गोविन्द भट्टराई
घण्टप्रसाद अर्यालका केही कमिकमजोरी थिए, तर अधिकांश असल कर्मका कारण उहाँ धेरैका प्रिय व्यक्तित्व बन्न सफल हुनुभयो । पाल्पा मदनपोखराका अर्यालबारे केही लेखिपठाउन दैनिक लुम्बिनीका सम्पादकको आग्रह पछि घोत्लदै थिएँ । “उल्लुका घण्ट सज्जनका प्रसाद” शीर्षकमा निकै पहिले पंक्तिकारको फिचर दृष्टि साप्ताहिकमा प्रकाशित भएको साथी लक्ष्मण देवकोटाले सम्झाउनुभयो । कुनैबेला उहाँको नाम सुनेरै धेरैले पुराना प्रगतिशील त कतिले समाजसुधारक व्यक्तित्व भनेर तारिफ गर्दथे । मदनपोखरामा जन्मेर समाजमा व्याप्त विकृति, विसंगतिविरुद्ध आवाज उठाउने घण्टप्रसादको नश्वर देह अब रहेन । घर–घरमा गोरु पालेर हलीका भरमा खेती गर्ने अनि बाहुन भएकै कारण हलो जोत्न हुँदैन भन्थ्यो, समाजले । छोइछिटो प्रथा जीवित थियो । आलोचनाका बाबजुद हाल तानसेन नगरपालिकाको वडा नम्बर ८, मदनपोखरा तथा पुरानो मदनपोखरा गाउँपञ्चायत वडा नम्बर ९ निवासी घण्टप्रसाद अर्यालले परम्परागत मूल्य, मान्यतालाई चुनौती दिँदै हलो जोत्न सुरु गर्नुभयो । मानिस मानिसमा के को छुवाछुत ? भनेर विद्रोह गर्नुभयो ।

हाल तानसेन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सोमनाथ अर्यालका अनुसार, सामन्ती संस्कारको विरोधस्वरुप बाहुनहरूलाई मदनपोखरा, माडीफाँटमा लगेर हलो जोत्ने अभियान थाल्नुभएका घण्टप्रसाद अर्यालले जुनकुनै आफ्नो काम आफैँ गर्नुपर्छ भनेर काम गर्न उत्प्रेरित गर्नुहुन्थ्यो । बाहुनले हलो जोतेकै कारण अर्यालको परिवारले अनेकन सामाजिक समस्या भोग्नुपरेको थियो । २००५ सालदेखि नेपाली कांग्रेसमा आबद्ध घण्टप्रसाद २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको बताइन्छ । कांग्रेस नेता काशीनाथ गौतम (घर अर्घाखाँची) त्यसबेला केही समय मदनपोखरालाई आधार बनाएर राजनीतिमा क्रियाशील रहेकै बखत घण्टप्रसादसँग कुराकानी हुने गरेको थियो ।
सामन्ती प्रणालीको विरोधी घण्टप्रसादले तमसुक च्यात्ने अभियान अगाडि बढाउनुका साथै तत्कालीन भकारी प्रथाको विरोध गर्नुभयो । आफूलाई तत्कालीन सत्ताले विभिन्न वहानामा ११ पटक जेल हालेको सन्दर्भ उहाँले सुनाउनुहुन्थ्यो । राणाकालीन कुरितीविरुद्ध होस् वा पञ्चायती ज्यादती र हरप्रकारका सामाजिक शोषणकाविरुद्ध घण्टप्रसाद अग्रमोर्चामा रहनुभएको तानसेन नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल बताउँनुहुन्छ । राजेशकुमार अर्याल घण्टप्रसादबारे अगाडि भन्नुहुन्छ–“सामाजिक क्षेत्रमा विकास निर्माणका अभियानमा आफैँ अग्रसर हुने स्वभाव थियो, उहाँको । विकास वा प्रविधिबारे नयाँ कुरा सुनेपछि पारख गर्नुहुन्थ्यो । उन्नत कृषि, सामुदायिक वन संरक्षण, फलफूल रोप्ने होस् वा अन्य क्षेत्रमा उहाँले समाजमा अगुवाई गर्नुभयो । आफू साक्षर मात्रै भएर पनि शिक्षाका लागि मदनपोखराको शारदा विद्यालय तथा अन्य संस्था स्थापना गर्ने काममा उहाँ लाग्नुभयो ।” २००७ मा राणाशासन विरोधी आन्दोलनका क्रममा तानसेन शीतलपाटीमा भएको जुलुसको आफूले अगुवाइ गरेको बताउने घण्टप्रसाद अर्याल त्यसपछिका राजनीतिक आन्दोलनमा समेत खट्नुभयो । कम्युनिष्ट पार्टीको पक्षमा निरन्तर लागेका अर्यालले मदनपोखरामा आधुनिक कृषि, शिक्षा, विद्युत्, स्वास्थ्यलगायत पूर्वाधार विकासका क्षेत्रमा यथासक्य योगदान गरेको गाउँसमाजका अगुवामाझ चर्चा हुने गर्दछ ।
