झपेन्द्र जिसी
(विश्व सर्वहारा आन्दोलनका प्रणेनेता कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्र जारी गर्नुभयो । सो घोषणापत्र जारी भएपछि दर्शनका क्षेत्रमा, राजनीतिक क्षेत्रमा र सामाजिक रूपान्तरणका क्षेत्रमा ठूलो हलचल आयो । यसरी माक्र्स एंगेल्स र सो घोषणापत्र युगान्तकारी भए । त्यसरी नै माक्र्स एंगेल्सको द्वन्द्वात्मक भौतिकवाद, अर्थशास्त्र र समाजवादी चिन्तनबाट अविप्रेरित भई कमरेड पुष्पलालको अगुवाइमा २२ अप्रिल १९४९ मा कलकत्ता श्याम बजारस्थित नविन सरकार लेन २८ स्थित रतनलालको घरमा पुष्पलाल महासचिव र सदस्यहरू मोतीदेवी श्रेष्ठ, निरंजन गोविन्द बैद्य, नरबहादुर कर्माचार्यसमेत ६ जना रहेको कमिटी गठन भयो । यसले नेपालको सामाजिक रूपान्तरणका लागि सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद, जहाँनियाँ राणातन्त्रको अन्त्य र अध्ययन अनुन्धानमा नविनतासमेत ल्यायो । यो पनि नेपालको सम्बन्धमा हलचल नै थियो ।
आज हाम्रो देश नेपालमा ८० प्रतिशतभन्दा बढी जनताको समर्थन प्राप्त दुई तिहाइ बहुमतको सङ्घीय सरकार, एउटा प्रदेश बाहेक ६ वटा प्रदेशमा प्रदेश सरकार, ७५३+७७ स्थानीय सरकारमध्ये बहुसङ्ख्यक जिल्ला, नगरपालिका र गाउँपालिकाहरूमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारहरू हाँकिरहेको छ भन्न पाउँदा गौरवको अनुभूति हुन्छ । समृद्ध नेपाल र सुखी नेपाली जनता बनाउने उद्घोषका साथ समाजवादी लक्ष्यप्रति प्रतिबद्ध गौरवशाली नेपाल कम्युनिष्ट पार्टीको स्थापना भने २२ अप्रिल १९४९ (२००६ बैशाख ९ गते) नेपाल भूमिदेखि धेरै पर कलकत्ताको श्याम बजार नवीन सरकार लेन २८ मा अवस्थित पाल्पा अर्गलीबाट बसाइसराइँ गरी पश्चिम बंगाल पुगेका रतनलाल ब्राह्मणको घरमा गुप्त रूपमा गर्नु परेको थियो । निरङ्कुश राणा पारिवारिकतन्त्र र राजतन्त्र समेतको अन्त्य गरी नेपालमा समाजवादी व्यवस्था स्थापना गर्ने महत्तम लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्न अगुवाइ गर्ने ती महान् व्यक्तित्व हुनु हुन्थ्यो महासचिव कमरेड पुष्पलाल र सदस्य कमरेडहरू नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलाश जोशी र मोतीदेवी श्रेष्ठ (दुर्गादेवी) अफसोस ! संस्थापक कमरेडहरू यस धर्तीबाट महाप्रस्थान गरिसक्नु भएको छ, तर उहाँहरूले स्थापना गर्नु भएको नेकपा र अगाडि सार्नु भएको क्रान्तिकारी विचार, सिद्धान्त र सङ्गठन हामीसँग विराशतका रूपमा रहेका छन् । ती महान् व्यक्तित्वहरूमध्ये पार्टी स्थापना र विचार, सिद्धान्त निर्माणमा प्रमुख अगुवाइ गर्ने महासचिव कमरेड पुष्पलालको देहावसान (२०३५ साउन ७ गते) भएको पनि ४० वर्ष भैसकेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक, सिद्धान्तकार एवम् नेपाली समाजका माक्र्सवादी अध्ययेता कमरेड पुष्पलालका साथसाथै सबै संस्थापक कमरेडहरूप्रति हार्दिक सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दछु ।
कमरेड पुष्पलालको सङ्क्षिप्त जीवनी र राजनीतिक विकासको क्रम :
बाबु भक्तलाल श्रेष्ठ र आमा तुलसी माया श्रेष्ठको कोखबाट (बाबुको जागिरको सिलसिलामा) रामेछाप भँगेरीमा रहेको बेला वि.सं. १९८१ साल आषाढ १५ गते पुष्पलालको जन्म भएको हो । दरबार हाइस्कुलबाट मेटिूक पास गरेपछि बनारसको हरिशचन्द्र कलेजमा उच्च शिक्षाका लागि भर्ना भए पनि राजनीतिक व्यस्तताका कारण उहाँले कलेजको अध्ययनलाई निरन्तरता दिन सक्नु भएन । अत्यन्त मेधावी पुष्पलालले स्वअध्ययनबाट राजनीति, अर्थशास्त्र, माक्र्सवाद विश्व इतिहास र नेपाली समाजको गहिरो अध्ययन गरेर आफूलाई माक्र्सवादको मात्र नभई बहुविषयका ज्ञाता र विश्लेषक र उच्च कोटिको विद्वानको श्रेणीमा स्थापित गर्न सफल हुनु भएको पाइन्छ । नेपाली क्रान्तिका सिद्धान्तकार, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलाल एउटा कुशल लेखक, अनुसन्धाता र सबै खाले निरङ्कुशताहरू सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवाद, रङ्ग भेदभाद, जातीय विभेद र लैङ्गिक विभेदका विरुद्ध प्रखर प्रवक्ता र इतिहास पुरूषका रूपमा चिनिनु हुन्छ । १९९३ साल जेठ २० गते टङ्कप्रसाद आचार्यको नेतृत्वमा स्थापित र सञ्चालित नेपाल प्रजा परिषद्ले जहाँनियाँ राणातन्त्रका विरुद्ध प्रचार अभियान थालेपछि १९९७ सालमा शासक वर्गले आफ्ना दाजु गंगालाल श्रेष्ठसहित शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द्र समेतलाई फाँसीमा लट्काएर तथा गोली ठोकेर हत्या गरेपछि दाजुको रगतले स्वभावैले उहाँलाई राजनीतिमा संलग्न हुन प्रेरित ग¥यो । फलतः प्रेमबहादुर कंसाकार, सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ, पुष्पलाल समेतले एउटा दल गठन गर्नु भयो । त्यो दलको नाम थियो, प्रजातन्त्र संघ । महाकवि लक्ष्मीप्रसाद देवकोटा लिखित पहाडी पुकारको गीतको देहायको अंशलाई परेड गीत बनाइयो ः
“पहाड पर्व खोला नाला जग्गा जमिन सबको
मालिक हामी दास बनौँ किन ?
