२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मैले प्रत्यक्ष भेटेका घण्टप्रसाद अर्याल

मैले प्रत्यक्ष भेटेका घण्टप्रसाद अर्याल

मैले प्रत्यक्ष भेटेका घण्टप्रसाद अर्याल

मैले प्रत्यक्ष भेटेका घण्टप्रसाद अर्याल

मैले प्रत्यक्ष भेटेका घण्टप्रसाद अर्याल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • माधवप्रसाद अर्याल
    करिब २६ वर्षअघिको कुरा हो । पत्रकारिताको सिलसिलामा मदनपोखरा जाने अवसर मिलेको थियो । त्यसबेला मदनपोखरा अहिले जस्तो सहजै यातायात र सञ्चारको पहुँचमा थिएन । त्यहाँको सामाजिक परिवर्तन, गाउँको विकास र स्थानीय गतिविधिबारे बुझ्ने क्रममा घण्टप्रसाद अर्यालको नाम मैले धेरैपटक सुनेको थिएँ । उहाँको योगदानबारे प्रत्यक्ष सुन्ने उत्सुकता थियो ।


    सन्दर्भ बन्यो, सामुदायिक रेडियो मदनपोखरामा पुग्ने । धेरै साथीहरु सामुदायिक रेडियोमा कार्यरत थिए । त्यसैले म पत्रकार साथी रामचन्द्र नेपालसँग मदनपोखरा पुगेको थिएँ । सिद्धार्थ राजमार्गको नयाँपाटीसम्म सार्वजनिक बसमा गयौँ । त्यसपछि निजी साधनको सुविधा भएन । करिब २० मिनेट पैदल हिँडेपछि उहाँको घर पुग्यौँ । घण्टप्रसाद अर्याल आँगनमै हुनुहुन्थ्यो । हामीले आफ्नो परिचय दिएपछि उहाँले सहज रूपमा कुराकानी सुरु गर्नुभयो । त्यो भेट अहिले पनि मेरो स्मृतिमा ताजै छ । साउन २२ गते अर्याल ब्रम्हलिन हुनुभयो । तर उहाँसँगको याद भने अहिले पनि उस्तै छ । 


    अहिले पनि सम्झना ताजै छ । उतिबेला दिउँसोको समय थियो । केही साथीहरूसँगको भेटपछि मलाई उहाँसँग अझै धेरै कुरा गर्न मन लाग्यो । सामुदायिक  रेडियोमा केही समय  बिताएर फर्कने साथी रामचन्द्र नेपाल र म घण्टप्रसाद अर्यालसँग कुराकानी गर्न बस्यौ । लाग्थ्यो उहाँसँग अथाहा ज्ञान छ । उहाँको ज्ञानलाई कसैले बुझेजस्तो लागेको थिएन । उहाँका दुःख, संघर्षका स्मरण ताजै थिए । 


    उहाँसँगको बसाइँमा बेलिबिस्तार गर्दै अघि बढ्दा परिचय खुल्दै गयो । उहाँले मदनपोखराको विगतदेखि त्यहाँ भएका सामाजिक, राजनीतिक र विकासका गतिविधिबारे आफ्ना अनुभव सुनाउनुभयो । कुराकानीको क्रममा पाल्पाको पूर्व रामपुर, सहलकोट, मित्याल, पूर्वखोलादेखि छहरासम्मका गाउँको अवस्था, त्यहाँको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र सामुदायिक वनका विषयसम्म कुराकानी भयो । सायद यसरी गफिँदा उहाँ उमेर ढल्केको जस्तो लागेन । पुरानै कुरा मज्जाले स्मरण गर्नुभयो । मैले उहाँका बारेमा बाहिरबाट जति सुनेको थिए, उहाँकै मुखबाट सुन्न पाउँदा मन प्रफुल्लित नहुने कुरै भएन । 


    अझ गजब के थियो भने उहाँले त्यसबेला मदनपोखरालाई ‘नमूना गाविस’ भनिनुको कारणबारे पनि उहाँसँग कुरा भयो । गाउँमा आधुनिक तरकारी खेती कसरी सुरु भयो भन्ने विषयमा जानकारी भयो । अमेरिकन मकैको गफ सुन्दा अचम्म नै थियो । उहाँले सडक खन्न, कामका लागि खाद्यान्नलगायतमा अनुदानमा बाहिरदेशबाट आउने गहुँलगायत अन्य अन्नमा मकै मिसिएर आउने र मकैको दाना संकलन गरेर बिउ बनाएको कुरा गजबकै थियो । 


