राष्ट्रिय स्वतन्त्र पार्टी अहिले दुई तिहाई नजिक सिट ल्याएर सरकार सञ्चालन गरिरहेको छ । स्थापनाको छोटो समयमै उसले पाएको सफलता ऐतिहासिक हो । मिश्रित निर्वाचन प्रणालीमा बहुमत ल्याउन कठिन हुने भन्दै विश्लेषण भइरहेका बेला रास्वपाले दुई तिहाईको बहुमत ल्याएर निर्वाचन प्रणालीप्रति गरिएको प्रश्नलाई नै चुनौती दियो । जनलहरलाई कसैले रोक्न सक्तैन् भन्ने तथ्यलाई स्थापित गर्न सफल रास्वपा अहिले बाटो बिराएको बटुवा झै हुन थालेको छ ।
निर्वाचन भएको ६ महिना नबित्दै रास्वपा र सरकारप्रति नागरिकका अपेक्षा र आशा घट्न थालेको देखिन्छ । उससँग धेरै प्रश्न छन् । दुई तिहाई नजिकको सरकारसँग नागरिकका अपेक्षा साँघुरिनु स्वभाविक होइन् । चुलिएका नागरिकका अपेक्षा पूरा गर्न बलियो सरकारको अपेक्षा थियो, त्यो अवसर रास्वपाले पाएको छ, त्यो अवसरलाई कार्यान्वयन गर्ने बेला हो यो ।
यो बेला सरकार दीर्घकालीन प्रभाव पार्ने नीतिगत सुधार र नागरिकलाई सहज सेवाप्रवाहका लागि अहोरात्र खट्नुपर्नेमा स्टण्डमा लाग्दा समस्या श्रृजना भएको छ । सरकार र पार्टी बिचको सम्बन्ध सहज अघि बढाउन पार्टी अध्यक्ष रवि लामिछानेले जति मिहिनेत गरिरहेका छन्, प्रधानमन्त्री बालेन्द्र साहले बेवास्ता गरिरहेका छन् । पार्टी केन्द्रीय कमिटीको बैठक बसिरहेको छ, वरिष्ठ नेता समेत रहेका साह मुस्ताङको निजी भ्रमणमा हिडेका छन् । चुनाव जितेपछि झापामा अझै उनी फर्केका छैनन् । उनको कार्यशैलीले पार्टी भन्दा व्यक्तिलाई प्रधान ठानेको देखिन्छ । पार्टी एउटा संस्था हो । यो संस्थालाई विधिमा चलाउन सक्दा पार्टी पंक्ति चलायमान हुन्छ, सरकार सञ्चालन सहज हुन्छ, तर पार्टी सञ्चालन र सहभागितामा उनको बेवास्ताले सरकार र पार्टीबीचको दुरी बढ्दै गएको देखिन्छ । महाधिवेशन गरेको पार्टीले केन्द्रीय समितिमा मनोनयन र जिम्मेवारी बाँडफाँटलाई सक्रियता देखाएर संगठनलाई चलायमान बनाउने प्रयास गरेको छ । यद्यपी अझै टुंगो लागेको छैन । महाधिवेशनपछि अपेक्षित पार्टी लयमा लैजान सभापति लामिछानेको भूमिका अझै फराकिलो हुनुपर्नेछ, दुई तिहाई बहुमत पाएर सरकार चलाएको पार्टी व्यवस्थापन फितलो भयो भने त्यसले ल्याउने निशारा मुलुक र लोकतन्त्रकै लागि जोखिम हुनेछ ।
सुकुम्वासी समस्या समाधान गर्न सरकारले अहिले अघि सारेको नीति असफल भइसकेको छ । बागमती किनारबाट हटाएर होल्डिङ सेन्टर राखियो । त्यहाँबाट निकालेपछि अहिले अलपत्र परेका छन् । देशभर भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई एउटै डालोमा राखेर हेरियो भने समस्या समाधान हुँदैन । बजारलाई चलायमान बनाउन निजी क्षेत्रलाई विश्वासमा लिन सरकार चुकेको छ । त्रस्त निजी क्षेत्रले काम गर्ने उर्जा गुमाएको छ । विज्ञ अर्थमन्त्रीले अपरिपक्कता देखाउँदा सरकारप्रति निजी क्षेत्रको आशा धरर्मराएको छ । पहिले सबै गलत भएको थियो र हामीले नयाँ गर्ने हो भन्ने मनोविज्ञानबाट काम गर्दा शिक्षा क्षेत्रले लय समाउन सकेको छैन । सुधार गर्नुपर्ने क्षेत्रमा गर्ने र पहिलेदेखि राम्रै भएका कामलाई किन गिजोल्नुप¥यो ?
पार्टी सभापति लामिछाने चुनावमा प्राप्त नतिजाले धेरै जिम्मेवार हुनुपर्ने बताइरहेका छन्, तर प्रधानमन्त्रीको सचिवालयको उदण्ड र अराजक क्रियाकलापले रास्वपाको साख गिराएको छ ।
अख्तियार प्रमुख सहितलाई प्रधानमन्त्री कार्यालय बोलाएर ¥याख¥याख्ती पार्दै राहदानी प्रकरणमा मुद्दा चलाउन दिएको दबाब छताछुल्ल भएको छ । रास्वपा सांसदहरुलाई जिम्मेवार बन्न, तथ्यहिन कुरा गरेर अविश्वसनीय नबन्न निर्देशन दिँदा पनि आशिका तामाङ र खगेन्द्र सुनारसहित कतिपय सांसद अराजक बन्दा अन्ततः त्यसको मूल्य पार्टीले चुकाउँदैछ । समय अझै छ, रास्वपा लथालिङ्ग हुँदा त्यसको मूल्य मुलुकले चुकाउँछ, समाजमा बढेको अराजकता अझै चुलीमा पुग्छ । त्यसैले प्रधानमन्त्री बालेन्द्र साह र सभापति रवि लामिछानेले लय मिलाएर पार्टी प्रणाली स्थापित गर्न ढिलाइ गर्न हुन्न ।