हिस्सा सबमा सबको
नाश गरौँ यो राणा शाही
ध्वस्त गरौँ यो तानाशाही
जाऔं क्रान्ति गरौँ अब क्रान्ति गरौँ ।
आपसमा सम्बोधन गर्दा कमरेड र अभिवादन गर्दा लालसलाम पनि तदुपरान्त सुरु भयो । राणाशाही आन्दोलनका विरोधी माक्र्सवादी साहित्य समेतको अध्ययन सुरु गरेका पुष्पलाल पश्चिम बंगालका रतनलाल ब्राह्मण, गणेशलाल सुब्बा र सुशील चटर्जी जस्ता कम्युनिष्ट नेताहरूको सम्पर्कबाट कम्युनिष्ट बन्न प्रेरित भएको पाइन्छ । समयको गतिसँगै २५ जनवरी १९४७ मा कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको जन्म भएपछि त्यसले राणाशाही विरोधी आन्दोलन गर्ने घोषणा गरेपछि २००४ (१९४७) मा विराटनगरमा मजदुर हड्ताल हुन्छ, जसमा मनमोहन, विश्वेश्वर कोइराला, गिरीजाप्रसाद कोइराला, बालचन्द्र शर्मालगायत गिरफ्तार हुन्छन् । यसै सिलसिलामा राजबन्दीहरूलाई रिहा गर र राणाशाही मुर्दाको नाराका साथ काठमाडौं उपत्यकाका तिनै जिल्लामा १३ अप्रिल १९४७ (२००४) मा भएको आन्दोलनमा पुष्पलाल, हिकमत सिंह, शम्भुराम, नारायण विलाश, नरबहादुर कर्माचार्य, देवेन्द्रलाल, तिलक शाही, स्नेहलता कनकलता, साधनाप्रधान, सहानाप्रधान आदि २७ जनाले अगुवाइ गरेका पाइन्छ । नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको थिएन । त्यसैले कम्युनिष्ट मनधारीहरू (पुष्पलालको भाषामा) नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित भइ काम गर्दै थिए । नेपाल राष्ट्रिय कांग्रेसको दोस्रो महाधिवेशनले सभापतिमा दिल्लीरमण रेग्मी महामन्त्रीमा प्रेमबहादुर कंसाकार र मन्त्री कार्यालय सचिवमा पुष्पलाललाई निर्वाचन गरेको थियो । यतिञ्जेल पुष्पलालले माक्र्स एङ्ग्लेसद्वारा प्रतिपादित विश्व कम्युनिष्ट घोषणा पत्र नेपालीमा अनुवाद गरिसक्नु भएको थियो । एकदिन राममनोहर लोहियासँग भेट हुँदा भारतमा पार्टीहरू पनि धेरै छन्, र नेताहरू पनि धेरै हुन्, तर गान्धी सर्वमान्य नेता हुन्, त्यस्तै नेपालमा पनि बी.पी. लाई सर्वमान्य नेताको रूपमा स्वीकार्नु पर्छ भनेछन् । त्यसको प्रत्युत्तरमा पुष्पलालले “नेता प्रधान नभइ नीति प्रधान हुनुपर्छ” भन्ने मान्यतालाई अगाडि बढाएका हुन् । यसरी नै मन्त्रीको हैसियतले “नागरिक तथा राजनीतिक” विषयक विचार गोष्ठीमा जानु पर्ने थियो । पुष्पलालले पार्टीका नेता दिल्लीरमण रेग्मीसँग यस विषयमा कसरी बोल्ने के बोल्ने भनेर सोधनी गर्दा रेग्मीजीले भनेछन्–त्यो बुझ्नका लागि ठूलो दिमाग चाहिन्छ बी.ए. एम. ए. हुनुपर्छ । तदुपरान्त पुष्पलालले वर्गीय समाजमा वर्ग पक्षधर पार्टी चाहिन्छ, सिद्धान्त चाहिन्छ । पुँजीवादी पार्टी र पुँजीवादी नेताहरूबाट गरिब मजदुर किसान सर्वहारा सुकुम्बासी, मध्यम वर्गीय समुदाय, देशभक्तहरूको हित हुन सक्दैन । उनीहरूबाट नेपाली जनताको मुक्ति सम्भव छैन भन्ने निचोडमा पुगेको आफैँले लेख्नु भएको छ । यसरी नै उहाँ भन्नुहुन्छ–रेग्मीसँग मैले राखेको प्रश्नको उत्तर के हो ? नागरिक अधिकार र के हो राजनीतिक अधिकार ? भन्ने विषयमा “कम्युनिष्ट घोषणा पत्र” र लेनिनको “गाउँका गरिब किसान”बाट प्रष्ट भएँ ।
उहाँ भन्नुहुन्छ –“अहिले सबैले बुझ्नुपर्ने मुख्य कुरा यही हो कि नेता प्रधान नभइ नीति प्रधान हुन्छ र पैसा प्रधान नभइ राजनीतिक नै हमेशा प्रधान हुन्छ ।” विश्वेश्वर तथा रेग्मीले आफ्नो वर्गीय राजनीतिक स्वार्थ सिद्धिका लागि गरेका कामको सम्बन्धमा पुष्पलालको भनाइ छ– “विश्वेश्वरले के भने र रेग्मीले के भन्दैछन् मेरा लागि महत्वको विषय होइन सबभन्दा महत्वको कुरा त के हो भने देशका पुँजीवादी वर्गका नेताहरू सर्वहारा वर्गीय राजनीतिक खेल खेल्न असमर्थ छन् र जातीय तथा साम्प्रदायिक कुटनैतिक तथा दबाबको मात्र राजनीति खेल्न सक्दछन् ।” यिनै निष्कर्षका साथ राजनीतिका यात्रामा अघि बढेका पुष्पलालले नेकपाको स्थापना, नेपाली समाजको वर्गीय चरित्र, नेपाली राष्ट्रले बेहोर्ने परेको अद्र्ध सामन्ती र अर्धऔनिवेशिक अवस्था, नेपाली समाजको प्रधान अन्तविरोध, नेपाली जनताको प्रधान दुश्मन राणातन्त्र तथा राजतन्त्र, ती सबैलाई आड भरोसा दिने साम्राज्यवादी तथा विदेशी शक्तिहरू ती सबैको समूल अन्त्य