    सामुदायिक वनको विकास कसरी भयो ? भन्ने विषय पनि कम्ती गजबको थिए । त्यसबेला घाँस, दाउरा गर्दा पनि गाउँका वन जंगल मासिएका थिए । वनजंगल मासिदा पानीका मुल सुकेका थिए । वन जोगाउनपर्छ भन्ने सरकारको भन्दा पहिला शिक्षा घण्टप्रसाद अर्यालमा थियो । सरकारले पछि अभियान ल्यायो । तर उहाँको योगदान सम्झिन लायक छ । मदनपोखरा नजिकैको वनलाई जोगाउने अभियान सुरु भयो । त्यसपछि  पानीका मुल पुनः सर्सिए । तरकारी खेती सुरु भयो । अझ शिक्षा र खानेपानीको अवस्था कसरी सुधारियो भन्ने विषयमा उहाँले निकै चासोका साथ सुनाउनुभयो । शारदा मावि स्थापनाका विषयमा उहाँका कुरा सम्झिन लायक नै थियो । गाउँमा सबैले पढ्नुपर्छ भन्ने चेतना उहाँले जगाउनुभयो । 


    आफूले पर्वततिर पुगेर केही संस्कृत ज्ञान हासिल गरे पनि अरुलाई गाउँमै शिक्षा दिलाउनपर्छ भन्ने भावना थियो । गाउँको विकास केवल सरकारको जिम्मेवारी होइन, स्थानीय मानिस आफैँ पनि सक्रिय हुनुपर्छ भन्ने उहाँको सोंच कुराकानीबाट प्रस्ट देखिन्थ्यो । सबै जनालाई एकजुट बनाएर सामाजिक काममा लगाउने सक्ने क्षमता थियो । 


    घण्टप्रसाद अर्यालको चर्चा विकास निर्माणमा मात्र सीमित थिएन । उहाँको जीवन राजनीतिक संघर्षसँग पनि गहिरोसँग जोडिएको थियो । हलो जोत्ने अभियानको प्रसंग उठ्दा उहाँको जीवनको अर्को पाटो खुल्थ्यो । त्यसबेला गाउँमा हलो जोत्नुलाई सामान्य कृषि कर्मका रूपमा मात्र हेरिँदैनथ्यो । जातका आधारमा कामको विभाजन गर्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यतालाई चुनौती दिँदै अर्यालले हलो जोत्न थालेका थिए । त्यसको सामाजिक मूल्य पनि उनले चुकाउनुपरेको थियो । साहु, महाजन, मुखिया, जिम्मालहरुले दुःख दिएको प्रसंग कोट्याउनुभयो । प्रहरीमा उजुरी दिएर जेल नै पठाएको कुरा सुनाउनुभयो । 


    उहाँका आफन्त सोमन्तनाथ अर्यालसँग केही दिनअघि भएको कुराकानीमा पनि यही प्रसंग अझ स्पष्ट भयो । उहाँका अनुसार घण्टप्रसादले ‘आफ्नो काम आफैँ गर्नुपर्छ’ भन्ने मान्यता राख्नुहुन्थ्यो । तल्लो जातिले मात्र हलो जोत्नुपर्छ भन्ने सोंचको विरोध गर्दै उहाँले श्रमको सम्मान गर्नुपर्छ भन्ने अभियानलाई व्यवहारमै अघि बढाउनुभएको थियो । हलो जोतेकै कारण परिवारले समेत सामाजिक कठिनाइ भोग्नुपरेको र उहाँ पटक–पटक जेलसमेत गएको प्रसंग सोमनाथ अर्याललेसमेत सुनाउनुभयो । 


    करिब २६ वर्षअघि उहाँसँग बसेर कुराकानी गर्दा मैले उहाँको राजनीतिक जीवनका अनेक प्रसंग पनि सुनेको थिएँ । राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातान्त्रिक आन्दोलनसम्म उहाँ सक्रिय रहनुभएको कुरा त्यसबेला उहाँले सुनाउनुभएको थियो । केही समय नेपाली कांग्रेससँग आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएको उहाँ पछि कम्युनिस्ट आन्दोलनतर्फ लाग्नुभएको प्रसंग पनि उहाँको राजनीतिक जीवनको महत्वपूर्ण मोड थियो । यो कुरालाई सोमनाथ अर्यालले पनि पुष्टि गर्नुभयो । तर उहाँले आफूले पनि सुनेको भन्नुभयो ।  उहाँको जीवनमा राजनीति सत्ता प्राप्त गर्ने माध्यमभन्दा पनि सामाजिक परिवर्तनको साधनजस्तो देखिन्थ्यो । गाउँको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र सामाजिक चेतनासँग उहाँले राजनीतिलाई जोडेर हेर्नुभएको थियो । मदनपोखरा त्यसै नमूना भएको होइन भन्ने उदाहरण घण्टप्रसाद अर्याल नै हुनुहुन्छ । त्यहाँका मिहिनेती समाजले अर्याललाई साथ दियो । अनि बल्ल नमूना बन्यो । 


