विष्णु खनाल
नवलपरासी
खोलाका बगरहरूमा ढुङ्गा खोज्दै हातमा घन र छिनो बोकेर बिताएका वर्षहरूले संगिता पत्थरकट्टाको हत्केलामा ठेला मात्रै पारेका छैनन्, उनको जीवनमा अनगिन्ती सङ्घर्षका कथा पनि कोरेका छन् ।
नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाघोलाको सुकुम्वासी बस्तीको सानो टहरोभित्र ६ जनाको परिवार । न आफ्नो नाममा एक धुर जमिन छ, न त आम्दानीको अरू कुनै स्थायी स्रोत । तीन छोरा र एक बुहारीको जिम्मेवारी बोकेकी संगिताको दैनिकी श्रीमान् सुनिल पत्थरकट्टा, संगै सिलौटो, जाँतो, ओखली र खल बनाउने पुर्खौली काममै बित्छ ।
आधुनिक प्रविधिको विकाससँगै गाउँदेखि शहरसम्म मिक्स्चर र ग्राइन्डरको प्रयोग बढेपछि ढुङ्गाका औजार बनाउने यो समुदायको पेसा सङ्कटमा परेको छ ।
‘पहिले–पहिले मान्छेहरू सिलौटो किन्न घरै खोज्दै आउँथे,’ पुराना दिन सम्झिँदै संगिता भन्छिन्–‘अहिले त न राम्रो ढुङ्गा सहजै पाइन्छ, न त किन्ने मान्छे नै ।’
एउटा गतिलो ढुङ्गा खोज्न संगिता र उनका श्रीमान् देउराली, चिडिया, खम्बारी खोलाहरूसम्म पुग्छन् । समयमै ढुङ्गाको पुर्जि खुल्दैन्, खोलाको किनारमा दिनभरि ढुङ्गा खोजेर घरसम्म ल्याएर तयार गर्दा २५ देखि ३० दिन लाग्छ । यति धेरै दुःख र समय खर्चिएर तयार पारेको सिलौटो र जाँतोको बजार भने दिनप्रतिदिन खस्कँदो छ ।
पहिले ढङ्गुा लिनको लागि पुर्जि चाहिदैन थियो, सहज वातावरण थियो, तर अहिले यो वातावरण छैन । विना पुर्जि ढङ्गुा पाइदैन् । खोला मा तयार भएका ढङ्गुा बोलेरो चल्लने ठाउँसम्म ल्याउन ट्याक्टरको सहायता लिनुपर्छ । त्यसपछि घरसम्म ल्याउन बोलेरो । भाडामा नै ३ हजार र ८ हजार खर्च हुन्छ । घरसम्म ल्याउँदा बाटोमा पाईने सास्ती पनि कम्ताको छैन । एउटा ढुङ्गाबाट २ बटा सिलौटो तयार हुन्छ ।
संगिताका श्रीमान् सुनिल भन्छन्–‘हामीले दुःख गरेर बनाएको सिलौटो गाडीमा हालेर बेच्न लैजाँदा बाटोमा वन कार्यालय, पुलिस र चेकिङले बिल र पूर्जी माग्छन्, एउटा ढुङ्गाबाट दुईबटा सिलोटो तयार गरेका हुन्छौं । हामी पढेलेखेका छैनौँ, सबै सिलौटोको पूर्जी कहाँबाट ल्याउने कहिलेकाहीँ त गाडी नै रोकिदिन्छन्, लाइसेन्स÷बिलबुक राखिदिन्छन् र ४–५ हजारसम्म जरिवाना तिराउँछन् । केही समय अगाडि दाङबाट भाडा पसलले सिलोटो मगायो, तयारी सिलोटो बाटोमा लैजाने क्रममा चेकिङमा प¥यो पुर्जि माग्यो, सबै सिलोटोको पिसको पुर्जि थिएन् । १ महिना अगाडिको पुर्जिभयो भन्दै मानेन्न पछि टेन्डर लगाएर बेचिदिए । ३०–३५ हजारको पुर्जि सबै डुब्यो । हाम्रो १ महिना देखिको मेहनत र लगानी सवै डुब्यो । ढुङ्गा बेच्न खोज्दा बाटोमै उल्टै घाटा र सास्ती बेहोर्नुपर्छ । सरकारले हामीलाई ढुङ्गा फुटाउन र बेच्न पाउने एउटा परिचयपत्र बनाइदिए सहज हुने थियो ।’