गरी र नयाँ जनवादी क्रान्तिको आवश्यकता, महत्व र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न आवश्यक पर्ने रणनीति र कार्यनीतिहरूका बारेमा आफ्ना दस्ताबेजहरूमार्फत् प्रष्ट पार्नु भएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक र आदि सिद्धान्तकार कमरेड पुष्पलाल एक अमर व्यक्तित्वका रूपमा रहनु भएको छ । २०१० सालमा सहाना प्रधानसँग वैवाहिक सम्बन्धमा बाँधिएका पुष्पलाल एक छोरा प्रकाश मात्र भएको पाइन्छ । उहाँको निजी पारिवारिक जीवन रहेन । अविश्रान्त योद्धा पुष्पलालको जीवन सधैँ सार्वजनिक र राजनीतिक रहेको हुँदा जन्मदेखि मृत्यु पर्यन्त झण्डै ५४ वर्ष २२ दिनको सिङ्गो जीवन नै उहाँको राजनीतिक जीवन हो । निर्वासित भूमिगत र कष्टकर जीवन संघर्ष गरेका पुष्पलालको अन्तिम लक्ष्य राजतन्त्रको अन्त्य र जनवादी गणतन्त्र (लोकतान्त्रिक गणतन्त्र)को स्थापना र नेपाली जनताको मुक्ति र राष्ट्रिय स्वाधीनता नै हो भनेर बुझ्दा राम्रो होला ।
४. नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान
४.१ नेपाल कम्युनिष्ट पार्टी स्थापनाको प्रेरम तत्वहरू
– साम्राज्यवाद विस्तारवाद, प्रभुत्ववाद, रङ्ग भेदवाद विरोधी आन्दोलन विश्वव्यापी रूपमा उठ्नु
– ब्रिटिस साम्राज्यवाद विरुद्ध विश्वव्यापी विद्रोह सुरु हुनु
– अक्टोबर सोवियत समाजवादी क्रान्तिले विश्वव्यापी रूपमा सशक्त प्रभाव पार्नु
– भारतीय कम्युनिष्ट पार्टीहरू र तिनका नेताहरूको प्रभाव नेपाली युवाहरू पुष्पलाल आदिमा गहिरोसँग पर्नु ।
– चिनियाँ जनवादी क्रान्तिको प्रभाव पर्नु ।
– ब्रिटिस औपनिवेशिक शासन भारतमा डगमग हुँदा राणा शासकहरू पनि क्रमशः कमजोर हुँदै जानु
– भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले माक्र्सवादी अध्ययन मण्डल गठन गरी अध्ययनमा जुट्नु
– १९९७ सालको सहिद काण्डले नेपाली युवाहरू विशेष गरी पुष्पलाल, मनमोहन शम्भुराम आदिलाई प्रभावित पार्नु
– पुँजीवादी सुधारवादी नेपाली कांग्रेसका नेताहरूले क्रान्तिका सम्बन्धमा गरेका र भनेका विश्लेषणहरू यथास्थितिवादका पक्षधर हुनु
– पुष्पलालद्वारा विश्व कम्युनिष्ट घोषणा पत्र नेपाली भाषामा अनुवाद र प्रकाशित हुनु
– युवाहरू माक्र्सवाद लेनिनवादतर्फ आकर्षित हुनु ।
– असङ्गठित कम्युनिष्ट मनधारीहरूलाई सङ्गठित गर्न नेकपाको आवश्यकता महशुस हुनु ।
– इण्डिया, ब्रिटिस सेनामा कार्यरत नेपालीहरू क्रान्तितर्फ आकर्षित हुनु ।
४.२ नेपाल कम्युनिष्ट पार्टीको स्थापना
लेनिन दिवसको अवसर पारेर २२ अप्रिल १९४९ (२००६ बैशाख ९)मा नेकपाको स्थापना भयो । पार्टी स्थापनाको पूर्व सन्ध्यतामा भारतीय माक्र्सवादी पार्टीका नेता नृपेन्द्र चक्रवर्तीसँग पनि सल्लाह भएको थियो । पार्टीका दस्ताबेज प्रकाशन गर्न केही रकम सापट माग्दा चक्रवर्तीले भनेका थिए हेर्नुहोस् पुष्पलाल जी केही हजार रुपैयाँ लिनु ठुलो कुरा होइन, हामीले सापट दिएको पैसा फिर्ता लिँदैनो, तर नेपाली जनता तपाईंको पार्टीलाई हुर्काउन बढाउन सक्षम भने पार्टी स्थापनाको कुनै अर्थ छैन । पुष्पलालले आफ्नो पार्टी आफैँ नेपाली जनताको सहभागितामा सञ्चालन गर्ने गरी स्थापना गर्नु भएको प्रसङ्ग मननीय छ ।
२२ अप्रिलमा गठित पार्टीको पर्चा २५ अप्रिल (२००६ बैशाख १२ गते पर्चा नं. १ (क) सङ्गठक समिति नेपाल कम्युनिष्ट पार्टीको पर्चा जस्तैको तस्तै(नेपाली राष्ट्रिय कांग्रेसलाई नेहरूले आफ्नो दलाल बनाउने निश्चय गरेको बुझिन्छ । यसकारण क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टी नेपालमा देखा नपर्दै यी कांग्रेसीहरू तँछाडमछाड गर्दै कम्युनिष्टको डर देखाइ राणासँग सम्झौता गर्न अगाडि बढे । विश्वेश्वर कोइराला काठमाडौंमा गइ प्रधानमन्त्री मोहन शमशेरलाई यही बेहोरा बिन्ती चढाए । यस्तासँग एकदम सावधान ! याद गर ! सामन्तवादी समाज र शासन व्यवस्था नेपालमा रहेसम्म एकाध वकुल्ला भगते नेताहरू नेपालको शासनमा छानिएर जनताको दुःख कष्ट कम हुँदैन । यो त क्रान्तिकारी जनतालाई भूलमा पार्ने तरिका मात्र हो । अतएव हाम्रो नारा हुनुपर्छ(राणाहरूसँग सम्झौता होइन क्रान्ति ! क्रान्ति ! क्रान्ति !!!