वि.सं. २०१८ मा निर्वाचित भएर तथा २०२१ मा निर्विरोध ढंगले मदनपोखरा गाउँपञ्चायतको प्रधानपञ्च चुनिएर उहाँले प्रगतिशील ढंगले समाजमा आफ्नो प्रभाव छाड्न सफल हुनुभएको थियो । असल कर्मका बलमा राजनीतिक तथा सामाजिक व्यक्तित्व बनाउनुभएका घण्टप्रसाद अर्यालले सीमित साधनस्रोतकाबिच गाउँलेका समस्या र आवश्यकता सम्बोधन गर्ने कोशिश गर्नुभएको बताइन्छ ।
मामाघर मदनपोखरा बसेर घण्टप्रसाद अर्यालले स्थापना गरेको शारदा माध्यमिक विद्यालयबाटै एसएसली उत्तीर्ण हाल नेपाली कांग्रेस पाल्पाका उप–सभापति झपेन्द्र गहिरे पुराना घटना सम्झँदै यसो भन्नुहुन्छ–“जातभातविरुद्ध आवाज उठाउने, बाहुनले पनि हलो जोत्न हुन्छ भनेर अभियान थाल्ने अनि २०३६ ताका बहुदलको पक्षमा भएको आन्दोलनमा समाज र विद्यालयका सबैलाई उतार्ने काममा उहाँको सशक्त नेतृत्व रहेको थियो । उहाँ राजनीतिक व्यक्तित्व मात्रै नभई सामाजिक अभियन्ता समेत हुनुहुन्थ्यो । ४ वर्ष म उहाँकै घरनजिक रहेको मेरो मावलीघर बसेर शारदा विद्यालयमा पढें । उहाँको साथी भोजराज पंगेनी (विचारी बुवा)को नाति हुनाले अर्यालले पनि मलाई नाति भन्नुहुन्थ्यो । आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने भावना थियो अर्याल बुवामा । त्यसबेला सोमनाथ अर्याल, एकप्रसाद भण्डारी, झपेन्द्र जीसी, प्रेमनाथ बस्याल, हिरा नेपाल लगायतसँग भेट हुन्थ्यो । मलाई धेरैले भाञ्जाबाबु भनेर माया गर्नुहुन्थ्यो ।”
घण्टप्रसाद अर्यालबारे धेरैले सुनेका हुनाले मदनपोखरा पुग्ने जो कोही उहाँसँग भेटेर, उहाँका कुरा सुनेर नतमस्तक हुन्थे । विगतका कष्टप्रद दिनमा उहाँले निर्वाह गर्नुभएको सामाजिक तथा राजनीतिक भूमिकाले धेरै प्रभावित हुन्थे । पर्वतमा गुरुकुलमा बसेर साथै घरमै स्वअध्ययन बाहेक औपचारिक शिक्षाको अवसर नपाए पनि सामाजिक तथा राजनीतिक जिम्मेवारीबाट घण्टप्रसाद कहिल्यै भाग्नुभएन भन्नुहुन्छ राजेशकुमार अर्याल । राजनीतिसँग नजिकको साइनो रहे पनि शिक्षा, स्वास्थ्य, कृषि, विकास तथा प्रविधिका माध्यमबाट समाज सुधारका कार्यमा घण्टप्रसाद निरन्तर अग्रपंक्तिमा रहेर योगदान गर्नुभएको सोमनाथ अर्याल बताउँनुहुन्छ ।
घण्टप्रसाद अर्यालबारे पत्रकार लक्ष्मण देवकोटा लेख्नुहुन्छ–“उहाँको जीवन राणा शासन तथा शोषण विरुद्ध, पञ्चायती ज्यादतीविरुद्ध सधैँ परिवर्तन तथा विकासको पक्षमा सामाजिक सचेतनाका संवाहकका रुपमा व्यतित भएको पाइन्छ । घण्टप्रसाद विकासका अगुवा र सामाजिक सुधारका पक्षधर हुनुहुन्थ्यो ।” २०८३ साउन २२ घण्टप्रसाद अर्यालको निधन भयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घण्टप्रसाद अर्यालका आफन्तलाई फोनमार्फत् योगदान स्मरण गर्दै समवेदना प्रकट गर्नुभयोे । घण्टप्रसादको कर्म सम्झिँदै सामाजिक सञ्जालमा ओलीले लेख्नुभएको थियो–“पाल्पाको मदनपोखरालाई देशभर नमुना गाउँका रूपमा विशिष्ट पहिचान दिलाउने अभियानका अगुवा घण्टप्रसाद अर्यालको ९९ वर्षको उमेरमा निधन भएको खबरले मर्माहत बनाएको छ । उहाँले राजनीतिक, सामाजिक र शैक्षिक अभियानहरूमार्फत् गाउँलाई एकताबद्ध बनाएर परिवर्तनको बाटोमा हिँडाउने, मदनपोखरालाई आधुनिक विकासको मार्गमा अघि बढाउन महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो । ...” ९९ वर्ष बाँच्नुभएका घण्टप्रसाद अर्यालको जीवनबाट नयाँ पुस्ताले कुरा होईन कामले मात्रै समाज सप्रन्छ भन्ने शिक्षा लिन सक्ने शैक्षिक अभियन्ता राधाकृष्ण शर्माको ठम्याइ छ ।




