बुटवल । बुटवल योगिकुटीको मणिमुकुन्द माविले आफ्ना अभिभावकलाई बाल मनोविज्ञानका विज्ञ प्रशिक्षकबाट अभिमुखीकरण गरेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्रीले अभिभावकले गर्भधारण देखि नै बच्चाको भविष्यको बारेमा सकारात्मक कुरा मात्रै सोच्ने र व्यवहारमा उतार्नुपर्ने सुझाव दिए । गर्भावस्थादेखि एक हजार दिनभित्र बच्चाको ८० प्रतिशत बढी मानसिक, शारीरिक विकास हुने भएकाले सोही अवधिलाई सदुपयोग गर्नुपर्नेमा वडाध्यक्ष क्षेत्रीले जोड दिए । वडाध्यक्ष क्षेत्रीले बालबालिकालाई गाली नगरी सकारात्मक कुरामार्फत पढाइको महत्व बुझाउनुपर्ने पनि बताए ।
विद्यालय सञ्चालक समितिका उपाध्यक्ष उमापति न्यौपानेले बालबालिकाको घर नै पहिलो पाठशाला भएको हुनाले अभिभावकले घरमा पढ्ने वातावरण बनाइदिनुपर्ने र असल संस्कार सिकाउनुपर्ने सुझाव दिए । मोबाइल फोनको अधिक प्रयोगले बालबालिकाको सिर्जनात्मक क्षमतामा ह्रास आइरहेकाले जन्म दिनमा केक काट्न छाडेर पुस्तक उपहार दिने बानीको विकास गर्न अभिभावकलाई सुझाव दिए । घरमा अभिभावकले पनि पुस्तक पढ्ने बानी विकास गर्नुपर्ने उपाध्यक्ष नयौपानेले आग्रह गरे ।
कार्यक्रममा प्रशिक्षक इन्द्रकुमार प्रसाईले अभिभावकहरुलाई आफ्ना सन्तानलाई कसरी असल विद्यार्थी, संस्कारी, अनुशासित र सक्षम नागरिक बनाउन सकिन्छ भन्ने विषयमा विविध पक्षबारे जानकारी गराएका थिए ।
विद्यार्थीले १८ घण्टा घरमै बिताउने भएकाले अभिभावकहरु विद्यालय वा कलेजको मात्रै भर परेर बस्न नहुने बरु घरमा पढ्न उत्प्रेरित गर्नुपर्ने बताए । आफ्नो बच्चाको मिल्ने साथीहरुको पढाइको स्तर कस्तो छ, उसको परिवारको पृष्ठभूमि कस्तो हो आदि बुझेर यदि पढाइमा कमजोर र पारिवारिक पृष्ठभूमि असल नभएका साथीहरु छन् भने उनीहरुसंगको संगत हटाएर पढाइ र घरको संस्कार राम्रो भएकालाई साथी बनाउन लगाउनुपर्ने प्रशिक्षक प्रसाईले सुझाव दिए ।
कार्यक्रममा संस्थाका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यार्थीलाई संस्कारी,अनुशासित र पढाइमा अब्बल बनाउन संस्थाले हरेक वर्ष ख्यातिप्राप्त मोटिभेसनल प्रशिक्षक ल्याएर अभिावक र विद्यार्थीलाई असल मार्गमा लाग्न उत्प्रेरित गर्दै आएको बताए । संस्थाले पढाइको गुणस्तरसँगै अनुशासन र संस्कारलाई उच्च प्राथमिकता दिएकाले मणिमुकुन्दको बेग्लै पहिचान बनेको बताए ।
कार्यक्रममा प्ले ग्रुपदेखि ३ सम्मका अभिभावक तथा कक्षा ४ देखि १० सम्मका करिब ८ सय अभिभावकलाई दुई चरणमा प्रशिक्षण दिइएको मणिमुकुन्द माविका संयोजक हरिप्रसाद पौडेलले बताए । अभिभावकहरु सुस्मा पाण्डे र सपना ओलीले अभिमुखिकरण कार्यक्रमले अभिभावकहरुको परम्परागत सोचाई र व्यवहार परिवर्तन गराई सकारात्मक कुरा सिकाएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका विद्यालयका शिक्षक प्रकाश सुवेदीले बताए ।