क्रान्तिको उद्देश्य माथि प्रकाश पार्दै अपीलमा भनिएको छ (
‘सामन्ती शासन व्यवस्थालाई चकानाचुर गर । विदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको प्रभाव र घेरादेखि अलग होऊ । मजदुर किसानको शासन खडा गर । यस शासनमा धनी साम्राज्यवादी र प्रतिक्रियावादीका दलालहरू बाहेक सबै शोषित जनतालाई हिस्सा देऊ । सोभियत रूस, दक्षिण पूर्व युरोपका नव प्रजातन्त्रहरू र आजाद चीनसँग राजनीतिक सम्बन्ध खडा गर । समाजवादको लक्ष्य राखी शासन चलाऊ । यसैलाई नव प्रजातन्त्र ९ल्भध म्झयअचबअथ० भन्दछन् । अतएव नव प्रजातन्त्र जिन्दावाद ! पुष्पलालद्वारा अग्रसरित क्रान्तिको कार्यक्रम र दिशा अत्यन्त स्पष्ट भएको यसरी पनि देखिन्छ । स्मरणीय छ २००७ सालको राणा शासन विरोधी आन्दोलनमा नेकपा नेपाली जनता क्रियाशील हुँदाहुँदै राजा, राणा र कांग्रेसका बीचमा सम्झौता भइ उनै राणा प्रधानमन्त्री मोहन शमशेरको नेतृत्वमा कांग्रेससहितको सरकार बन्यो । राणा शासन सत्ता त गयो तर क्रान्ति अधुरो रह्यो ।
४.३ प्रथम सम्मेलन र पुष्पलाल
सन् १९५१ सेप्टेम्बर (२००८) मा प्रथम सम्मेलन कलकत्तामा भयो र सम्मेलनले सङ्ठनका क्षेत्रमा, र २००७ सालको अधुरो क्रान्ति पूरा गर्न देहाय बमोजिमको निर्णय ग¥यो ।
– कमरेडहरू मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्र कुमार उपाध्याय, अयोध्या सिंह, हिकमत सिंह, डी.पी अधिकारीलगायतलाई केन्द्रीय समितिमा समावेश गरियो ।
– कलकत्ताबाट नेकपाको कार्यालयलाई काठमाडौं सार्ने निर्णय भयो ।
– राष्ट्रिय संयुक्त मोर्चा निर्माण गरी अधुरो क्रान्तिलाई पूरा गर्ने निर्णय भयो ।
– सोही बमोजिम कमरेड पुष्पलालद्वारा १९५१ नोभेम्बरमा राष्ट्रिय संयुक्त मोर्चाको कार्यालय काठमाडौंमा उद्घाटन भयो । संयुक्त मोर्चामा नेकपा, नेपाल प्रजा परिषद्, अखिल नेपाल टे«ड युनियन कांग्रेस, अखिल नेपाल महिला संघ अनेराविफे, नेपाल प्रगतिशील अध्ययन मण्डल, नेपाल प्रगतिशील लेखक सङ्घ नेपाली शान्ति समाज आदि थिए । पुष्पलालले मोर्चाको घोषणा पत्र तयार गर्नु भएको थियो, जसको सार यस्तो छ– ‘हाम्रो संयुक्त मोर्चाको ध्येय नेपालमा मजदुर किसान, मध्यम वर्ग र राष्ट्रिय (जातीय) पूँजीपतिहरूलाई प्रतिनिधित्व गर्ने सच्चा जनवादी तन्त्रको पूर्णजनवादी सरकार कायम गर्नु हो ।’
– यसरी नेतृत्व गर्दा गर्दै २००९ सालमा बसेको पोलिटव्युरो बैठकले क. पुष्पलाललाई हटाएर महासचिवमा क. मनमोहनलाई चयन गरे पनि वैचारिक नेतृत्व भने क. पुष्पलालले नै गर्नु भयो । स्मरणीय छ, राष्ट्रिय संयुक्त मोर्चाले जनआवाज बुलन्द गरेपछि २००८ साल माघ १० मा नेक. पार्टी माथि नेपाली कांग्रेसका मातृका सरकारले प्रतिबन्ध लगायो २०१४ साल बैशाख ४ सम्म नेकपा प्रतिबन्धित रह्यो ।
यस बीचमा जनवर्गीय सङ्गठनहरू विशेष गरी अखिल नेपाल किसान संघको अगुवाइमा पार्टीका गतिविधिहरूलाई अगाडि बढाउँदै फटाहा विरोधी आन्दोलनहरू भए ।
४.४ राष्ट्रिय महाधिवेशन र सम्मेलनहरूमा पुष्पलाल
२०१० मा प्रथम राष्ट्रिय महाधिवेशनमा महासचिव मनमोहन अधिकारीले प्रस्तुत गरेको वैधानिक राजतन्त्रको कार्यक्रमलाई पुष्पलालले विरोध गर्दै भन्नु भयो–‘राजाले राणाशाहीबाट सत्ता आफ्नो हातमा लिनु राणा विरोधी आन्दोलनमा साथ दिएका हुन्, मजदूर किसान जनतालाई अधिकार हस्तान्तरण गर्न होइन ।’ महाधिवेशनले मनमोहनलाई महासचिवमा निर्वाचन गरे पनि मनमोहन स्वास्थ्य उपचार गर्न चीन गएपछि महासचिवको पद डा. केशरजङ्गले हात पारे । तदुपरान्त राजवादीको हात नेतृत्वमा माथि प¥यो ।
४.५ २०१४ सालमा नेकपा को दोस्रो महाधिवेशन भयो । केशरजङ्ग रायमाझीद्वारा प्रस्तुत राजावादी नीति तथा कार्यक्रमका विरुद्ध क. पुष्पलालद्वारा प्रस्तुत नयाँ जनवादी कार्यक्रमलाई महाधिवेशनले पारित ग¥यो । तर आफ्नो कार्यक्रम फेल भए पनि रायमाझी र रायमाझी पक्षकै नेतृत्वमा बहुमत हावी भयो । निर्वाचनद्वारा निर्मित संविधान सभाले संविधान निर्माण गर्ने भनेर राजा त्रिभुवनले २००७ सालमा घोषणा गरे पनि त्यो काम पूरा नभएकोले सबै पार्टीले भद्र अवज्ञा आन्दोलनमा भाग लिए तर राजा महेन्द्रले संसदको निर्वाचन गर्ने कार्ड फ्याँकेपछि नेकाले भद्र अवज्ञा आन्दोलनलाई स्थगित गरी निर्वाचन तिर लग्यो । राजाको ललिपपमा फसेको कांग्रेसको सम्झौता परस्त नीति र व्यवहारको पुष्पलालको अगुवाइमा विरोध भयो ।
४.६ संसदीय निर्वाचन र पुष्पलाल :
नखाऊँ भने दिन भरिको सिकार खाऊँ त भने कान्छा बाउको अनुहार भनेझैँ आफैँले संघर्ष गरेर ल्याएको एउटा अवसर भएकोले नेकपाले २०१५ सालको निर्वाचनमा सहभागी भयो । पुष्पलाल काठमाडौंबाट निर्वाचनमा झिनोमतले पराजित भए पनि पाल्पाबाट कमलराज रेग्मी पाटनबाट तुलसीलाई अमात्य रौतहटबाट २ जनासमेत गरी कम्युनिष्ट पार्टीका तर्फबाट ४ जना विजय भए । राजतन्त्रले संसदीय व्यवस्थाप्रति अशुभ संकेतहरू देखाउँदै थियो । देशव्यापी भ्रमण गरेर षड्यन्त्रको तानावाना बुनिरहेको राजाका गतिविधिप्रति सतर्क हुँदै राजनीतिक पार्टीहरू यसका विरुद्ध सर्तकताका साथ संघर्ष गर्न पुष्पलालले पार्टीको तर्फबाट गर्नु भएको अपिलमा भनिएको थियो, तर दुई तिहाइको दम्मले दङ्ग भएको कांग्रेसले वास्ता गरेन । फलतः२०१७ पौष १ गते राजाले संसद र सरकारको विघटन गर्दै दलहरू माथि प्रतिबन्ध लगाए । डा. केशर जङ्ग रायमाझीले राजाको कदमको स्वागत गरे । तर कमरेड पुष्पललाले विघटित संसदको पुनस्र्थापना र संसदको पुनः स्थापनाको संयुक्तमार्फत् विघटित राजन अधिकारको वहालीका निम्ति आन्दोलनको आह्वानका साथ शाही काण्डको विरोध गर्नुभयो ।
४.८ दरभङ्गा प्लेनम र पुष्पलाल
२०१७ साल फाल्गुणमा दरभङ्गामा नेकपाको प्लेनम भयो । राजनीतिक विवादका कारण बैठक एक महिनासम्म चल्यो । क. मोहनविक्रमले संविधान सभाको निर्वाचनको लागि राजनीतिक आन्दोलनमा जानु पर्छ, भन्नु रायमाझीले वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको वकालत गरे भने कमरेड पुष्पलालले तात्कालिक राजनीतिक आन्दोलनको मुख्य एजेण्डा विघटित संसदकोे पुनस्र्थापना नै हो र यसका लागि नेपाली कांग्रेस समेतलाई साथ लिएर आन्दोलनमा जानु पर्छ भन्ने खालको विचार प्रस्तुत गर्नु थियो । झवाट्ट सुन्दा राणनीतिक रूपमा क्रान्तिकारी नारा क. मोहन विक्रमको भए पनि व्यवहारिक र तात्कालिक नारा पुष्पलालकै थियो भन्ने कुरा २०४६ साल र ०६२÷०६३ का लोक आन्दोलनले प्रष्टयाएको छ । स्मरणरहोस् कमलराज रेग्मी र प्रेमप्रकाश नेपाल दरभङ्गा प्लेनमका बेला जेलमा रहेकाले अनुपरायित हुनु स्वाभाविकै थियो ।
४.९ तेस्रो महाधिवेशन र पुष्पलाल
क. पुष्पलालको प्रमुख अगुवाइमा तेस्रो महाधिवेशनको आयोजना भयो । तुलसी लाल द्वारा प्रस्तुत राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम ८२ प्रतिशतले पारित भयो । महासचिवमा पनि तुलसीलाल नै निर्वाचित हुनु भयो । विघटित संसदको पुनस्र्थापनाका लागि संघर्ष गरौं भन्ने पुष्पलालको कार्यक्रम र संविधानसभाको निर्वाचनका लागि संघर्ष गरौं भन्ने मोहन विक्रम सिंहको कार्यक्रम अल्पमतमा परे । सोभियत ब्लकको शान्तिपूर्ण संक्रमण र चिनियाँ जनवादी लाइनको महाविवादको प्रभाव पार्टी महाधिवेशनमा पनि प¥यो । राजाको प्रतिगामी कदमको स्वागत गर्नेहरू केशरजङ्ग रायमाझी डी.पी. अधिकारी र कमर शाह निष्काशित भए । तेस्रो महाधिवेशनपछि पार्टी अघि बढ्न सकेन स्थानीय कमिटीहरू पनि निष्क्रिय भए ।
५ पुष्पलाल र पार्टी पुनर्गठनको अभियान
