्यमा त्यो जमाना बेठबेगाडी झारा टन्टकाविरुद्ध आवाज उठाउनु असामान्य कुरा थिए । राणा शासन कहिल्यै ढल्दैन भन्ने जबरजस्त भनाइ रहेको बेला राणा शासन विरोधी आन्दोलनमा जुट्नु पनि महत्वपूर्ण कुरा नै हो । २०१७ सालपछि उहाँ गाउँ पञ्चायतको प्रधानपञ्च भई जनसेवी काम गरेको पाइन्छ । ०३५-०३६ को विद्यार्थी आन्दोलनमा दमन भएको विरुद्धमा तानसेनमा आयोजित कार्यक्रममा पनि उहाँको सहभागिता रह्यो । राजा वीरेन्द्रले आन्दोलनलाई मत्थर पार्न पञ्चायतमा केही पनि सुधार नगरिकन सुधारिएको पञ्चायती प्रजातन्त्र र बहुदलीय शासन व्यवस्थामध्ये कुन रोज्छौं रोज भनी २०३७ सालमा जनमत संग्रह गराउँदा उहाँ मदनपोखरामा बहुदलकै पक्षमै उभिनुभयो । त्यस्ता व्यक्तित्वको २०८३ साल श्रावण २२ गते निधन भएकोमा अत्यन्तै मर्माहत हुँदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो कर्तव्य हो । शोक सन्तप्त उहाँका सुपुत्रहरु ढुण्डीराज अर्याल, धु्रव अर्याल, बुहारीहरु र छोरी ज्वाईंहरु र समस्त शोक सन्तप्त अर्याल परिवारजन र नातेदारहरुमा गहिरो समेदना व्यक्त गर्दछु ।




