सुजता क्षेत्री
‘के तपाईं एक दिन मोबाइल बन्द गर्न सक्नुहुन्छ ?’
सायद यो प्रश्न सुन्नासाथ धेरैको उत्तर हुन्छ– ‘असम्भव !’
आजको समयमा मोबाइलबिना हाम्रो दिन सुरु भएको कल्पना गर्न पनि गा¥होे हुन्छ । बिहान उठ्ने बित्तिकै मोबाइल हेर्ने, सामाजिक सञ्जाल खोल्ने, साथीभाइका सन्देश हेर्ने र विभिन्न भिडियो तथा समाचार हेर्ने हाम्रो दैनिकीको एउटा भाग बनिसकेको छ । दिनभरिमा हामीले कति समय मोबाइलमा बितायौं भन्ने कुरा थाहा नै हुँदैन ! तर के तपाईले कहिल्यै गहिरिएर सोच्नुभएको छ– यदि एक दिनको लागि मोबाइल बन्द गरियो भने के होला ?
कल्पना गरौं, एउटा युवकले यो चुनौती स्वीकार्छ । बिहान उठ्ने बित्तिकै उसले मोबाइल बन्द गर्छ । सुरुमा उसलाई केही असहज महसुस हुन्छ । बारम्बार मोबाइलतिर हात जान्छ । कसैले महत्वपूर्ण सन्देश पठाएको होला कि, सामाजिक सञ्जालमा नयाँ कुरा आएको होला कि भन्ने सोच आउँछ । तर केही समयपछि उसले आफ्नो वरिपरि ध्यान दिन थाल्छ ।
उसले आमासँग बसेर चिया पिउँछ । धेरै दिनदेखि आमाले सुनाउन खोजेका कुराहरु ध्यान दिएर सुन्छ । बुबासँग पनि लामो समयपछि कुराकानी गर्छ । उसलाई महसुस हुन्छ कि मोबाइलमा व्यस्त हुँदा आफूले आफ्नै परिवारका मानिसहरूलाई पर्याप्त समय दिइरहेको रहेनछ ।

दिउँसो ऊ बाहिर निस्कन्छ । मोबाइल हातमा नभएपछि उसको ध्यान वरिपरिको वातावरणतिर जान्छ । उसले बाटोमा हिँडिरहेका मानिसहरू, घर वरिपरिका रुखबिरुवा, आकाश र प्रकृतिलाई ध्यान दिएर हेर्छ । पहिले मोबाइलमा ध्यान दिँदा उसले यी साना तथा सुन्दर कुराहरुलाई बेवास्ता गरिरहेको रहेछ । केही समयपछि उसको साथी भेटिन्छ । सामान्यता उनीहरु मोबाइलमै कुरा गर्थे, तर त्यस दिन मोबाइल नभएकाले उनीहरू आमनेसामने बसेर कुराकानी गर्छन् । पुराना सम्झनाहरु सम्झिन्छन्, हाँस्छन् र एकअर्काको कुरा ध्यान दिएर सुन्छन् । उसलाई लाग्छ– मोबाइलमा कुरा गर्नुभन्दा प्रत्यक्ष भेटेर कुरा गर्नुको आनन्दनै फरक रहेछ ।
साँझा पर्दासम्म उसलाई मोबाइल चलाउने इच्छा पहिलेको जस्तो हुँदैन । बरु उसले आफ्नो दिनलाई सम्झिन्छ । उसले कुनै पोस्ट गरेको छैन, कुनै भिडियो हेरेको छैन । तर पनि उसको दिनखेर गएको छैन । उल्टै, धेरै समयपछि उसले आफ्नो परिवार, साथी र वरिपरिको संसारलाई नजिकबाट महसुस गरेको हुन्छ । यो घटना घटना काल्पनिक हुन सक्छ । तर एउटा गम्भीर प्रश्न अझै बाँकी छ के ‘हामीलेअन्तिम पटक आफ्ना मानिसहरुलाई मोबाइललाई भन्दा बढी समय कहिले दिएका थियौँ ?’
मोबाइल आफैमा नराम्रो कुरा होइन । यसको सही प्रयोगले हामीलाई धेरै फाइदा पु¥याउँछ । पढाइका लागि आवश्यक जानकारी खोज्न, समाचार हेर्न, टाढा रहेका मानिसहरुसँग कुराकानी गर्न तथा विभिन्न नयाँ कुरा सिक्न मोबाइल उपयोगी साधन हो । समस्या मोबाइल होइन, हामीले त्यसलाई कसरी र कति समय प्रयोग गर्छौ भन्ने कुरामा हो । आज एउटै घरमा बसेका परिवारका सदस्यहरू पनि आ– आफ्नै मोबाइलमा व्यस्त देखिन्छन् । सँगै बसेर खाना खाँदा पनि कुराकानी गर्नुभन्दा मोबाइल हेर्ने बानी बढ्दै गएको छ । साथीहरुसँग भेट्दा पनि प्रत्यक्ष कुराकानी गर्नुभन्दा फोटो खिच्ने, सामाजिक सन्जालमा राख्ने र अरुको पोस्ट हेर्नतर्फ ध्यानजान सक्छ ।
यसरी हामी मानिसहरूसँगै भएर पनि उनीहरूबाट टाढिदै गइरहेका हुन सक्छौ ।
मोबाइलमा केही मिनेट मात्र बिताउँछु भनेर सुरु गरेको समय कहिलेकाहीँ घण्टौंसम्म पुग्छ । एउटा भिडियो हेरेपछि अर्को भिडियो, एउटा पोस्ट हेरेपछि अर्को पोस्ट हेर्दै गर्दा समय बितेको पनि पत्तै हुँदैन । यसरी हाम्रो पढाइ, काम, आराम परिवारसँग बिताउने महत्वपूर्ण समय पनि मोबाइलमै बित्न सक्छ । त्यसैले कहिलेकाहीँ मोबाइलबाट केही समय टाढा बस्नु आवश्यक हुन्छ । दिनभरि मोबाइल बन्द गर्न नसके पनि केही घण्टा मोबाइल नचलाउने, खाना खाने समयमा मोबाइललाई टाढा राख्ने, परिवारसँग कुराकानी गर्दा मोबाइल नहेर्ने जस्ता साना बानीले पनि हाम्रो दैनिकीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । मोबाइल हाम्रो जीवनको आवश्यकता हो, तर जीवनको केन्द्र होइन । मोबाइलले हामो समय नियन्त्रण गर्नुको सट्टा हामीले मोबाइलको प्रयोगलाई नियन्त्रण गर्न सिक्नुपर्छ ।
एक दिन मोबाइल बन्द गर्दा संसार रोकिने छैन् । छुटेका सन्देश पछि पनि हेर्न सकिन्छ । सामाजिक सञ्जालका पोस्ट केही घण्टापछि पनि हेर्न सकिन्छ । तर परिवारसँग बिताएको समय भने फर्केर आउँदैन । त्यसैले यदि तपाई आफ्नो जीवनमा केही परिवर्तन ल्याउन चाहनुहुन्छ भने, कुनै ठुलो निर्णय लिनै पर्छ भन्ने छैन् । एक दिन मोबाइल बन्द गरेर हेर्नुहोस् सायद त्यस दिन तपाईंले नयाँ संसार भेट्टाउनुहुन्न । बरु मोबाइलको स्क्रिनमा हराउँदै गर्दा आफूले बिर्सिरहेको आफ्नै संसारलाई फेरि भेट्टाउनुहुन्छ ।




