२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खरानीबाट उठेका उद्यमशील प्रकाश

खरानीबाट उठेका उद्यमशील प्रकाश

विभिन्न व्यवसायमा हात हाल्दा निकै ठुला अवरोह भोगेका उनी ६ करोडको व्यवसाय आगलागीबाट खरानी भएपछि फेरि उठ्दै छन् ।

खरानीबाट उठेका उद्यमशील प्रकाश

खरानीबाट उठेका उद्यमशील प्रकाश

विभिन्न व्यवसायमा हात हाल्दा निकै ठुला अवरोह भोगेका उनी ६ करोडको व्यवसाय आगलागीबाट खरानी भएपछि फेरि उठ्दै छन् ।

खरानीबाट उठेका उद्यमशील प्रकाश
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • बुटवल
    २०८१ असार ६ गते बुटवल मिलनचोक डेल्टा भवनमा रहेको ‘नेपाली लुगा घर’ मा आगलागी भयो । व्यवसायी प्रकाश भुसालका लागि त्यो दिन एउटा पसल जलेको दिन मात्र थिएन, वर्षौंको लगानी र व्यवसायिक योजनामा एकैपटक ब्रेक लागेको दिन थियो ।
    करिब ६ करोड रुपैयाँ लगानी रहेको व्यवसायमा आगलागी हुँदा भुसालले भौतिक सम्पत्तिसँगै ठूलो आर्थिक दायित्व पनि व्यहोर्नुप¥यो । व्यवसाय ऋणमा थियो । कर्मचारीको जिम्मेवारी थियो । परिवारको खर्च थियो । तर आगलागी भएको केही दिनमै उनले फेरि गार्मेन्ट व्यवसाय सुरु गरे । सुरुवातमा थिए जम्मा दस वटा सिलाई मेसिन र पाँच जना कालिगढ । “अब उठ्न त पर्यो, हिजो–अस्तिजस्तो प्रकाश भुसाल भएर भएन, म २०६५ सालमा फर्किन चाहन्छु ।”– आगलागीपछिको समय सम्झँदै उनी भन्छन् । दुई वर्षअघि सुरु गरिएको नयाँ गार्मेन्ट व्यवसाय अहिले बुटवलका तीन स्थानमा सञ्चालनमा छ । सुर्खेत र धनगढीसम्म अर्डरअनुसार उत्पादन पुगिरहेको छ । सबै मिलाएर करिब ६० जना कर्मचारी कार्यरत रहेको भुसाल बताउँछन् । तर यहाँसम्म आइपुग्नुअघि उनको व्यवसायिक यात्रा धेरै मोडबाट गुज्रिएको छ ।


    छ महिनामै छुट्टिएको परिवार
    भुसाल जन्मेको छ महिनामै उनका आमाबुबाको सम्बन्धविच्छेद भयो । आमासँग हुर्कने अवसर  नपाएका उनी हजुरआमा र बुबाको संरक्षणमा हुर्किए । बुबा व्यवसायमा थिए । गाउँमा प्रारम्भिक पढाइ गरेका उनले कक्षा १ देखि ५ सम्म बोर्डिङ् स्कुलमा पढे । माओवादी द्वन्द्वका क्रममा बोर्डिङ बन्द भएपछि सरकारी विद्यालयमा पढ्न गए । कक्षा आठपछि उनको पढाइ बुटवलमा सुरु भयो । अक्सफोर्ड स्कुलमा कक्षा आठबाट पढ्न थालेका भुसाललाई सुरुमा आफू गाउँबाट आएको र बुटवलका विद्यार्थीभन्दा कमजोर रहेको महसुस हुन्थ्यो । कक्षा नौमा पुगेपछि भने एउटा घटनाले उनको सोच बदलियो ।


    अक्सफोर्ड स्कुलका तत्कालीन गणित शिक्षक दिनेश भुसालले कक्षामा गेस्ट पेपरबाट एउटा प्रश्न बोर्डमा लेखे । अगाडि बसेका केही विद्यार्थीले प्रयास गरे, तर समाधान गर्न सकेनन् । भुसाल पछाडि थिए । उनी पनि समाधान गर्न सक्छु भन्नेमा विश्वस्त थिएनन् । तर अन्ततः बोर्डमा गएर प्रश्न हल गरे । त्यो घटनाले उनलाई पढाइप्रतिको दृष्टिकोण बदल्न मद्दत ग¥यो । “मेहनत नगरेर पो रहेछ, नपढेर पो रहेछ, भोलि सरले जे पढाउनुहुन्छ, त्यो आजै पढ्नुपर्ने रहेछ ।”–उनी सम्झन्छन् । त्यसपछि गणितमा उनको रुचि बढ्यो । कक्षा १० मा पढ्दा उनले कक्षा नौका विद्यार्थीलाई गणित पढाउन थाले ।


    पढाइसँगै उनको रुचि व्यवसायमा पनि बढ्दै थियो । कक्षा नौमा नै उनले ‘स्टुडेन्ट कम्प्लेक्स’को अवधारणा बनाए । करिब २२ पृष्ठको प्रस्ताव लेखे । बैंकको प्रस्तावनासम्बन्धी पुस्तकबाट सन्दर्भ लिएर उनले व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने खाका तयार पारे । त्यो प्रस्ताव विद्यालयका प्रिन्सिपललाई देखाए । त्यतिबेला नै व्यवसायप्रति आफ्नो रुचि स्पष्ट भएको उनी बताउँछन् । २०६० सालमा एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि उनी तिलोत्तमा क्याम्पसमा आइएससी पढ्न गए ।


    विद्यार्थीबाट उद्यमी बन्ने बाटो
    आइएससी पढ्दा भुसाल विद्यार्थी नेतृत्वमा पनि सक्रिय भए । क्याम्पसको क्यान्टिनमा खाना गुणस्तरीय नभएको र मूल्य उचित नभएको भन्दै विद्यार्थीको नेतृत्व गरे । उनीहरूको आन्दोलनपछि क्यान्टिन बन्दसमेत भएको भुसाल बताउँछन् । त्यसपछि इञ्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न काठमाडौं पुगे । साथी विवस पराजुलीसँग एउटै कोठामा बसेर केही समय पढे । तर उनको ध्यान विस्तारै पढाइबाट व्यवसायिक योजनातर्फ मोडियो । काठमाडौंमा धेरै समय नबिताई उनी बुटवल फर्किए ।

    बुटवलमा साथीको घरमा बसेर ट्युसन पढाउन थाले । केही घरबाट शुल्क पाए, एउटा घरले भने तीन महिनाको पढाइको पैसा नदिएको उनी सम्झन्छन् । ट्युसन पढाएर जम्मा गरेको करिब २५ हजार रुपैयाँबाट सात जना साथी मिलेर शिक्षण संस्था सुरु गरे ।
    त्यतिबेला बुटवलमा मेडिकल तथा इञ्जिनियरिङ प्रवेश परीक्षाको तयारी गराउने संस्था सीमित थिए । उनीहरूले नमूना परीक्षा, सेमिनार र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरे । संस्था विस्तार हुँदै चितवन र दाङसम्म पुग्यो । तर भुसालको सोंच संस्थाको तत्कालीन कारोबारभन्दा फराकिलो थियो । उनी दीर्घकालीन शैक्षिक संरचना बनाउने पक्षमा थिए । साझेदारहरू त्यसमा सहमत नभएपछि उनले अलग भएर आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे ।


    तीन लाखबाट युनिफर्म व्यवसाय
    बुटवलमा व्यवस्थित युनिफर्म व्यवसायको सम्भावना देखेर भुसालले नयाँ व्यवसाय सुरु गरे । उनले जम्मा गरेको करिब तीन लाख रुपैयाँ थियो । थप तीन लाख रुपैयाँ भिनाजुबाट लिए । काठमाडौंका आपूर्तिकर्तासँग अग्रिम रकम दिएर सामान ल्याउने व्यवस्था मिलाए । बुटवलमा टिसर्ट, ट्र्याकसुटलगायतका पोसाक विद्यालय युनिफर्मका रूपमा प्रयोग गर्ने अभ्यास उनले सुरु गरे । त्यो व्यवसाय विस्तार हुँदै गयो । तर पुराना व्यवसायीबाट विरोध पनि भयो । “मैले तिमीहरूको बिजनेस चोरेको होइन । तिमीहरूले एउटा सर्ट र पाइन्टमा व्यवसाय गरिरहेका थियांै, मैले त्यसमा अरू उत्पादन थपेर भोलुम बढाएको हुँ ।”– विरोध गर्ने व्यवसायीलाई आफूले त्यतिबेला भनेको भुसाल सम्झन्छन् ।


    विरोधका बाबजुद व्यवसाय चल्यो । तर उनको ध्यान फेरि अर्को क्षेत्रमा गयो।नेपालमा उत्पादन नभएको एल्युमिनियम कन्टेनर उत्पादन गर्ने उद्योगको सम्भावना देखेर भुसाल भारत पुगे ।


