राजेशकुमार अर्याल
‘पाल्पामा २००७ सालको क्रान्तिलाई तानसेनपछि सबभन्दा पहिला भित्र्याउने बहादुर गाउँ मदनपोखरा हो । यहीँ जन्मेका घण्टप्रसाद अर्याल त्यस सन्दर्भका प्रथम पुरुष थिए ।’ –राजनीतिज्ञ कमलराज रेग्मी ।
प्राचीन कोकल थुमलाई ओझेलमा पारी आधुनिक गाउँका रूपमा मदनपोखरालाई प्रख्याती दिलाउने मुख्य व्यक्तिहरूमा घण्टप्रसाद अर्यालको नाम अग्रपंक्तिमा आउँछ । उनी मदनपोखराका मात्र नरहेर पाल्पाको राजनीतिक, सामाजिक, शैक्षिक जागरणमा अत्यन्त ठूलो योगदान पु¥याएका व्यक्ति हुन् । राणाशासन फ्याँक्ने २००७ सालको जनक्रान्तिका सहभागी हुन् । पञ्चायती व्यवस्था र राजा विरोधी आन्दोलनका नेता हुन् । किसान आन्दोलन र जनसङ्घर्षमा खारिएका क्रान्तिकारी नायक हुन् । जाली, फटाहा, सामन्तर शोषक विरोधी आन्दोलनको अग्रमोर्चामा खटिएका बहादुर योद्धा हुन् । स्थानीय समुदायमा सामुदायिक भावना, श्रमप्रतिको आस्था, आपसी एकता पैदा गराएर विकासको सुत्रपात गराउने अगुवा हुन् । नयाँ र नवीन प्रविधि भित्र्याउने अन्वेषक हुन् । मदनपोखराको काम र नामलाई देशव्यापी बनाउने प्रचारक हुन् । सारमा मदनपोखरा इतिहासको निर्माता र विकासका नायक हुन् ।

वन वातावरणमा अग्रसरता र मदनपोखरा मोडल
प्राकृतिक स्रोत व्यवस्थापनको इतिहासमा मदनपोखरा एउटा गाउँ मात्र होइन, यो एक जीवन्त दर्शन र प्रयोगशाला हो । वि.सं. २०१३ सालमा प्रदूषित पानीका कारण गाउँमा हैजा जस्तो महामारी फैलिन्छ । एउटै घरमा एकपछि अर्को व्यक्तिको ज्यान जान्छ । लगालग लास पर्छ । यस्तो हृदयविदारक दृष्यले घण्टप्रसाद अर्याल र स्थानीय मानिसहरुलाई गहिरोसँग झस्कायो । त्यसपछि गाउँमा पानीको मुहान सरसफाइ, मूल संरक्षण र नलबाट पानी ल्याएर कलधारा सञ्चालन गर्ने अभियानको थालनी हुन्छ । महामारीको घटनापछि मदनपोखरामा वातावरणीय चेतना र जनस्वास्थ्य अभियानको जग बस्छ । जुकिया मूलदेखि कलधारासम्म सफा पानी आउने वातावरण बन्छ, महिला र पुरुषको अलग अलग धारा निर्माण गरिन्छ ।
यसैगरी वि.सं. २०३० को दशकमा जब नेपालका मध्य पहाडी क्षेत्रहरू भू–क्षय, बाढी पहिरो, वन विनासको तीव्र सङ्कटबाट गुजारिरहेका थिए, त्यो बेला मदनपोखराले एउटा नवप्रवद्र्धनकारी बाटो देखायो–‘वन जोगाउने जिम्मा स्थानीय समुदायलाई दिने ।’ वन जंगल र वातावरण क्षेत्रका लागि यो ऐतिहासिक अभियानका मुख्य दूरदर्शी अगुवा घण्टप्रसाद अर्याल सर्वस्वीकार्य व्यक्तिका रूपमा खडा भए । मूलगैरा वनबाट सुरु भएको यही सामुदायिक वनको अवधारणा, वन संरक्षण र वातावरणीय चेतना नेपालकै लागि एउटा ऐतिहासिक मार्गदर्शन बन्यो ।