    घण्टप्रसादसँगको त्यो पुरानो भेट सम्झँदा मलाई उहाँको एउटा विशेषता बारम्बार सम्झना आउँछ–उहाँ केवल राजनीतिक कार्यकर्ता हुनुहुन्नथ्यो । उहाँ गाउँको सामान्य जीवनसँग जोडिएर सोंच्ने व्यक्ति हुनुहुन्थ्यो । गाउँमा पानी कसरी ल्याउने, किसानलाई आधुनिक कृषि प्रविधिसँग कसरी जोड्ने, विद्यालय कसरी बनाउने र समुदायलाई कसरी संगठित गर्ने भन्ने विषयमा उहाँको आफ्नै धारणा थियो । आफूले नपढे पनि सबैलाई चेतना दिनुहुन्थ्यो । सबैलाई एकजुट बनाएर सामाजिक काममा लगाउने क्षमता थियो । जसले गर्दा उहाँको योगदान स्मरणीय छ । 


    त्यतिबेला मदनपोखरामा रेडियो र टेलिभिजनजस्ता सञ्चारका साधन विस्तार उहाँले नै गर्नु भएको थियो । बाहिर नयाँ प्रविधि विकसित हुँदै गर्दा आफैँले गाउँमा भित्र्याउने गर्नुहुन्थ्यो । स्थानीयवासीका सम्झनाअनुसार घण्टप्रसाद आफैँ नयाँ कुरा प्रयोग गर्ने र अरूलाई पनि त्यसतर्फ प्रेरित गर्ने स्वभावका हुनुहुन्थ्यो । नाताले नजिककै भाइ हुनुहुन्छ, सोमनाथ अर्याल । अहिले तानसेन नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष हुनुहुन्छ । उहाँको सम्झनामा ग्यास चुलो, गोबर ग्यासलगायतका प्रविधि प्रयोग गर्न उहाँले स्थानीयलाई प्रोत्साहित गर्नुभएको थियो । पहिला आफूले प्रयोग गर्ने र अरुलाई पनि नयाँ प्रविधिसँग जोडिन आग्रह गर्ने उहाँको स्वभाव थियो । 


    उहाँसँगको मेरो त्यो भेट एउटा सामान्य पत्रकार–स्रोत भेटघाट मात्र थिएन भन्दा हुन्छ । त्यो भेटमा मैले एउटा गाउँको परिवर्तनको कथा सुनिरहेको थिएँ । त्यो कथा घण्टप्रसाद अर्यालको व्यक्तिगत जीवनसँग मात्र जोडिएको थिएन, मदनपोखराको सामाजिक रूपान्तरणसँग पनि जोडिएको थियो । 


    पछि उहाँका भाइ सोमनाथ अर्याल, वडा सदस्य दिलबहादुर थापा क्षेत्री, तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्याललगायतसँग कुराकानी गर्दा मैले घण्टप्रसादको जीवनका थप पाटा बुझ्ने अवसर पाएँ । उहाँको राजनीतिक संघर्ष, सामाजिक अभियान, शिक्षा र विकासमा गरेको योगदानबारे गाउँका पाकापुस्ताको अनुभवले मैले वर्षौँअघि उहाँसँग गरेको कुराकानीलाई अझ अर्थपूर्ण बनाइदिएको छ ।


    घण्टप्रसाद अर्यालले जीवनको लामो समय सामाजिक र राजनीतिक परिवर्तनका लागि बिताउनुभएको यथार्थ कसैले लुकाएर लुक्दैन । उहाँले राणा शासनविरुद्धको आन्दोलनदेखि पछिल्ला राजनीतिक परिवर्तनसम्मका अनेक चरण देख्नुभयो । राजनीतिक विचारका कारण जेल जीवनसमेत बिताउनुभयो । तर कठिन परिस्थितिमा पनि सामाजिक परिवर्तनको आफ्नो यात्राबाट उहाँ विचलित हुनुभएन । त्यसैले सम्झनामा जहिलेसुकै घण्टप्रसाद अर्याल रहनुहुनेछ । 
    उहाँ बाँचुञ्जेल सरकार र गैरसरकारी क्षेत्रबाट पनि उहाँको योगदानको सम्मान नभएको भने होइन । तत्कालीन प्रदेश ५ सरकारले समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै उहाँलाई ‘समाजसेवा श्री पदक तृतीय’ प्रदान गरेको थियो । वन, वातावरण, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा उहाँले गरेको योगदानको समेत सम्मान गरिएको थियो ।


