बुटवल । बुटवल–७ हिलपार्क मार्गमा दुई करोड बढी लागतमा सप्तऋषि धाम निर्माण भएको छ ।
धामको समग्र क्षेत्रफल करिब डेढ बिघा रहेको छ भने मन्दिर करिब सात कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको छ । सप्तऋषि धामलाई धार्मिक आस्थाको केन्द्रसँगै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुधबार धाम परिसरमा सरोकारवालाबिच भेला र छलफलसमेत गरिएको छ ।
भेलामा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य चिन्तामणि पाण्डेले धामलाई सबै धार्मिक समुदायको साझा केन्द्र बनाउने बताए ।
बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सप्तऋषि धामलाई धार्मिक आस्थासँग मात्र सीमित नराखी बुटवलको पर्यटनसँग जोड्न सकिने बताए । हिलपार्क क्षेत्रको प्राकृतिक तथा पर्यटकीय सम्भावनासँग सप्तऋषि धामलाई जोड्न सके यस क्षेत्रले नयाँ धार्मिक पर्यटन गन्तव्यको स्वरूप लिन सक्ने उनले जनाए ।
धामका अध्यक्ष यदुनाथ पाण्डेले निर्माण सम्पन्न भइसकेको धाममा यही भदौ २५ गते देखि प्राण प्रतिष्ठा सुरु हुने र २९ गते सप्त ऋषिहरुको मूर्ति प्रतिस्थापन गरी नियमित पूजाआजा सुरु गर्ने तयारी गरिएको बताए । त्यसका लागि सरोकारवालासँग राय सुझाव लिन भेला आयोजना गरिएको बताए ।
कार्यक्रममा देवदह भलुही गौशालाका सन्त सोमराजजी महाराज, कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डे, धामका उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, सचिव विष्णुप्रसाद पाण्डे, पाण्डे सेवा समितिका वरिष्ठ उपाध्यक्ष शोभाकान्त पाण्डे, महासचिव खगराज पाण्डेलगायतले सप्तऋषि धाम बुटवलकै नमूना धार्मिक गन्तव्य बन्ने सक्ने धारणा राखेका थिए ।