सरकारी ऐन, नियम र वन विभागको उपस्थिति बलियो नभएका बखतमा घण्टप्रसाद अर्यालले मदनपोखरामा वातावरणीय जागरणको जग बसाले । सरकारी बजेट र प्राविधिक अनुदानको बाटो नहेरी स्थानीय गाउँलेहरूलाई एकजुट बनाए । रुख काट्न नपाइने, काठ दाउराको निकासी गर्न नहुने, मनपरि ढंगले चरिचरण गराउन नमिल्ने, चराचुरुङ्गी र वन्यजन्तुलाई असर पुग्ने क्रियाकलाप गर्न बन्देज लगाउने जस्ता सामाजिक नियम बाँधे । वनको नियमित रेखदेख र हेरचाहका लागि पालो प्रणाली बाँधियो । गाउँलेहरूको सहभागितामा मानापाथी उठाएर वन हेरालु राख्ने मौलिक परम्परा बसालियो । सरकारी वन कर्मचारी र गाउँलेहरू बिचको अविश्वासलाई तोडेर मदनपोखरामा वन संरक्षण, विकास र उपयोगमा आम जनसहभागिता जुट्यो । यसरी सामुदायिक वन, वातावरण र सामाजिक अग्रसरताका कारण घण्टप्रसाद अर्याल स्वर्णीम अध्यायका रचयिता मात्र होइन, नेपालको नमूना र आदर्श गाउँ मदनपोखरा निर्माणका एउटा बलियो खम्बाका रूपमा स्थापित हुन पुगे ।
मदनपोखरामा घण्टप्रसाद अर्यालको नेतृत्वमा भएको वन संरक्षण, वातवरणीय सचेतना अभियान र समुदायको सहभागितामा वन व्यवस्थापन कार्यको सफलताले नेपाल सरकारलाई वन ऐन २०४९ ल्याउन र विकेन्द्रीकृत सामुदायिक वन नीति निर्माण गर्न ठूलो प्रेरणा दियो । सामुदायिक वनका उपभोक्ताहरूको साझा मञ्च सामुदायिक वन उपभोक्ता महासंघको अवधारणा विकास हुन र नेपालका हजारौँ हेक्टर नाङ्गा डाँडाहरू हरियालीमा परिणत हुन मदनपोखराले ‘पाइलट प्रोजेक्ट’ को काम ग¥यो ।
विश्वव्यापी प्राज्ञिक मञ्चमा मदनपोखरा र घण्टप्रसाद
घण्टप्रसाद अर्याल केही समय लेखपढ गरेको सामान्य साक्षर व्यक्ति थिए, उनमा औपचारिक ज्ञान थिएन भन्दा हुन्छ । बाल्यकालीन समयमा मावली गाउँतिर गुरुकुल कक्षामा संस्कृतका श्लोक कष्ठस्थ पारेको, अक्षर पढ्ने र लेख्ने गरेको देखिन्छ । तर शिक्षा र चेतनाका लागि जीवनभर सङ्घर्ष गरे । सामान्य साक्षर मान्छेले हासिल गरेको व्यवहारिक ज्ञान र नेतृत्व विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूका लागि पनि अनुसन्धानको विषय बनेको छ ।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री एलिनोर ओस्ट्रोमले आफ्नो अनुसन्धानमा मदनपोखरा जस्ता नेपाली गाउँहरूलाई देखाउँदै स्थानीय समुदायले सार्वजनिक सम्पत्तिको दिगो संरक्षण गर्न सक्छन् भन्ने सिद्धान्त स्थापित गरेका छन् । नेपाल अष्ट्रेलिया वन परियोजनामा मुख्य प्राविधिक सल्लाहकारका रूपमा लामो समय काम गरेका अष्टेलियाका वरिष्ठ वनविज्ञ डा. डोनाल्ड गिलमोर र अष्ट्रेलियाका प्रसिद्ध वातावरण मानवशास्त्री डा. रोबर्ट जे.फिसरले मदनपोखरामा आएर पटक—पटक वन संरक्षण अभियान र सामुदायिक कार्यका बारेमा कुराकानी गरेका छन् । मदनपोखराको सामुदायिक वन अभियानलाई शोधको विषय बनाएका छन् । ‘Villagers, Forests and Foresters: The Philosophy, Process and Practice of Community Forestry in Nepal' शीर्षकको शोधपत्रमा मदनपोखरा र यहाँका अगुवाहरूसँगको अन्तर्वार्तालाई मुख्य आधार बनाएका छन् । त्यो सोधमा सरकारी कानुन र वनरक्षक विना वन कसरी जोगियो ? भन्ने विषयमा नीतिगत र व्यवहारिक जिज्ञासा राखेको भेटिन्छ ।
नेपालका अधिकांश ठाउँमा वन विनाश भइरहेको थियो । तर मदनपोखरामा हरियाली बढाउने र वन संरक्षण गर्ने अभियान चलिरहेको र त्यसको नेतृत्व घण्टप्रसाद अर्यालले गरिरहेका रहेछन् । गाउँलेहरूको सहमतिमा वनसम्बन्धी नियम बनाएर लागू गरियो । त्यो मौखिक नियमलाई सिंगो समुदायले स्वीकृति दियो । नियम मिच्ने र उल्लंघन गर्नेलाई गाउँको बैठक बसेर आर्थिक जरिवाना गर्ने चलन चलाइयो । त्यसैलाई शोधकर्ताहरूले मदनपोखरामा ‘हामो वन, हाम्रै जीविकोपार्जन’ भावनाबाट प्रेरित गराएर विनाश भएको वनलाई संरक्षण र स्व–नियन्त्रण गरेको उल्लेख गरेका छन् । बिना बजेट र बिना प्रहरी चल्ने उत्कृष्ट निगरानी संयन्त्रलाई अनुसन्धानकर्ताहरूले ‘मौलिक सामाजिक थिति’ का रूपमा व्याख्या गरेका छन् । वन जोगाएर मात्र भएन, गाउँलेलाई घाँस, दाउरा, काठ र खेतीपातीका बेला झाँङ–किला चाहिन्छ, त्यो कसरी बराबरी बाँडिन्छ ? प्रश्न गरेका छन् । हरेक वर्ष निश्चित समय (सुख्खा याम) मा वन खुला गरेर सुकेका दाउरा घाँस संकलन गर्न दिने र समितिले वितरण गर्ने प्रणालीलाई वनको उपयोग र स्रोतको समान बाँडफाँडगर्ने विधिका रूपमा स्थापित गरिदिएको छ । जसले नेपालका अन्य ठाउँमा सामुदायिक वन उपभोक्ता समूह गठन र विस्तार गर्न प्रेरणा प्रदान ग¥यो ।
देशभरि वन फडाँनी र विनास भइरहेको थियो । वन विभाग र जिल्लास्थित वन कार्यालयलाई गाउँगाउँका वन नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । वन विभागका कर्मचारीले गाउँलेलाई चोर वा विनाशकारी मान्ने अवस्था थियो, गाउँलेले सरकारी अधिकारीको आँखा छल्ने परिपाटी थियो । त्यस्तो बेला मदनपोखरामा घण्टप्रसाद अर्यालको नेतृत्वले देखाएको मूलतः मूलगैरा वन संरक्षण र वन जोगाउने अभियानदूरदर्शी विचार र कदम बन्न पुगेको छ । मदनपोखराको वन अध्ययनका आधारमा गिलमोर र फिसरले भनेका छन्–‘वन रक्षकहरू प्रहरी वा हाकिम बनेर होइन, समुदायका सहजकर्ता बनेर खटिनुपर्छ ।’
पाल्पाका तत्कालीन वन अधिकृत जगदीशचन्द्र बराल (जिल्ला वन कार्यालय) ले अवकासपछि वन, समुदाय र म शीर्षकको पुस्तक लेखेका छन् । उक्त पुस्तकमा नेपालको सामुदायिक वनको इतिहास, विकास र स्थानीय समुदायको योगदानलाई प्रस्तुत गरिएको छ । त्यस पुस्तकमा समेत मदनपोखरा र यहाँका वन संरक्षण अभियन्ता घण्टप्रसाद अर्यालको प्रसङ्ग विशेष महत्वका साथ उल्लेख गरिएको छ । ‘नेपालमा सामुदायिक वन प्रणाली सफल हुनुमा केवल सरकारी नीति वा प्राविधिक ज्ञान मात्र नभई मदनपोखरा जस्ता गाउँ र घण्टप्रसाद अर्याल जस्ता निष्ठावान स्थानीय नेतृत्वको दूरदर्शिता, त्याग र समर्पण नै प्रमुख कारण थियो । विश्वभरका वातावरणविद्हरूका लागि यो अध्ययनको एउटा जीवित प्रयोगशाला हो ।’
