नेपालमा डेढ दसकमा भएका २४५ बाघ आक्रमणका घटनामा १४१ जनाको मृत्यु भएको छ, जसमा अधिकांश घटना निकुञ्जभित्र नभई मध्यवर्ती र राष्ट्रिय वन क्षेत्रमा भएका छन् । आक्रमणमा पुरुषको संख्या बढी भए पनि महिलाको मृत्यु दर उच्च देखिएको छ, विशेषगरी घाँसदाउरा र वन स्रोत संकलनका क्रममा झुकेर वा बसेका बेला जोखिम बढेको अध्ययनले देखाएको छ । मानव–बाघ द्वन्द्व घटाउन वनमा निर्भरता कम गर्ने, जोखिमयुक्त क्षेत्रमा प्रवेश नियमन गर्ने, सामुदायिक वन व्यवस्थापन सुधार्ने र मध्यवर्ती क्षेत्रका लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्नेमा अध्ययनकर्ताको जोड छ ।
मध्यवर्ती क्षेत्रका बासिन्दाको खेतीबाली नष्ट हुने, आक्रमणले ज्यान जोगाउनै सकस भएपछि संरक्षण अभियानविरुद्ध समुदाय लाग्ने जोखिम हुनसक्छ । वन्यजन्तु संरक्षण गर्दा समुदायले लाभ पाउने वातावरण सुनिश्चित हुनुपर्छ नै, त्यसका साथै समुदायमा विश्वासको वातावरण बन्नु पर्छ । अहिले निकुञ्ज र समुदायबिच अविश्वासको वातावरण छ । निकुञ्जको आम्दानी ३० करोड रुपैयाँभन्दा माथि हुने गरेको, तर मध्यवर्ती समितिहरूका लागि ६ देखि आठ करोड रुपैयाँ बजेट व्यवस्थापन हुँदै आएको छ । नियमले दिने ३० देखि ५० प्रतिशत बजेट व्यवस्थापन नभएको मध्यवर्ती समितिको गुनासो छ । समुदायलाई संरक्षणमा साथै अघि बढाउन संरक्षणको लाभ समुदायमा पनि पु¥याउन निकुञ्ज प्रशासन चुक्न हुन्न । समुदायको साथ विना संरक्षणको अभियान प्रभावकारी हुन्न ।
निकुञ्जले सामान्य विषयमा स्थानीय बासिन्दालाई दुःख दिने, तर वन्यजन्तुले पारेको नोक्सानप्रति मल्हमपट्टि लगाउन पटक्कै ध्यान नदिएको गुनासो छ । संरक्षण कार्यक्रम भएका कानुन कार्यान्वयनले मात्रै प्रभावकारी हुने होइन्, व्यवहारिक रुपमा समुदायलाई संरक्षणप्रति अपनत्वभाव पैदा हुनुपर्छ । मानव–वन्यजन्तु द्वन्द्वले भइरहेको नोक्सानीको क्षतिपूर्ति दिने कसले हो ? त्यो क्षतिपूर्ति बापत केही पैसाको सहयोगले तत्काल राहत मिल्ला, तर निरन्तर भइरहने घटनालाई रोक्न समुदायको वनप्रतिको निर्भरता घटाउनुपर्छ । बदलिएको वन्यजन्तुको स्वभावका बारेमा पनि समुदायलाई जानकारी गराएर अघि बढ्नुपर्छ । बाघको मुख्य बासस्थल राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र हो । तर आक्रमण र ज्यानै जाने घटना निकुञ्जबाहिर मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा रहेको देखाएको छ । अध्ययन अवधिमा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भएका घटना १६ वटा मात्रै थिए । यो कुल घटनाको साढे ६ प्रतिशत मात्रै हो । मध्यवर्ती क्षेत्रमा झण्डै ७० प्रतिशत अर्थात् ६९ दशमलव ४ प्रतिशत घटना भएका छन् । अध्ययन अवधिमा बाघले आक्रमण गरेकामध्ये ७९ जना पुरुष र ६२ जना महिलाको निधन भएको छ । बाघले आक्रमण गरेका मध्ये महिलाभन्दा पुरुषको संख्या झण्डै दोब्बर छ । १५ वर्षमा १६० जना पुरुष र ८५ जना महिला बाघको आक्रमणमा परेका थिए । आक्रमणमा परेकामध्ये पुरुषको मृत्यु दर ५० प्रतिशतभन्दा कम र महिलाको मृत्यु दर ७२ प्रतिशतभन्दा धेरै देखिएको छ ।
मध्यवर्ती क्षेत्रका बासिन्दाको जीविकोपार्जनको ग्यारेण्टी राज्यले नगर्ने हो भने संरक्षणप्रति समुदाय भड्किन सक्छ । बढ्दो मानव–वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न र समुदायलाई संरक्षणप्रति अपनत्व गराउन योजनाबद्ध कामको थालनी सरकारबाट अपेक्षित छ । निकुञ्ज आसपासको बस्तीका बासिन्दा रोजगारीको लागि खाडी मुलुक जानुपर्ने बाध्यता हुनु लज्जास्पद हो । शिक्षा र स्वास्थ्यमा गुणस्तर बढाउने, सडक पूर्वाधारमा लगानी विस्तार गर्ने र स्थानीय बासिन्दालाई आयमुलक व्यवसायमा सहभागी बनाउने कार्यक्रम प्रभावकारी हुन नसक्नु राज्यको कमजोरी हो । वन्यजन्तु संरक्षण गरेको समुदाय जीविकोपार्जनको लागि अरबको खाडीमा पसिना चुहाउनुपर्ने बाध्यताले हाम्रो संरक्षण अभियान सार्थक होला ?




