अनुष्का बानियाँ
धेरै जसो महिलाहरूले घर बाहिर काम गरे पनि घरको सम्पूर्ण जिम्मेवारी आफैँले सम्हाल्दै आएका छन् । धेरै थाकेका बेला र परिवर्तनको तीव्र चाहना हुँदाहुँदै पनि उनीहरु आफ्ना तोकिएका यही रीतिथिति मान्न बाध्य छन् । सबै महिलाहरुलाई त होइन, तर धेरैजसो महिलाहरुले यस्तै घरायसी वातावरणको सामना गर्नुपर्छ, जहाँ उनीहरुले बिहानदेखि रातसम्म खटिरहन्छन्, जबकि उनीहरुका श्रीमान भने केही सहयोग नगरी आराम गरिरहेका हुुन्छन् । जसले गर्दा धेरै महिलाहरुले शारीरिक समस्याका साथसाथै मानसिक तनावको सामना गर्नुपरेको छ । जब महिलाहरुलाई आफ्नै घरभित्र समान व्यवहार गरिंदैन भने हामी बाहिरी संसारमा समानताको सुरुवात हुन्छ भनेर कसरी आशा गर्न सक्छौं ?
यी महिललाहरु प्रायः परम्परागत सामाजिक मान्यता वा आफ्नै भित्री मानसिकताबाट बाँधिएका हुन्छन् । विशेष गरी भित्रैसम्म गडेर रहेको यो विभेदकारी मानसिकताको कारण धेरै महिलाहरुले परिवर्तन चाहेर पनि आवाज उठाउन सक्दैनन् । अन्तरनिहित लैङ्गिक विभेद भनेको समाजको विभेदकारी सोंच र नियमहरुलाई महिला आफँैले सही मानेर चुपचाप स्वीकार गर्नु वा अन्जानमै महिलाप्रति नै गलत धारणा राख्नु हो । हाम्रो समाजमा लैङ्गिक मान्यताहरुले भरिएको थुप्रै कथा व्यथाहरु छन् । घरको काम त हेरचाह गर्ने जिम्मेवारी महिलाले मात्रै हो भन्ने सोंचले उनीहरुलाई निरन्तर थकित बनाइरहन्छ । यदि कसैले आवाज उठाइहाले भने पनि यो समाजले उनीहरुको आवाज दबाइदिन्छ । घरको कामलाई महिलाले मात्र बोझ नभई सबैको साझा जिम्मेवारी मानिनुपर्छ । जबसम्म हाम्रा घरका ढोकाभित्र वास्तविक लैङ्गिक समानता आउँदैन, तबसम्म महिलाहरुका लागि साँचो स्वतन्त्रता र न्यायको यात्रा अपुरै रहनेछ । समानता कायम हुनका लागि पितृसत्तात्मक समाज बदलिनै पर्छ र त्यो परिवर्तनका लागि पहिले हामी आफू बदलिनुपर्छ, किनकि समाज अरु कोही नभएर हामी नै हौं । जबसम्म हामीले आफ्नो सोंच र दृष्टिकोण बदल्दैनौं तबसम्म यो समाजले सबैलाई समानता दिन सक्दैन । महिलाहरु भान्सामा मात्र सीमित हुनुपर्छ भन्ने यो मान्यता पूर्णरुपमा गलत छ र यसलाई बदल्न आवश्यक छ । कागजमा लेखेर वा हस्ताक्षर गरेर मात्र होइन वास्तविक जीवनमा व्यवहारमै उतारेर महिलाहरु यस संसारमा अनगिन्ती संघर्षहरुको सामना गर्छन् । उनीहरु जीवनका सृष्टिकर्ता हुन्, त्यसैले उनीहरुलाई ओझेलमा पारिनु हुँदैन । केवल बराबर । समाजले महिलालाई वस्तुका रुपमा होइन, एउटा व्यक्तिका रुपमा हेर्न आवश्य कछ । उनीहरु स्वतन्त्र भएर र समानताका बारेमा ठूलाठूूला कुरा गरिए पनि वास्तवमा त्यो कुरा हाम्रो व्यवहारमा र सोंचमा पूर्णरुपमा लागू भएका छैनन् । यदि नारीवादका कुरा केवल शब्दमा सीमित नभई वास्तविक रुपमा कार्यान्वयन भएको भए आज लाखौं महिलाहरु आफ्नै घरभित्र पीडा सहेर बस्नुपर्ने थिएन ।
भारतीय चलचित्र मिस्टर आज पनि महिलालाई कसरी व्यवहार गरिन्छ भन्ने कुराको उत्कृष्ट प्रतिनिधित्व हो । एमएसले अदृश्य श्रम, पितृसत्तात्मक परम्परा र व्यक्तिगत पहिचान गुमाउँदै जाने अवस्थालाई उजागर गर्छ । परम्परागत अपेक्षाहरुले महिलालाई घरायसी जीवनमा सीमित गरिदिँदा उनीहरुले समाना गर्नुपर्ने संघर्षको यो कथा नेपालको धेरै घर परिवारको वास्तविकतासँग पनि मेल खान्छ । महिलाहरु एक यस्तो अवस्थामा पुग्छन् जहाँ उनीहरुले आफ्नो व्यक्तिगत पहिचान नै गुमाउन थाल्छन् र अफूमा जबरजस्ती थोपिएका अपेक्षाहरु पूरा गर्नकै लागि मात्र बाँच्न थाल्छन् ।
प्रायः महिलाको मूल्यलाई अनुचित रुपमा केवल घरायसी कामकाज र जिम्मेवारी जोडेर हेरिन्छ । उनीहरु आफ्ना व्यक्तिगत करियरका लक्ष्य रुचि र सपनाहरुलाई कठोर सामाजिक मान्यता र परम्परागत सोंचसँग सन्तुलनमा राख्न संघर्ष गरिरहेका हुन्छन् ।
यो विषय केवल नारीवादका बारेमा बाहिर बहस वा नारासम्म सीमित छैन, यो महिलालाई हाम्रो दैनिक जीवनमा वास्तवमा कसरी व्यवहार गरिन्छ भन्ने कुरासँग जोडिएको विषय हो । महिलाहरुले आफ्नै घरभित्र भेदभाव, नियन्त्रण र अवास्तविक अपेक्षाहरुको सामना गरिरहँदा केवल शब्दमा समानताको कुरा गरेर मात्र वास्तविक समानता कायम हुन सक्दैन । समाजले महिलामाथि थोपरिएका भूमिकाहरु पूरा गर्नकै लागि उनीहरुले आफ्नो पहिचान सपना र स्वतन्त्रता गुमाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।
महिलाको मूल्य उनीहरुले अरुको कति राम्रोसँग सेवा गर्न सक्छन् भन्ने आधारमा होइन, उनीहरु पनि आफ्नै सपना इच्छा र पहिचान भएका स्वतन्त्र व्यक्ति हुन् भन्ने कुरालाई स्वीकार गरेर निर्धारण गरिनुपर्छ । यदि हामी साँच्चिकै महिलाहरुले सुरक्षित, सम्मानित र समान महसुस गर्ने समाज निर्माण गर्न चाहन्छौं भने परिवर्तन बाहिरबाट होइन आफ्नै घर, परिवार र सबैभन्दा महत्वपूर्ण रुपमा हाम्रो सोंचबाट सुरु हुनुपर्छ । समानता माग्ने कुरा होइन, व्यवहारमा उतार्ने जिम्मेवारी पनि हो । जबसम्म महिलालाई घरभित्र समान स्थान दिइदैन, तबसम्म बाहिरी संसारमा पूर्ण समानताको अपेक्षा गर्नु अधुरो हुनेछ । वास्तविक परिवर्तन त्यतिबेला मात्र सम्भव हुन्छ, जब हरेक महिलालाई आफूले चाहेको जीवन बाँच्ने अधिकार भएको एक स्वतन्त्र मानवको रुपमा हेरिन्छ ।