कमरेड पुष्पलालले नेकपालाई पुनर्जीवन दिने उद्देश्यले २०२४ सालमा तेस्रो महाधिवेशनबाट निर्वाचित पुष्पलाल, हिकमत सिंह, देवेन्द्रलाल, बलराम उपाध्याय, एकदेव आले र प्रेमप्रकाश नेपालसहितको भेला गरी नयाँ जनवादी कार्यक्रमको मार्ग दर्शनमा पार्टी पुनर्गठन गर्ने योजनालाई अगाडि सार्नु भयो । जसअनुरूप २०२५ साल जेठ महिनामा गोरखपुर कसायमा भएको तेस्रो सम्मेलनबाट मार्ग दर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र माओत्से तुङ विचारधारा आधारमा गर्दै विधिवत रूपमा नयाँ जनवादी कार्यक्रमलाई अगाडि सारियो । पुष्पलालद्वारा लिखित नयाँ जनवादी क्रान्तिको कार्यक्रम पुस्तक नै प्रकाशित छ जसमा सोभियत रूसी पार्टीबाट अगाडि सारिएको शान्तिपूर्ण संघर्षको सिद्धान्तको विरोध गरिएको छ । सो पार्टीको तेस्रो सम्मेलन पछि राष्टूव्यापी रूपमा र विशेष गरी लुम्बिनी र गण्डकी क्षेत्रमा पार्टी व्यापक रूपमा विस्तारित भयो । पहिलो पुस्ताका नेताहरू राजदरबार र पञ्चायततिर लागे पनि पुष्पलालको अगुवाइमा पार्टीले सङ्गठनात्मक क्षेत्रमा, वैचारिक र संघर्षका क्षेत्रमा फडको मा¥यो । १÷२ को पार्टी सर्कुलरअनुसार भूमिगत ढङ्गले पार्टी निर्माण गर्न पेशेवर र भूमिगत कार्यकर्ताको सङ्ख्या र शैली अघि बढ्यो तिन “स” को सिद्धान्त संगठन, संघर्ष र सिद्धान्त अगाडि बढाइयो । पार्टीलाई किसानका बीचमा बसोबास गराऊ भन्ने नारा लोकप्रिय नारा रूपमा स्थापित भयो । जसअनुरूप लुम्बिनी क्षेत्रमा किसानहरूले हाम्रो बचत फिर्ता गर भन्ने नाराका साथ २०३० साल कार्तिक २६ गते जिल्ला सदरमुकाम घेराऊका कार्यक्रमहरू सम्पन्न भए । यो अवधि लुम्बिनी र गण्डकी क्षेत्रमा नेकपा र पुष्पलालको स्वर्ण काल रह्यो । स्मरणीय छ ०२९ सालमा भएको चौथो सम्मेलनबाट “संयुक्त जनआन्दोलनको कार्यक्रमलाई संघर्षको कार्यक्रमको रूपमा अगाडि सारिएको थियो । पुनः २०३० सालका किसान संघर्षपछि प्रशासनले व्यापक धडपकड चलाएपछि धेरै कार्यकर्ता र नेताहरू निर्वासित, पलायन र निष्क्रिय भए । पार्टी कार्यकर्ता संरक्षण गर्न नसकेको र आन्दोलनको लागि कार्यकर्ताहरूलाई अपेक्षित कार्यक्रम दिन नसकेको आरोप लगाउँदै थुप्रै कार्यकर्ताहरूले पुष्पलाललाई छोड्ने क्रम पनि सुरु भयो ।
५.बहुकेन्द्र निर्माण, विभाजन र पार्टी एकीकरणका श्रृङ्खलाहरू
- तेस्रो २०२२ सालतिर महाधिवेशनबाट निष्कासित केशरजङ्ग रायमाझीले सम्मेलन गरी नेकपा नामको एउटा गुट बनाए, जुन फेडेको नामले चर्चित छ, सँगै मिलेर पार्टी पुनर्गठन गरौं भन्ने पुष्पलालको प्रस्तावलाई अस्वीकार गरी जेलबाट छुटेका क. मनमोहन अधिकारी, क.मोहन विक्रम सिंह, क. शम्भुराम श्रेष्ठहरूको अलग्गै केन्द्रीय न्यूकलेस गठन भयो ।
- केन्द्रीय न्यूक्लेस केही समयपछि विघटन प्रायम यो मोहन विक्रम सिंह र निर्मल लामाको नेतृत्वमा २०३१ सालमा नेकपाको चौथो महाधिवेशन भयो, राजा र कांग्रेस समान दुश्मन हुन् भन्ने यसको मूल दृष्टिकोण रह्यो ।
- उता मोरङ प्रान्तीय कमिटीको झापा जिल्ला कमिटीले चारू मजुमदारको वर्ग शत्रु सफाय अभियानबाट प्रभावित भइ क.मोहनचन्द्र अधिकारी, के.पी. ओली, राधाकृष्ण मैनाली, सीपी मैनालीहरूले झापा विद्रोहमार्फत् वर्ग शत्रु सफाय अभियानलाई अगाडि बढाउनु भयो । सोही आन्दोलनको धारले अखिल नेपालको अडिनेसन कमिटी (को के) निर्माण गरेको इतिहास छ ।
- पुष्पलाल समूहबाट विद्रोह गरी अलग भएको मुक्ति मोर्चा समूह र जीवराज आश्रित, मोदनाथ प्रश्रित, मदन भण्डारी, सिद्धिनाथ ज्ञवाली, देवेन्द्र घिमिरे, वामदेव गौतमलगायतले पनि लुम्बिनी अञ्चल क्षेत्रमा पार्टी कामलाई अगाडि बढाउने काम भयो ।
- २०३५ साल पौष ११ गतेका दिन को के र मुक्तिमोर्चा समूह एकीकृत भई नेकपा (माले) गठन भयो ।
६. पुष्पलालको निधन र त्यसपछिको अवस्था
नेकपाका संस्थापक महासचिव, कमरेड पुष्पलालको २०३५ साल श्रावण ७ गते गोविन्दबल्लभ पन्त अस्पतालमा मुटुरोगको उपचारका क्रममा महाप्रस्थान हुन्छ । उहाँको शव नेपाल ल्याउन राज्यले दिएन, तर उहाँको अस्तु भने आर.सी. चापागाईंको अगुवाइमा काठमाडौंमा गुप्त रूपले ल्याउने काम गरियो निरंकुश पञ्चायती शासनको दमनका बाबजुद पनि जनताको भव्य उपस्थितिमा अस्तुलाई ससम्मान समाधिस्त गर्ने काम भयो ।
स्मरणीय छ :( कमरेड पुष्पलालकै संयुक्त आन्दोलनको नीति बमोजिम २०४६ सालमा वाममोर्चा र नेपाली कांग्रेसको संयुक्त मोर्चा र संयुक्त क्रान्तिकारी मोर्चाको अगुवाइमा २०४३ सालको आन्दोलन सफल भयो ।
२०४६ सालको आन्दोलनपछि २०४८ सालमा नेकपा माले र नेकपा (माक्र्सवादी) मनमोहन, सहाना नेतृत्वको पार्टी एकीकरण भइ नेकपा एमाले बन्यो ।
मोहनविक्रम सिंहद्वारा अगाडि बढाइएको कम्युनिष्ट घटक पनि अनेक विभाजन र एकीकरणका श्रृङ्खलाहरूलाई पार गर्दै नेकपा मसालका रूपमा स्थापित हुन्छ । जसको नेतृत्व प्रचण्ड, बाबुराम, मोहन वैद्य किरण, बादलहरूले गर्नुभयो ।
२०४८ सालको निर्वाचनमा नेकपा एमाले संसदमा दोस्रो प्रतिपक्ष शक्ति र नेकपा मशाल (संयुक्त जनमोर्चा) तेस्रो प्रतिपक्ष शक्तिको रूपमा स्थापित हुन्छ ।
२०४९ सालमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन हुन्छ । चौथो महाधिवेशनमा नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई समृद्ध र सामयिक बनाउने उद्देश्यले अङ्कुशरण भएको बहुदलीय प्रतिस्पर्धाको अवधारणालाई कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादी कार्यक्रमका रूपमा प्रस्तुति गर्नुहुन्छ र पारित हुन्छ । जुन कार्यक्रममा क्रान्तिपश्चात् समाजवादी चरणमा प्रवेश गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
२०५१ सालको मध्यावधि निर्वाचनमा एमाले संसदको सबैभन्दा ठूलो पार्टी शक्तिको रूपमा संसदमा स्थापित हुन्छ, र क. मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको लोकप्रिय सरकार सञ्चालन गरेर राज्य भनेको जनताको पनि हुन्छ भन्ने अनुभूति दिलाउँछ । तर नेकाको अगुवाइमा ९ महिनामै लोकप्रिय सरकारलाई अपदस्त गरिन्छ । ज्येष्ठ नागरिक भत्ता र सामाजिक सुरक्षा कार्यक्रम र आफ्नो गाउँ आफैं बनाऔं भन्ने सन्देशका साथ अगाडि बढाइएको कार्यक्रम गाउँमुखी र जनमुखी विकासको आधारशिला र लोक कल्याणकारी राज्यका लागि मार्गदर्शन बनेको छ ।
- २०५१ मा निर्वाचन बहिष्कार गरेको नेकपा मशाल र नेकपा एकता केन्द्र एकीकृत भइ नेकपा माओवादी पार्टीको रूपमा अघि बढ्छ । २०५२ साल फाल्गुण १ गतेदेखि सशस्त्र जनयुद्ध (संघर्ष)द्वारा राजतन्त्रको उन्मूलन गर्ने कार्य दिशालाई अगाडि बढाउँछ ।
- २०५९ साल चैत्र १९ गते दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले २०६२ असोज १८ गते निर्वाचित शेरबहादुर देउवाको सरकारलाई विघट्न गरी आफ्नै अध्यक्षतामा सरकार गठन गर्छन् र दलहरूमाथि अघोषित प्रतिबन्ध लगाउँछन् ।
- २०६२ भाद्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचमा राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र संयुक्त स्थापनाका लागि शान्तिपूर्ण आन्दोलन गर्ने विषयमा रोल्पामा सम्झौता हुन्छ ।
-२०६२ मंसिर ४ गते नेकपा एमाले लुम्बिनीले राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि संयुक्त संघर्ष गर्ने उद्घोष बुटवलमा आयोजित १ लाखभन्दा बढी जनता सहभागी भए, जनमासमा उद्घोष गर्दछ ।
- २०६२ फाल्गुण ७ गते नेकपा माओवादी र प्रतिगमन विरोधी आन्दोलनमा सरिक नेकपा एमालेको र नेकासहितको नेकपा माओवादीसँग १२ बुँदे सम्झौता भइ २०६२÷०६३ को १९ दिने आन्दोलनमार्फत् लोकतन्त्रको स्थापना २०६३ बैशाख ११ गते हुन पुग्दछ ।
- २०६४ चैत्र २८ मा संविधानसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्र संविधानसभामा प्रथम शक्तिका रूपमा स्थापित हुन्छ । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकको निर्णयबाट राजतन्त्रको अन्त्य गरिन्छ ।
- २०७० मंसिर ४ गते पुनः संविधानसभाको निर्वाचनमा नेका पहिलो एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा स्थापित भई २०७२ साल असोज ३ गते नेपालको संविधान जारी हुन्छ ।
- २०७४ सालको संघीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको पूर्वघडीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त निर्वाचन घोषणा पत्रमार्फत् निर्वाचन अभियानमा जुटेपछि शानदार विजय हासिल गर्न पुगेको अवस्था छ ।
- २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको अवस्था छ ।
७. कमरेड पुष्पलालको रचनाहरूको सान्दर्भिकता र अध्ययनको महत्वः
माक्र्सवादी अध्ययेता सिद्धान्तकार, सङ्गठक मात्र नभइ उहाँ सिद्धहस्त लेखक, समीक्षक, समाजशास्त्री, दार्शनिक, इतिहासवेत्ता जस्ता बहुआयामिक व्यक्तित्वका धनी हुनु हुन्थ्यो । उहाँले नेकपाको गठन मात्र गर्नु भएन पार्टी सञ्चालनका नीति विधि, पद्धतिलाई दस्ताबेजीकरण गर्नु भएको छ । नेकपाको पहिलो पर्चा २०४९ बैशाख १२, नेकपाको घोषणा पत्र १५ सेप्टेम्बर, विश्व कम्युनिष्ट घोषणा पत्रको नेपालीमा अनुवाद र त्यसको भूमिका, अनेकि संघका घोषणा पत्र, नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक प्रस्ताव, नयाँ जनवादी कार्यक्रम, राष्टूको नाममा नेकपाको अपिल २०१७, हाम्रो मूल बाटो नेपाली जनआन्दोलनको एक समीक्षा, नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपालमा भातृ सत्तात्मक समाज, नेपालमा राजतन्त्रको उद्भव, विकास र भविष्य, नेपाली समाजको ऐतिहासिक भौतिकवादी अध्ययन, कविला र दलित समुदायप्रतिको दृष्टिकोण, नयाँ जनवादी क्रान्ति भनेको के हो ? जस्ता ५०औं राजनीतिक दार्शनिक कृतिहरू अद्यापि सान्दर्भिक र पठनीय छन् । सिद्धान्त, सङ्घर्ष र सङ्गठनको क्षेत्रमा उहाँले जग हाल्ने काम मात्रै गर्नु भएन, त्यसलाई जीवन पर्यन्त लागू गर्न निष्ठापूर्वक प्रयत्नशील रहनु भयो । सशस्त्र सङ्घर्षलाई निरपेक्ष रूपमा नभई सापेक्षित रूपमा अवलम्बन गर्नुपर्ने मान्यता राख्ने कमरेड पुष्पलालले राजतन्त्रात्मक पञ्चायतलाई उन्मूलन गर्न संयुक्त सङ्घर्षमा नै प्रमुख रूपले जोड दिनु भयो, तर नेपाली कांग्रेसका नेता बी.पी. ले कम्युनिष्टहरूसँग सहकार्य गर्न कहिल्यै पनि तयार भएनन् । तर इतिहासका पानाहरू पल्टाएर हेर्दा २०४६ सालको आन्दोलन २०६२÷०६३ को आन्दोलन र संविधान निर्माणको अभियानमा संयुक्त प्रयास र सङ्घर्षबाट मात्रै सम्भव भएको देखिन्छ । राजतन्त्रको प्रमुख दुश्मन र आँखाको कसिङ्गर ठानिनु भएका क. पुष्पलाल जीवितै त देशभित्र रहन पाउनु भएन, मृत्युपश्चात् पनि उहाँको लाशसित समेत भयमीत र त्रस्त भएका कायर शासकहरूले लाश समेत स्वदेशभित्र ल्याउन नदिनुले उहाँको र क्रान्तिकारी उचाइ र सगरमाथा जस्तो उच्च भएको प्रष्ट हुन्छ ।
निचोड :
शान्तिपूर्ण र सशस्त्र संघर्षहरूको बेजोड मिलनबाट पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइ निर्वाचित संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको आलोकमा मुलुक अगाडि बढ्दैछ । उहाँले निर्माण गरेको पार्टी आज राज्यसत्ता र जनताको केन्द्र भागमा छ । समृद्ध नेपाल र सुखी नेपाली जनताको सपनालाई विपना बनाउँदै समाजवाद निर्माणको महत्तम जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । समृद्ध नेपाल र सुखी नेपालीको आधार र मापनका सूचक र नेपाली समाजको धरातलीय यथार्थमा लागू गरिने समाजवादका सूचक के(के हुने, यसबारे जिज्ञासाहरू उठेका छन्, यसबारे नेकपाले प्रष्ट पारेर अघि बढ्नु पर्ने आवश्यकता पनि त्यत्तिकै छ ।
राजनीतिक अविश्रान्त योद्धा, नेपाली कम्युनिष्ट आन्दोलनका आदिसिद्धान्तकार पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाललाई एकीकृत नेकपाको महासचिव हुने अवसर कहिल्यै पनि दिइएन । तर सिद्धान्त र विचार निर्माणमा उहाँको भूमिका सर्वाधिक अग्रण्य र प्रभावकारी रह्यो । यिनै आन्तरिक गुण, विशेषता, क्षमता र लगनशिलताले उहाँलाई अमर बनाएको छ । त्यसैले अन्त्यमा भन्न मन लाग्छ :-
कामले मान्छे अमर हुन्छ पदले हुँदैन ।
इमानीहरू संपूज्य हुन्छन् वैमानी हुँदैन ।
कागजी डिग्री कागजमै रहे दराजमा थन्किए ।
जनताका सेवक पुष्पलाल भने विना पद चम्किए ।
पुष्पलालका रचनाहरूका खोजी खोजी पढौं
सन्दर्भ सामग्रीहरू
१. नेपालमा कम्युनिष्ट आन्दोलनको सङ्क्षिप्त इतिहास
२. नयाँ जनवादी कार्यक्रम
३. पुष्पलाल-छानिएका रचनाहरू भाग १, भाग २, भाग ३, भाग ४
४. पुष्पाल जीवन, कृतित्व र शिक्षा नेत्र पन्थी
५. नव युग वर्ष २०, अङ्क १० भाद्र २०६७ पुष्पलालको हिस्टूोरिकल नोट्स एक अध्ययन नारद भारद्वाज
६. लुम्बिनी अञ्चल भित्रका कम्युनिष्ट आन्दोलनको इतिहास (अप्रकाशित) झपेन्द्र जी.सी.




