प्रकाश डोटेल
स्याङ्जा
स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले अकबरे खुर्सानी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वादसँगै स्वास्थ्यका दृष्टिले समेत महत्वपूर्ण मानिएको अकबरे खुर्सानीको व्यावसायिक उत्पादन र उत्पादकत्व विस्तार गर्न नगरपालिकाले कृषकलाई अनुदान, प्राविधिक सहयोग, तालिम, बीउ तथा मलखाद उपलब्ध गराउँदै आएको छ ।
स्थानीयस्तरमा अकबरे खुर्सानी अर्थात् डल्ले खुर्सानीको उत्पादन बढाएर कृषकलाई नगदे बालीतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । गत आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रममा नगरपालिकाले हेफर परियोजनासँग सहकार्य गर्दै कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक सहयोग दिएर खुर्सानी खेती विस्तार र प्रवद्र्धन गरेको हो ।
प्राविधिक मूल्यांकनका आधारमा समूह, सहकारी तथा फार्म छनोट गरी नगरपालिकाका नौवटै वडामा कार्यक्रम सञ्चालन गरिएको छ । छनोटमा परेका कृषकलाई खेतीबारे प्राविधिक सहयोग तथा तालिमसँगै बिउबिजन, मलखाद र आवश्यक अनुदानसमेत उपलब्ध गराइएको छ । कार्यक्रमअन्तर्गत कृषकले उत्पादन गरेका खुर्सानी बजारमा समेत पठाउन थालिएको छ ।
पहिलो चरणमा झण्डै दुई क्विन्टल खुर्सानी बुटवल आसपासका विभिन्न शहरमा निर्यात गरिएको छ । कृषकले प्रतिकिलो दुई सय रुपैयाँका दरले खुर्सानीको मूल्य प्राप्त गरेका छन् । खुर्सानीको उत्पादन सुरु भएसँगै नगरपालिकाले कृषकबाट उत्पादित खुर्सानी संकलन गरी बजार पठाउने व्यवस्था मिलाएको छ । हप्ताको दुई पटक खुर्सानी संकलन गरी बाह्य बजारमा पठाउने गरिएको छ । उत्पादनपछि बजार पठाउँदासम्म कृषकले झेल्दै आएको समस्या समाधान भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सबै वडामा गरी झण्डै ५० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । हेफर परियोजना प्रमुख पिताम्बर बस्यालका अनुसार चालु सिजनमा तीन सय क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन बढ्दै गएपछि बजार व्यवस्थापन र कृषकलाई उचित मूल्य दिलाउनेतर्फ समेत ध्यान दिइएको उनले बताए । पछिल्लो समय देशका विभिन्न शहर तथा बाह्य बजारमा अकबरे खुर्सानीको माग बढ्दै गएसँगै व्यावसायिक खेतीबाट कृषकले राम्रो आम्दानी लिन सक्ने नगरपालिकाले जनाएको छ ।
खुर्सानी खेतीका लागि ठूलो क्षेत्रफल आवश्यक नपर्ने हुँदा साना तथा सीमान्तकृत कृषकले व्यावसायिक रुपमा उत्पादन थालेका छन् । थोरै क्षेत्रफलमा समेत राम्रो उत्पादन लिन सकिने र बजारमा मूल्य स्थिर र उच्च रहेकाले कृषकलाई नियमित आम्दानीको आधार बन्न सहयोग पुग्ने विश्वास गरिएको छ । अकबरे खुर्सानीलाई कृषि आधुनिकीकरण र नगदे बाली प्रवद्र्धनसँग जोडेर नगरपालिकाले आवश्यक रणनीति बनाएको जनाइएको छ ।
सामान्य खुर्सानीको तुलनामा अकबरेको बजार र मूल्य राम्रो रहेको बताउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले कृषकका लागि आकर्षक आम्दानीको स्रोत बन्दै गएको सुनाए । आन्तरिक र बाहिरका बजारमा अकबरे खुर्सानीको माग बढ्दै गएको र मूल्यसमेत तुलनात्मक रूपमा राम्रो रहेकाले कृषकको जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम अघि बढाइएको उनको भनाइ छ ।
अकबरे खुर्सानीको प्रयोग तरकारी, अचार तथा विभिन्न परिकारमा गरिन्छ । नेपाली खानाको स्वादमा यसको विशेष महत्व रहेको छ । बजारमा माग र मूल्य राम्रो भएकाले खुर्सानीको व्यावसायिक उत्पादनले कृषकलाई कृषि पेशामै टिकाइराख्न तथा वैकल्पिक आम्दानीको स्रोत सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अकबरे खुर्सानी आर्थिक दृष्टिले मात्र नभई पोषणका हिसाबले महत्वपूर्ण रहेको हेफर परियोजनाका कृषि संयोजक अनिश अर्यालले बताए । उनका अनुसार अकबरे खुर्सानीमा भिटामिन ‘सी’, ‘ए’ र ‘ई’ लगायतका पोषक तत्व पाइन्छ । खुर्सानीमा पाइने क्याप्साइसिन नामक तत्वले शरीरमा विभिन्न स्वास्थ्य लाभ पु¥याउन सक्ने भएकाले अकबरे खुर्सानीलाई केवल स्वाद बढाउने मसला मात्र नभई पोषणका दृष्टिले पनि उपयोगी बालीका रूपमा लिन सकिने उनको बुझाइ छ ।
नगरपालिकाले खुर्सानी खेती विस्तारसँगै उत्पादनको गुणस्तर, रोग तथा कीरा व्यवस्थापन, मौसमजन्य जोखिम न्यूनीकरण र बजार सुनिश्चितता गर्नुपर्ने स्थानीय कृषकको माग रहेको छ । कृषकलाई प्राविधिक सेवा र बजारसँग जोड्न सके कार्यक्रम थप प्रभावकारी बन्ने नगरपालिकाले जनाएको छ । कृषि आधुनिकीकरण, स्थानीय उत्पादनको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको नगरपालिकाले आगामी दिनमा सम्भावित नगदे बालीको व्यावसायिक उत्पादन विस्तार गर्ने जनाएको छ ।