    मेसिन खरिदका लागि भारतीय कम्पनीलाई पाँच लाख रुपैयाँ अग्रिम पठाए । तीन महिनामा मेसिन उपलब्ध गराउने भनिएको थियो । तीन महिना बित्यो, तर मेसिन आएन । समय थपिँदै गयो । दुई वर्षसम्म पनि मेसिन नआएपछि उनले भारतीय कम्पनीविरुद्ध कानुनी बाटो रोजे । नयाँ दिल्लीस्थित साकेत अदालतमा मुद्दा दायर गरे । त्यतिबेला कोभिड पनि सुरु भयो । यात्रामा कठिनाइ थियो । परिवारले सुरक्षा चिन्ता व्यक्त गरे । पैसा छाडेर फर्किन परिवार र आफन्तले सुझाए । तर भुसाल पछि हटेनन् । “म त्यसमा १० वर्ष मुद्दा लडेँ ।” –उनी भन्छन् । अन्ततः मुद्दा जिते । तर मेसिन नआएकाले उद्योग सञ्चालन गर्ने योजना भने अघि बढ्न सकेन ।


    त्यसपछि उनी जलविद्युत परियोजनामा जोडिए । करिब २५ मेगावाट क्षमताको परियोजनाको वित्तीय व्यवस्थापनमा काम गरे । सुरुमा परियोजना विस्तार गर्ने योजना बन्यो । लगानीकर्ता जोडिए । सञ्चालक समिति बन्यो । तर विस्तारै परियोजनाको नियन्त्रण आफ्नो हातबाट बाहिरिएको उनको अनुभव छ । भुसालको शब्दमा, परियोजना ‘अपहरण भएजस्तो’ भयो । समूहगत विवाद बढ्यो । व्यवस्थापन फेरियो । परियोजनाको लागत बढ्यो । कोभिडका कारण आर्थिक समस्या थपियो । त्यसपछि उनी फेरि कपडा व्यवसायमै फर्किए ।


    ६ करोडको नेपाली लुगा घर खरानी बन्यो
    भुसालले आफ्नै लगानीमा ‘नेपाली लुगा घर’ सञ्चालनमा ल्याए। कुल लगानी करिब ६ करोड रुपैयाँ पुगेको उनी बताउँछन् । त्यसमध्ये करिब एक करोड रुपैयाँ उच्च ब्याजदरमा ‘बिजी’मार्फत् जुटाइएको थियो । ब्याजदर मासिक १७–१८ प्रतिशतसम्म रहेको उनको भनाइ छ । व्यवसाय विस्तार भइरहेको थियो ।


    त्यसैबिच २०८१ असार ६ गते आगलागी भयो । आगो सुरु भएको करिब दुई घण्टापछि मात्र उनको लुगा घरसम्म पुगेको थियो । त्यस अवधिमा आएका दमकलले प्रभावकारी रूपमा आगो नियन्त्रण गर्न नसकेको उनको दाबी छ । “पहिलो दमकल आयो, आगोमा एक थोपा पानी पु¥याउन सकेन। दोस्रो दमकल आयो, त्यसले पनि पु¥याउन सकेन, तेस्रो दमकलले भित्तामा मात्र पानी हाल्यो, आगोतिर केही परेन ।”–उनी भन्छन् । आगलागीको दृश्य अहिले पनि कहिलेकाहीँ उनको सपनामा आउँछ, उनी भन्छन्–“एउटा गतिलो दमकल भइदिएको भए हामी सुरक्षित हुन्थ्यौं ।” आगलागीपछि उनको व्यवसाय शून्यमा झ¥यो । तर दायित्व भने बाँकी नै थियो । ऋण थियो । कर्मचारी थिए । परिवार थियो । त्यतिबेला श्रीमती नर्स, अस्पतालमा काममा जान्थिन् । तीन छोराछोरी विद्यालय जान्थे । आफू भने व्यवसायविहीन थिए । केही दिन उनी गाडी लिएर बुटवल–भैरहवा ओहोरदोहोर गरिरहे । संगीत सुन्थे । समय कटाउँथे । त्यसपछि उनले आफ्नो विगत सम्झिए । आगलागीपछि आफूलाई सम्हाल्ने क्रममा भुसालले आफ्नो सुरुवाती दिन सम्झिए । “प्रकाश, तैले सुरु गरेको पाँच हजारबाट हो । तेरो बुटवलमा आएको करिअर पाँच हजारबाट स्टार्ट भएको हो । के हिम्मत हार्छस् ?”–आफूलाई त्यही प्रश्न गरेको उनी बताउँछन् ।