मदनपोखराका घण्टप्रसाद अर्यालको वन जोगाउने शैलीबाट प्रभावित भएर सरकारले वन राष्ट्रियकरण ऐन २०१३ विस्थापित गर्दै वन ऐन २०४९ ल्यायो । वन नियमावली २०५१ जारी गरी समुदायलाई वन हस्तान्तरण गर्न थाल्यो । डा. गिलमोर र डा. फिसरले भनेका छन्–‘नेपालमा सामुदायिक वन सरकार वा विदेशी दातृनिकायले माथिबाट कार्यक्रम होइन । यो त मदनपोखरा जस्ता गाउँमा घण्टप्रसाद अर्याल जस्ता स्थानीय अगुवाहरूले आफ्नै आवश्यकता र चेतनाका आधारमा तलबाट माथि सुरु गरेको मौलिक अभ्यास हो । वन संरक्षण अभियान हो । जसलाई पछि सरकारले कानुन बनाएर स्वीकार गरेको हो ।’ स्थानीयस्तरमा मदनपोखरा जस्ता गाउँहरूले जोगाएको वन गर्दा नै आज नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु वित्त र कार्बन व्यापारमार्फत् लाभ लिन सक्ने स्थिति बनेको छ । यो मदनपोखराले विश्व समुदायलाई दिएको असाधारण ज्ञान हो । यो नै चेतना र जागरणका लागि घण्टप्रसाद अर्यालको प्रज्ञाध्वोतित विचार हो ।
निष्कर्षः
नेपालमा आज २२ हजारभन्दा धेरै सामुदायिक वनहरू समुदायलाई हस्तान्तरण भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सबैभन्दा धेरै उपभोक्ताहरू सदस्य भएको संयन्त्र बनेको छ । वन जोगाउने जिम्मा स्थानीय समुदायलाई दिँदा वन अझ बढी सुरक्षित हुन्छ भन्ने तथ्य आज नेपालले सामुदायिक वनको विश्वव्यापी मोडल भनेर सन्देश प्रवाह गरिरहेको छ । विश्वका विभिन्न विश्वविद्यालयमा स्थानीय नेतृत्व र सामाजिक परिवर्तन पढाउँदा मदनपोखराका घण्टप्रसाद अर्यालको प्रसङ्ग उदाहरणका रूपमा प्रस्तुत हुने गरेका छन् ।
मदनपोखरा प्राकृतिक रुपले रमणीय, सांस्कृतिक रुपले अतुलनीय र सामुदायिक भावनाका दृष्टिले बन्दनीय बनेको छ । नेपालकै नमुना र उदाहरणीय गाउँका रूपमा परिचित यसले विकासे र वन वातावरणका कार्यकर्ताहरूलाई दर्शनीय स्थलको संज्ञा दिएर निम्त्याइरहेको छ । मानवीय संवेदना बोकेका, जाली फट््याईंका विरुद्ध जुटेका, विभेदकारी चिन्तन फ्याँकेका र परस्पर मेलमिलापमा रमाएका बासिन्दाहरूको सद्भावले यो समाजलाई आज सुन्दर, शान्त र समृद्ध बनाएको छ ।
नेपालमा सामुदायिक वन प्रणाली विश्वमै सफल मानिने जनसहभागितामूलक नमूना हो, जसले स्थानीय समुदायलाई नै वन व्यवस्थापनको अधिकार सुम्पन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले निर्माण गरेका वन र वातावरणसम्बन्धी भिडियो डकुमेन्ट्री, रेडियो कार्यक्रम र फिचर लेखनमा घण्टप्रसाद अर्यालका भनाइहरू समावेश छन् । शोध, अध्ययन र अनुसन्धानको केन्द्रमा उनी छन् । यसरी मदनपोखराको अभ्यासलाई विश्वभरका वन वातावरण र विकासविद्हरूले पछ्याइरहेका छन् । संयुक्त राष्ट्रसंघले सन् २०१५ पछि मात्र तय गरेका दिगो विकासका लक्ष्यहरूका धेरै अवधारणाहरू मदनपोखराले दशकौँअघि अभ्यासमा ल्याइसकेको थियो । विश्वको एउटा सानो गाउँमा सोचेको र कार्यान्वयन गरेको सामुदायिक वनसम्बन्धी अवधारणाले घण्टप्रसाद अर्यालको शक्ति विश्वव्यापी बनिरहेको छ ।
वातावरणीय चेतना, सामाजिक जागरण र राजनीतिक निष्ठाका प्रतीक स्वर्गीय घण्टप्रसाद अर्यालको समाजसेवा र कार्यशैलीलाई नयाँ पुस्तासम्म पु¥याउनु नै उनीप्रतिको सच्चा सम्मान हो । उनले बालेको चेतनाको बत्ती र बजाएको जागरणको घण्ट निरन्तर गुञ्जिरहोस् ।