सङ्घर्षको यो यात्रामा संगितालाई आफ्ना दुई ठुला छोराहरूको पढाइ छुट्नुको् गहिरो पीडा छ । १८ र २० वर्षका उनका दुई छोराहरूले ५ र ३ कक्षामा छँदै विद्यालय छोडे । पहिले पत्थरकट्टाहरुको आफनो घर हुँदैन्थ्यो । जहाँ काम गर्न गयो त्यहि पालटागेर बस्यो, काम सकिए पछि फेरि नयाँ गन्तव्य तय ग¥यो र बसाई स¥यो । थाई बसोवास नहुँदा छोराहरुको पढाइ पूरा गर्न नसकेको दुखेसो राख्छिन्, संगिता । २ महिना बर्दघाट, २ महिना कावासोती, २ महिना दाङका विद्यालयहरुमा छोराहरु पढ्न गए । फेरीई राख्ने विद्यालय र ठाउँले गर्दा छोराहरुको पढाइ पूरा हुन सकेन । मर्चाघोलाको सुकुम्वासी बस्तीमा झिगुटिले बारेर बस्न थालेपछि बल्ल छोराहरु निरन्तर एउटै विद्यालय जाने थाले । १०÷१२ वर्ष हुँदा साना–साना केटाकेटीसँग १ कक्षामा पढ्नुपर्दा लाज मानेर विद्यालय जानै मान्दैनथ्ये पछि बल्ल तल्ल ठुलो छोरा ५ कक्षा र माइलो छोरा ३ कक्षा पढेपछि विद्यालय जानै मानेन्न र पढाइ छ्ट्यो ।
अचेल उनीहरू बुटवल–बर्दघाट रुटको माइक्रोबसमा सह–चालक (खलासी) का रूपमा काम गर्छन् । दिनभरिको धुलो र भागदौडपछि हात पर्छ, मात्र २–३ सय रुपैयाँ । कहिलेकाहिँ त खालीहात नै आउँछन् । ‘ज्याला मजदुरीमा गए दिनको ५–६ सय त आउँछ, तर भविष्यका लागि कुनै सीप हुँदैन,’ संगिताले चिन्तित हुँदै भनिन्–‘छोराहरूले कुनै राम्रो सीप सिकून् भन्ने चाहन्छु ।’
सबै अभाव र चुनौतीका बाबजुद संगिताको आँखामा एउटा आशाको किरण बाँकी नै छ— त्यो हो, ५ वर्षका कान्छा छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना मनभित्र पालेर बसेकी छन् । छोराई पढाउन र दुःख बिमार पर्दा ५ रुपैया ब्याजमा साहुमहाजनकोबाट ऋण लिने गरेको संगिता बताउँछिन् ।
पश्चिम नवलपरासीको बर्दघाट, रुपौलिया, फेचुवा, गोपीगञ्ज, परासी, उज्जैनी र महेशपुर क्षेत्रमा बसोबास गर्ने पत्थरकट्टा समुदायको कथा संगिताको भन्दा फरक छैन । परम्परागत पेसा लोप हुने अवस्थामा पुगेको र आधुनिक सीप एवम् शिक्षाको अभावमा यो समुदाय सुकुम्बासी बस्तीमै सीमित हुन पुगेको छ ।
सङ्गिता भन्छिन्–‘हाम्रो न आफ्नो नाममा जग्गा छ, न त आम्दानी, सुकुम्वासी बस्तीमा सानो झुपडीमा बसेका छौँ । कहिलेकाहीँ त घरमा चामल नहुँदा भोकै बस्नुपरेको छ ।’ एकदिन घरमा चामल नभएपछि श्रीमान् र छोराहरु सुतिरहेकै वेला एका बिहानै सिलौटो बोकेर बजार तिर लागे गाउँ गाउँ दिनभर चर्को घाममा खाली पेटमा पानी पिउँदै हिंडे, तर साँझसम्म पनि सिलौटो बिक्री नभएपछि खाली हात घर फर्केको सम्झना उनको मनमा ताजै छ । उनी सुनाउछिन् कहिलेकाहि छिमेकीसँग मागेर पनि दिन काटे ।
नेपाल सरकारले अल्पसंख्यकहरुका लागि छुट्याएको मासिक भत्ता नै उनीहरुको खानाको स्रोत बनेको छ । सिलौटोको व्यापार पहिले जस्तो छैन् , विक्रिका लागि बजारसम्म लैजान सास्ती एकातर्फ छ भने प्रयोग नै गर्न नचाहाने पनि धेरै छन् । संगिता भन्छिन्–‘सरकारले अल्पसंख्यक हरुका लागि भत्ता नदिएको भए भोकै मर्नैथ्यौं । रासन सकिएको बेला आफूसँग पैसा नभए पनि भत्ता आएपछि दिन्छु भनेर पसलबाट उदारोमा समान पाएका छौं । बिरामी हँुदा ५ रुपैयाँ ब्याजमा भए पनि ऋण पाएका छौं, यो सरकारले दिएको भत्ताले गर्दा हो ।’
हातमा ठेला उठ्ने गरी ढुङ्गा काटिरहेकी संगिताको एउटै कामना छ— नयाँ पुस्ताले ढुङ्गासँगै आफ्ना सपनाहरू फुटाउनु नपरोस्, उनीहरूले सीप र शिक्षा पाएर आफ्नो खुट्टामा उभिन सकून् ।