    त्यही सोँचले उनलाई फेरि काममा फर्कायो । पुरानै ‘ह्वाइट हाउस’ नामबाट गार्मेन्ट व्यवसाय सुरु भयो । तर यसपटक लगानी थिएन । दश वटा सिलाइ मेसिन किनियो । पाँच जना कालिगढ राखिए ।


    कपडा आपूर्तिकर्ताबाट छ महिनासम्म उधारोमा सामान ल्याउने व्यवस्था भयो । ठूलो परिमाणमा सामान किन्नेभन्दा आवश्यकताअनुसार थोरै–थोरै सामान लिने र बिक्रीपछि भुक्तानी गर्ने नीति अपनाइयो । सुरुवातका दिनमा भुसाल आफैंले कपडा नाप्ने, उत्पादन हेर्ने र खर्च घटाउने काम गरे । बिस्तारै अर्डर बढ्यो । आगलागीपछि सुरु गरिएको गार्मेन्ट व्यवसाय अहिले बुटवलका तीन स्थानमा सञ्चालनमा छ । जेसीस चोकमा ‘ह्वाइट हाउस’को मुख्य पसल छ । देवीनगरको ब्ल्याक फरेस्ट क्षेत्र र सुखनगर चोकमा पनि पसल छन् । सुर्खेत र धनगढीमा स्थानीय कालिगढमार्फत् अर्डर संकलन र उत्पादनको काम भइरहेको भुसाल बताउँछन् । सुरुवातका पाँच कर्मचारी अहिले करिब ६० पुगेका छन् ।


    विद्यालय, संघसंस्था, कार्यालय र फेन्सी पसलबाट अर्डर आउने गरेका छन् । स्टकमा सामान उत्पादन गरेर राख्नेभन्दा अर्डर आएपछि उत्पादन गर्ने उनको अहिलेको व्यवसायिक मोडल हो । “बजारमा अर्डर कलेक्सन हुन्छ । त्यो अर्डर कलेक्सन भएपछि जस्तो अर्डर आउँछ, हामी त्यो बनाउँछौं ।”–उनी भन्छन् । उनका अनुसार अहिले व्यवसायबाट आफू सन्तुष्ट छन् ।


    कच्चा पदार्थदेखि बजारसम्म चुनौती
    व्यवसाय पुनः सञ्चालनमा आए पनि चुनौती सकिएका छैनन् । कच्चा पदार्थका लागि बाहिरी बजारमा निर्भर हुनुपर्ने भएकाले इन्धनको मूल्यमा हुने उतारचढावले उत्पादन लागत प्रभावित गर्ने भुसाल बताउँछन् । इन्धनको मूल्य बढेपछि ढुवानी र कच्चा पदार्थको लागत बढ्ने, तर मूल्य घट्दा त्यसको प्रभाव उत्पादन लागतमा तत्काल नदेखिने उनको गुनासो छ । यद्यपि व्यवसाय विस्तारको योजना उनले छाडेका छैनन् । अब उनको लक्ष्य नेपाली उत्पादनमा फर्किने हो ।


    ३३ वर्ष पुरानो योजना अझै बाँकी
    कक्षा ९ मा अध्ययन गर्दा कापीमा लेखेको व्यवसायिक योजनादेखि अहिलेको गार्मेन्टसम्म आइपुग्दा भुसालले धेरै व्यवसायिक प्रयोग गरिसकेका छन् । कुनै व्यवसाय चले, कुनै बन्द भए । कतिपयले उनलाई अदालत पु¥याए । कतिपय परियोजनामा साझेदारी विवाद भयो । र पछिल्लो ठूलो व्यवसाय आगलागीमा गुम्यो ।


    तर आफ्नो मूल सोचबाट विचलित नभएको उनी बताउँछन्।“मैले एसएलसी दिँदा सोचेको कन्सेप्टमा म कति पनि विचलित छैन ।”– उनी भन्छन् । अब उनले विगतमा सुरु गरेको नेपाली लुगा र नेपाली जुत्ताको उत्पादन व्यवसायलाई पुनः अघि बढाउने योजना बनाएका छन् । “छिट्टै नै सुरु गर्छु भन्नेमा छु ।”– उनी भन्छन् । उनका लागि उद्यमशीलता केवल व्यापार विस्तार गर्ने माध्यम होइन । आत्मनिर्भर बन्ने र त्यससँगै समाजका लागि काम गर्ने योजना पनि रहेको उनी बताउँछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij