बुटवल । बुटवलको सुनचाँदी व्यवसायमा २५ वर्षदेखि निरन्तर सक्रिय न्यू पाल्पाली सुनचाँदी पसल नयाँ स्थानबाट सञ्चालनमा आएको छ। बुटवल–४ अमरपथ (बीपी पथ)बाट सेवा दिँदै आएको प्रतिष्ठान अब बुटवल–६ बीपीचोकबाट करिब १०० मिटर दक्षिण, पूर्ण चैत्य बुद्ध विहार नजिक सरेको हो।
प्रतिष्ठानले २०८३ साल साउन १७ गतेदेखि नयाँ स्थानबाट कारोबार सुरु गरेको छ।
२०५७ साल मंसिर ४ गते एमबी विश्वकर्मा एण्ड सन्सका नामबाट सुरु भएको व्यवसायले २५ वर्षको यात्रा पूरा गरेको हो। लामो व्यावसायिक यात्रालाई निरन्तरता दिँदै ग्राहकलाई थप सहज र व्यवस्थित सेवा दिने उद्देश्यले नयाँ स्थानबाट व्यवसाय सञ्चालनमा ल्याइएको एमबी विश्वकर्माले बताए।

२५ वर्षको अवधिमा सुनचाँदी व्यवसायसँगै दक्ष जनशक्ति उत्पादनमा समेत योगदान गरेको विश्वकर्माले बताए। उनका अनुसार प्रतिष्ठानबाट हालसम्म ५० भन्दा बढी दक्ष कालिगढ उत्पादन भएका छन्, जसले सुनचाँदी व्यवसायमा सीप हासिल गरी स्वरोजगार तथा रोजगारीको अवसर पाएका छन्।
सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा भने विभिन्न चुनौतीको सामना गर्नुपरेको विश्वकर्माले बताए। कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव, सुन कारोबारसम्बन्धी सरकारी नीति, कच्चा पदार्थको सहज उपलब्धतामा देखिने समस्या, व्यवसायको जोखिम तथा सुरक्षाको चुनौती र व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय सञ्चालनमा कठिनाइ थपिएको उनको भनाइ छ।
विशेषगरी सुनको मूल्यमा हुने निरन्तर उतारचढावले व्यवसायी र ग्राहक दुवैलाई प्रभाव पार्ने गरेको विश्वकर्माले बताए। कच्चा पदार्थको उपलब्धता, सरकारी नीति तथा सुरक्षाको विषयले सुनचाँदी व्यवसायलाई संवेदनशील बनाएको उनको भनाइ छ।

२५ वर्षको अनुभवलाई आधार बनाएर नयाँ स्थानबाट व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने लक्ष्य विश्वकर्माले लिएका छन्। ग्राहकको विश्वासलाई व्यवसायको मुख्य आधार मान्दै गुणस्तरीय सुनचाँदीका सामग्री, पारदर्शी कारोबार र भरपर्दो सेवामार्फत आगामी यात्रा अघि बढाउने उनले बताए।
स्थान परिवर्तन भए पनि २५ वर्षदेखि कायम ग्राहकको विश्वास र गुणस्तरीय सेवाको निरन्तरतालाई प्राथमिकतामा राखिने विश्वकर्माले बताए।




