बुटवल
बजारमा आँपको मुख्य सिजन सकिँदैछ । केही साताअघिसम्म सडकछेउ, बजार र फलफूल पसलमा बाक्लै देखिने आँपको थुप्रो अहिले पातलिँदै गएको छ । किसानका बगैँचामा पनि अधिकांश आँप टिपिइसकेका छन् । तर रुपन्देहीको सुद्धोधन गाउँपालिका–२ मा रहेको शाह एग्रो फार्ममा भने अहिले पनि आँप टिप्ने र बजार पठाउने क्रम रोकिएको छैन ।
फार्मको बगैँचामा पुग्दा अरू प्रजातिका आँपको तुलनामा केही फरक देखिन्छ । रुखका हाँगामा अझै फल झुन्डिएका छन् । कतिपय पहेँलिँदैछन्, कतिपय पाक्ने क्रममा छन् । बजारमा सामान्य आँपको सिजन सकिँदै गर्दा अल्फान्जोले नुरुधिन शाहलाई अर्को चरणको बजार दिएको छ । ढिलो पाक्ने यो प्रजातिको आँप अहिले पनि फार्मबाट बजारमा गइरहेको छ । शाहका अनुसार अल्फान्जो प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
“अरू आँपको सिजन सकिँदै गर्दा अल्फान्जो बजारमा जान थालेको छ । मूल्य पनि राम्रो छ ।”– फार्म सञ्चालक शाह भन्छन् । शाहका लागि यो मूल्य मात्रै उत्साहको विषय होइन । उनले वर्षौंअघि सुरु गरेको आँप खेतीको एउटा प्रयोगले व्यावसायिक सम्भावना देखाएको विषय पनि हो ।
१५ कठाबाट सुरु भएको सपना
नुरुधिन शाहले कृषि सुरु गर्दा उनको हातमा ठूलो जमिन थिएन । करिब १५÷१६ कठा क्षेत्रफलबाट उनले खेती सुरु गरेका थिए । सुरुवात सामान्य कृषि गतिविधिबाट भयो । तर खेती गर्दै जाँदा उनलाई एउटा कुरा बुझ्न समय लागेन—परम्परागत तरिकाले मात्रै खेती गरेर कृषि व्यवसायलाई टिकाउ बनाउन कठिन हुन्छ ।
त्यसपछि उनले उत्पादन बढाउनेसँगै कृषिलाई विविधीकरण गर्ने योजना बनाए । बिस्तारै जमिन थपिँदै गयो । नयाँ बाली थपिँदै गए। फलफूलसँगै पशुपन्छी पालन सुरु भयो । एउटा उत्पादनमा आएको समस्या अर्को उत्पादनबाट पूर्ति गर्न सकियोस् भन्ने सोचले उनले फार्ममा विभिन्न कृषि गतिविधि जोड्दै लगे । आज त्यही १५÷१६ कठाबाट सुरु भएको कृषि यात्रा करिब २० बिघा क्षेत्रफलमा फैलिएको छ ।
फार्ममा अहिले करिब ३ हजार आँपका रुख छन् । आँपसँगै विभिन्न प्रजातिका फलफूल, तरकारी तथा पशुपन्छी पालन भइरहेको छ। भैँसी, बाख्रा, लोकल कुखुरा, हाँस, खरायो, लौकाट, कालिजलगायतका पशुपन्छी पनि फार्ममा पालिएका छन् । कृषि अब शाहका लागि बाली लगाउने र उत्पादन बेच्ने काम मात्रै रहेन । यो उनको व्यवसाय बनेको छ ।
आँपको बगैँचाले बदलिएको कृषि यात्रा
शाह एग्रो फार्ममा विभिन्न उत्पादन छन् । तर फार्ममा प्रवेश गर्नेबित्तिकै सबैभन्दा बढी ध्यान खिच्ने बगैँचा भने आँपकै हो ।
लहरै उभिएका आँपका रुख, हाँगामा झुन्डिएका फल र बगैँचाभरि फैलिएको हरियालीले फार्मको स्वरूप नै बदलिएको छ । शाहले विभिन्न प्रजातिका आँप लगाएका छन् । त्यसमध्ये अहिले उनको विशेष चासो अल्फान्जोमा छ । अल्फान्जो विश्वका चर्चित आँपका प्रजातिमध्ये पर्ने उनको भनाइ छ। यसको स्वाद, आकार, भण्डारण गर्न सकिने क्षमता र ढिलो पाक्ने विशेषताका कारण व्यावसायिक खेतीका लागि उपयुक्त हुने उनको अनुभव छ । तराईको हावापानीमा पनि अल्फान्जो राम्रोसँग उत्पादन हुन सक्ने उनले आफ्नै बगैँचामा परीक्षण गरिसकेका छन् । “अल्फान्जो स्वादिलो छ । केही समय राख्न पनि सकिन्छ । सबैभन्दा राम्रो कुरा, अरू आँपको सिजन सकिँदै गर्दा पनि यसको बिक्री गर्न सकिन्छ ।”– शाह भन्छन् ।
यही अनुभवका कारण अब उनी अल्फान्जोको खेती आफ्नै फार्ममा मात्र सीमित राख्ने पक्षमा छैनन् ।
किसानलाई अल्फान्जोको बिरुवा दिने तयारी
अहिले शाह एग्रो फार्ममा अल्फान्जोका बिरुवा पनि तयार पारिँदैछन् । व्यावसायिक रूपमा आँप खेती गर्न चाहने किसानलाई अल्फान्जोको बिरुवा उपलब्ध गराउने उनको योजना छ । फार्ममा परीक्षणबाट आफूले राम्रो परिणाम पाएको प्रजाति अरू किसानसम्म पु¥याउन सके आँप खेती विस्तारमा सहयोग पुग्ने उनको विश्वास छ । किसानले परम्परागत रूपमा एउटै समयमा पाक्ने आँपका प्रजातिमा मात्रै निर्भर हुनुभन्दा फरक समयमा उत्पादन हुने प्रजाति छनोट गर्न सके बजार व्यवस्थापनमा पनि सहज हुने उनको बुझाइ छ ।
अल्फान्जोको उत्पादन र बजारको अनुभवले उनलाई यही सम्भावनातर्फ अघि बढाएको हो ।
‘एउटै उत्पादनमा भर पर्दा जोखिम हुन्छ’
कृषिमा एउटा बाली असफल हुँदा किसानको आम्दानीमा ठूलो असर पर्न सक्छ । कहिले मौसमले साथ दिँदैन, कहिले रोग तथा किराको समस्या आउँछ, कहिले बजारमा मूल्य घट्छ । शाहले यसको विकल्प बहुआयामिक कृषिमा देखेका छन् । त्यसैले उनले आँपसँगै अन्य फलफूल, तरकारी र पशुपन्छी पालनलाई एउटै फार्ममा जोडेका छन् ।
आँपबाट वर्षको निश्चित समयमा आम्दानी हुन्छ । तर दूध दैनिक बिक्री गर्न सकिन्छ । पशुपन्छीबाट पनि फरक समयमा आम्दानी हुन्छ। तरकारीले अर्को आम्दानीको बाटो खोल्छ ।
यसरी एउटै फार्ममा विभिन्न उत्पादन राख्दा एउटा उत्पादनमा आएको जोखिम अर्को उत्पादनले धान्न सक्ने शाहको अनुभव छ । “एउटै कुरामा मात्रै निर्भर हुँदा जोखिम बढी हुन्छ। विभिन्न उत्पादन गरे एउटा क्षेत्रमा समस्या आउँदा अर्कोबाट आम्दानी हुन्छ ।”–उनी भन्छन् ।
२० जनालाई रोजगारी, वार्षिक ६० लाखको कारोबार
शाह एग्रो फार्मको विस्तारसँगै त्यसले रोजगारीको आधार पनि तयार गरेको छ । फार्ममा अहिले २० जना नियमित रूपमा काम गर्छन् । थप पाँच जना ज्यालादारी काममा संलग्न छन् । फार्ममा हुने विभिन्न कृषि गतिविधिका कारण वर्षभरि नै कामको आवश्यकता पर्ने शाह बताउँछन् । उनका अनुसार फार्मबाट वार्षिक करिब ६० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।
यो कारोबारको आधारमा आँप मात्रै छैन । दूध, तरकारी, विभिन्न फलफूल तथा पशुपन्छीजन्य उत्पादनले फार्मको आम्दानीमा योगदान गरिरहेका छन् ।
दैनिक ३ सय लिटर दूध, माग अझै बढी
आँपको बगैँचासँगै शाह एग्रो फार्मको अर्को महत्वपूर्ण पक्ष हो—भैँसी पालन । फार्मबाट दैनिक करिब ३ सय लिटर भैँसीको दूध बजारमा बिक्री भइरहेको शाह बताउँछन् । तर उनको भनाइमा उत्पादनभन्दा दूधको माग बढी छ। यसले पशुपालनतर्फ पनि थप सम्भावना रहेको देखाउँछ ।
तर दूधको उत्पादन बढाउनु मात्रै पर्याप्त नभएको शाहको बुझाइ छ । दूध पनि उपभोक्ताले विश्वासका साथ उपभोग गर्न सक्ने हुनुपर्ने उनको धारणा छ । यही कारण उनको कृषि व्यवसायको अर्को महत्वपूर्ण विषय बनेको छ—विषादीरहित र सुरक्षित खाद्य उत्पादन ।
उत्पादनसँगै उठाउँदैछन् विषादीको प्रश्न
शाहलाई बजारमा फलफूल र तरकारीमा हुने विषादी प्रयोगले चिन्तित बनाएको छ । कृषि उत्पादन बढाउने नाममा जथाभावी विषादी प्रयोग गर्नु किसान र उपभोक्ता दुवैका लागि समस्या भएको उनको भनाइ छ । “उपभोक्तालाई विषादी खुवाउनु हुँदैन,” उनी भन्छन्–“हामीले उत्पादन गर्दा नै सुरक्षित र स्वच्छ उत्पादनमा ध्यान दिनुपर्छ ।” उनको जोड उत्पादनस्थलमै विषादी परीक्षण गर्नुपर्नेमा छ ।
बजारमा पुगेपछि मात्रै परीक्षण गर्ने अभ्यासले उपभोक्ताको स्वास्थ्य जोखिममा पर्न सक्ने उनको तर्क छ । उनका अनुसार बजारमा पुगेको कृषि उत्पादन आज परीक्षण गरियो, त्यसको रिपोर्ट भोलि आयो भने रिपोर्ट आउनुअघि नै त्यो वस्तु उपभोक्ताको घरमा पुगिसकेको हुन सक्छ । त्यसैले उत्पादन भएको स्थानीय तहले नै विषादी परीक्षण गरी सुरक्षित र खानयोग्य भएको प्रमाणित गरेपछि मात्रै बजारमा पठाउने व्यवस्था हुनुपर्ने शाहको माग छ ।
‘स्वच्छ उत्पादन भए बजारको समस्या हुँदैन’
शाहले आफ्नो फार्मको अनुभवबाट एउटा कुरा बुझेका छन्—उपभोक्ता गुणस्तरीय उत्पादनका लागि मूल्य तिर्न तयार छन् । उनका अनुसार फार्ममा उत्पादन भएका फलफूल तथा अन्य कृषि उपज किन्न उपभोक्ता आफैँ फार्ममा आउने गरेका छन् । कतिपयले बगैँचामै आएर फल टिपेर लैजाने गरेका छन् ।
यसलाई उनी स्वच्छ उत्पादनप्रतिको उपभोक्ताको विश्वासका रूपमा लिन्छन् । उनको विचारमा किसानले उत्पादनमा गुणस्तर कायम गर्न सके बजार खोज्न धेरै कठिन हुँदैन । त्यसैले अहिले किसानका लागि सबैभन्दा ठूलो आवश्यकता उत्पादन बढाउनु मात्रै नभई सुरक्षित, स्वच्छ र गुणस्तरीय उत्पादन गर्नु भएको उनी बताउँछन् ।
आँपको बगैँचाबाट एग्रो टुरिजमसम्म
शाहको सपना आँप बेचेर मात्रै सकिँदैन । एउटै फार्ममा यति धेरै प्रकारका फलफूल, तरकारी र पशुपन्छी पालन भइरहेको भएकाले उनले यसलाई भविष्यमा एग्रो टुरिजमको गन्तव्य बनाउने योजना बनाएका छन् ।
फार्ममा आउने मानिसले आँपको बगैँचा हेर्न सकून्, विभिन्न प्रजातिका फलफूल र तरकारीबारे बुझ्न सकून्, पशुपन्छी पालन प्रत्यक्ष अवलोकन गर्न सकून् भन्ने उनको योजना छ ।त्यससँगै फार्मलाई अर्गानिक एग्रो रिसोर्टका रूपमा विकास गर्ने उनको दीर्घकालीन सोंच छ । यसले उनको फार्मलाई उत्पादनको केन्द्रसँगै अवलोकन र अनुभवको गन्तव्य बनाउन सक्नेछ ।
बगैँचामा पाकिरहेको एउटा सम्भावना
१५÷१६ कठाबाट सुरु भएको नुरुधिन शाहको कृषि यात्रा अहिले २० बिघासम्म पुगेको छ । यात्रामा उनले जमिन मात्रै बढाएका छैनन्, कृषि गर्ने तरिका पनि परिवर्तन गरेका छन् । एउटै बालीमा निर्भर नहुने, उत्पादन विविध बनाउने, बजार खोज्ने र उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिने उनको प्रयास छ । अहिले भने उनको बगैँचामा पाकिरहेको अल्फान्जोले अर्को सम्भावनाको कथा भनिरहेको छ ।
बजारबाट अधिकांश आँप हराउँदैछन्, शाहको बगैँचामा अल्फान्जो अझै पाकिरहेको छ । यही ढिलो पाक्ने विशेषताले उनलाई बजारमा थप केही समय टिकाइरहेको छ ।
प्रतिगोटा रुखबाट उत्पादन, उत्पादनबाट बजार, बजारबाट आम्दानी र अब त्यही अनुभवबाट अरू किसानलाई बिरुवा बाँड्ने तयारी-शाहको अल्फान्जो यात्रा यही चक्रमा अघि बढिरहेको छ ।
रुपन्देहीको गर्मीमा फैलिएको उनको बगैँचा अहिले केवल आँपको बगैँचा होइन । यो परम्परागत खेतीबाट व्यावसायिक कृषितर्फ बदलिँदै गरेको एउटा किसानको प्रयोगशाला बनेको छ ।
जहाँ सिजन सकिँदा पनि केही आँपका रुखले फल दिइरहेका छन् र ती फलसँगै नुरुधिन शाहको नयाँ कृषि सम्भावनाको कथा पनि बजारतर्फ गइरहेको छ ।