    आज उहाँको पार्थिव शरीर हामीबिच रहेन । ९९ वर्षको उमेरमा उहाँको निधन भएको खबरले करिब २६ वर्षअघिको त्यो मदनपोखरा यात्रा र उहाँसँगको भेट फेरि स्मृतिमा फर्किएको छ । त्यतिबेला उहाँसँग बसेर सुनेका कुरा अहिले सम्झँदा उहाँको जीवन केवल एउटा व्यक्तिको जीवनकथा रहेनछ भन्ने लाग्छ ।


    उहाँको जीवनमा राजनीति थियो, संघर्ष थियो, जेल थियो, सामाजिक विभेदविरुद्धको अभियान थियो । तर त्यसभन्दा माथि एउटा गाउँलाई बदल्ने दृढ इच्छाशक्ति थियो । हलो जोत्नेदेखि विद्यालय स्थापना, आधुनिक कृषि, सामुदायिक वन, खानेपानी, स्वास्थ्य र पूर्वाधार विकाससम्म उहाँले आफ्नो समय र श्रम खर्चिनुभएको इतिहास साक्षी छन् । उहाँको योगदानलाई स्मरण गर्दा अझ धेरै पाटो छुटेको छ । लुकेको छ । म पूर्णरुपमा लेख्न सकेको छैन । 


    घण्टप्रसाद अर्यालको निधनसँगै पाल्पाले एउटा पुस्ताको साक्षी गुमाएको छ । उहाँले भोगेको राजनीतिक संघर्ष र सामाजिक परिवर्तनको यात्रा अब नयाँ पुस्ताले खोज्नुपर्ने विषय बनेको छ । करिब २६ वर्षअघि पत्रकारिताको सिलसिलामा उहाँसँग भएको मेरो त्यो भेट आज सम्झदा झनै अर्थपूर्ण लाग्छ । त्यो दिन म एउटा समाचार खोज्दै मदनपोखरा पुगेको थिएँ । तर फर्किँदा एउटा व्यक्तिको कथा मात्र होइन, एउटा गाउँको परिवर्तनको कथा बोकेर फर्किएको रहेछु भन्ने अहिले पनि स्मरणमा रहेको छ । घण्टप्रसाद अर्यालको जीवनले यही कुरा सम्झाउँछ-परिवर्तन भाषणबाट मात्र आउँदैन । त्यसका लागि आफैँ जोखिम लिनुपर्छ, श्रम गर्नुपर्छ र समाजमा स्थापित गलत मान्यतामाथि प्रश्न उठाउनुपर्छ । उहाँले आफ्नो जीवनबाट त्यही कुरा देखाएर जानुभएको छ । त्यसका लागि मैले मात्र होइन, सबैले सम्झने इतिहास बनाउनु भएको छ । 


    अर्को पाटो भनेको राजनीतिक जीवन पनि थियो । घण्टप्रसाद अर्यालको राजनीतिक जीवन सामाजिक परिवर्तनसँग जोडिएको थियो । उहाँ २००५ सालदेखि नेपाली कांग्रेससँग आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रिय हुनुभएको र २००७ सालको जनक्रान्तिमा पाल्पाबाट सक्रिय भूमिका निर्वाह गर्नुभएको आफैँले दिएको अन्तर्वार्तामा पनि उल्लेख छ । प्रजातन्त्र स्थापनापछि वैचारिक मतभेदका कारण कांग्रेस छाडेर २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको थियो । त्यसपछि विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय रहँदै उहाँ पटक–पटक जेलसमेत पर्नुभएको थियो । २०१८ सालमा गाउँस्तरको निर्वाचनबाट प्रधानपञ्च निर्वाचित भई स्थानीय नेतृत्वमा समेत सक्रिय हुनुभयो । पुनः २०२१ सालमा प्रधानपञ्च हुनुभयो । यसरी घण्टप्रसाद अर्यालको राजनीतिक संघर्ष र सामाजिक अभियान एकअर्कासँग जोडिएका थिए । उहाँको जीवन राजनीतिक परिवर्तनसँगै सामाजिक चेतना र गाउँको विकासका लागि समर्पित संघर्षको इतिहासका रूपमा देखिन्छ । त्यसैले घण्टप्रसाद अर्याललाई सम्झनु भनेको केवल एउटा व्यक्तिलाई सम्झनु होइन; पाल्पाको सामाजिक जागरण, राजनीतिक संघर्ष र मदनपोखराको परिवर्तनको एउटा महत्वपूर्ण अध्यायलाई सम्झनु पनि हो ।
    (लेखक अर्याल पाल्पामा पत्रकारितामा क्रियाशील छन् ।)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij