झपेन्द्र जिसी
परिचय
नेपाल पर्वै पर्वको देवतै देवताको माडुमाडु (मन्दिर) देश हो । यहाँ बौद्ध दर्शन संस्कार, हिन्दु धर्म संस्कार, इस्लाम धर्म, क्रिश्चियन धर्म, पहाड धर्म, शिख धर्म आदि मान्ने प्रचलन छ । यति हुँदाहुँदै पनि जातजातिका आफ्नै धर्म संस्कार छन् । यीमध्ये ब्राह्मणको मुख्य पर्व जनै पूर्णिमा हो । ब्राह्मणले आफ्नो जातिलाई अरुभन्दा सर्वश्रेष्ठ मान्दछन्, जनै वा यज्ञपवीत उनीहरुको साइनबोर्ड हो ।
यहाँ यसै विषयमा केन्द्रित भई २-४ आखर प्रस्तुत गरिन्छ ।
ऐतिहासिक तथा सामाजिक अनुसन्धान प्रतिवेदन
१. प्रस्तावना
धागोको इतिहास र जनैको इतिहास एउटै कुरा होइनन् । धागो मानव सभ्यताको अत्यन्त पुरानो प्राविधिक आविष्कार हो । जनै वा यज्ञोपवीत भने दक्षिण एसियाको विशेष धार्मिक–सामाजिक संस्कारसँग जोडिएको परम्परा हो । त्यसैले “धागो कहिले बनेको हो ?” र “जनै कहिले चलनमा आयो ?” भन्ने प्रश्नको उत्तर अलग–अलग दिनुपर्छ ।
२. धागोको उत्पत्ति कहिले र कहाँ भयो ?
धागो बनाउन मानिसले वनस्पतिको रेशा, जनावरको रौँ वा अन्य प्राकृतिक रेशालाई मर्काएर, गाँसेर वा घुमाएर प्रयोग गर्न थालेको इतिहास अत्यन्त पुरानो छ । यसरी नै कुश पनि बाटेर जनै बनाएको किंवदन्ती छ । पुरातात्विक प्रमाण अनुसार कम्तीमा ईसा पूर्व नवौँ शाब्तादीतिर पश्चिम एसियामा वनस्पति–रेशाबाट बनेको प्रारम्भिक डोरी वा धागोजस्तो सामग्री प्रयोग भइरहेको थियो । इजरायल क्षेत्रको वादी मुरब्बाअतमा ईसा पूर्व नवौँ सहश्राब्दीको रेशायुक्त धागोको प्रमाण उल्लेख गरिएको छ । तुर्कीको चातालयुक्त र मिस्रका पुराना वस्त्र–अवशेषले पनि धागो र रेशा–प्रविधि हजारौँ वर्ष पुरानो देखाउँछन् ।
त्यसैले यसबाट के बुझिन्छ भने धागो कुनै एक धर्मले वा कुनै एक जातिले आविष्कार गरेको वस्तु होइन ।
यो मानव सभ्यताले कपडा, डोरी, जाल, बाँध्ने सामग्री र सजावटका लागि क्रमशः विकास गरेको प्राचीन प्रविधि हो ।
३. जनै वा यज्ञोपवीतको प्रारम्भ कहाँबाट भयो ?
जनैको मूल सांस्कृतिक विकास प्राचीन वैदिक भारतसँग सम्बन्धित देखिन्छ । तर एउटा अत्यन्त महत्वपूर्ण ऐतिहासिक कुरा छ–
प्रारम्भिक वैदिक ग्रन्थमा आज हामीले देख्ने काँधमा सधैँ झुन्ड्याइराखिने कपासको तीन–सुते र छ सुते जनैको स्पष्ट रूप सुरुबाटै थिएन ।
प्राचीन वैदिक सन्दर्भमा उपवीत भन्नाले शरीरमा कुनै वस्त्र वा पशुचर्मलाई विशेष ढङ्गले धारण गर्ने विधि बुझिन्थ्यो । वैदिक सन्दर्भमा देवकार्य, पितृकार्य आदिमा वस्त्र वा आवरणलाई फरक ढङ्गले धारण गर्ने परम्परा थियो । तैत्तिरीय संहितामा उपवीतसम्बन्धी प्रारम्भिक उल्लेख पाइन्छ ।
यसबाट के देखिन्छ भने–
पहिले “उपवीत” मुख्यतः शरीरमा वस्त्र वा आवरण धारण गर्ने धार्मिक ढङ्ग थियो, आजको निश्चित कपासको जनैको रूप क्रमशः विकसित भएको देखिन्छ ।
४. ब्राह्मणले जनैधारण कहिलेदेखि सुरु गरे ?
यस प्रश्नमा “फलानो सालदेखि” भनेर एउटै मिति दिन मिल्दैन । यसको विकास धेरै शताब्दी लागेर भयो ।
पहिलो चरणः वैदिक यज्ञ–संस्कारको समय वैदिक यज्ञ गर्दा शरीरमा वस्त्र वा आवरण विशेष ढङ्गले लगाइन्थ्यो ।
दोस्रो चरणः उपनयन संस्कार
पछि उपनयन नामको दीक्षा संस्कार विकसित भयो । यसको मूल उद्देश्य बालकलाई गुरुकुल वा वैदिक शिक्षामा प्रवेश गराउनु थियो । यसलाई दोस्रो जन्म अर्थात् द्विजत्वसँग जोडियो ।
तेस्रो चरणः धर्मसूत्र र गृह्यसूत्रकाल
धर्मसूत्र र गृह्यसूत्र परम्परामा ब्राह्मण, क्षत्रिय र वैश्यका उपनयनसम्बन्धी नियमहरू विस्तृत हुँदै गए । बौधायन आदि ग्रन्थ परम्परामा संस्कार र यज्ञोपवीतको उल्लेख पाइन्छ ।
चौथो चरणः स्मृति–मध्यकालीन विकास
क्रमशः जनै केवल शिक्षाको प्रवेश संस्कार नभई जातीय पहिचानको प्रतीक पनि बन्दै गयो । पछि “कसले जनै लगाउन पाउने र कसले नपाउने ?” भन्ने प्रश्न धार्मिक मात्र नभई सामाजिक शक्ति र जातीय हैसियतसँग जोडियो । अर्थात जनै सुरुमा ब्राह्मणको जन्मजात सम्पत्ति मात्र थिएन, पछि ब्राह्मणीय सामाजिक व्यवस्थामा यसलाई विशेषाधिकार र उच्च जातीय पहिचानसँग जोडिँदै लगियो ।
५. जनै ब्राह्मणको मात्र थियो कि क्षत्रिय र वैश्यको पनि ?
शास्त्रीय वर्णव्यवस्थामा उपनयन र द्विजको अवधारणा केवल ब्राह्मणमा सीमित थिएन । ब्राह्मण, क्षत्रिय र वैश्यलाई परम्परागत रूपमा “त्रिवर्ण” वा “द्विज” समूहमा राखिएको थियो । मनुस्मृतिसंहिता र पछिल्ला स्मृति परम्पराले उपनयनको उमेरसमेत फरक–फरक तोक्यो । त्यसैले “जनै केवल ब्राह्मणले मात्र लगाउने हो” भन्ने आजको बुझाइ ऐतिहासिक रूपमा पूर्ण छैन ।
तर समय बित्दै जाँदा धेरै समाजमा जनैधारणको अधिकार असमान भयो र जातीय श्रेष्ठताको प्रतीक बनाइयो ।
६. काठमाडुमा जनै कहिले भित्रियो ?
काठमाडु उपत्यकाको हकमा पनि ठ्याक्कै “यही वर्ष जनै पहिलो पटक भित्रियो” भन्ने अभिलेख अहिलेसम्म स्पष्ट छैन ।
तर ऐतिहासिक प्रमाणका आधारमा यस्तो निष्कर्ष गर्न सकिन्छ—
(क) लिच्छवि कालमा ब्राह्मणीय वैदिक संस्कृति उपस्थित थियो ।
काठमाडु उपत्यकामा लिच्छविकाल चौथो पाँचौं शताब्दी नै संस्कृत, वैदिक र शैव–वैष्णव धार्मिक परम्पराको सशक्त उपस्थिति थियो । लिच्छवि कालका अभिलेख र धार्मिक संरचनाहरूले ब्राह्मणीय धार्मिक संस्थाको पुरानो प्रभाव देखाउँछन् । काठमाडु उपत्यकाका प्रारम्भिक लिच्छवि अभिलेख पाँचौँ शताब्दीदेखि प्रशस्त पाइन्छन् ।
(ख) तर “आजको जस्तो जातीय जनै” कहिलेदेखि ?
यो अलग प्रश्न हो । उपलब्ध प्रमाणले जनैलाई वर्तमानजस्तो कठोर सामाजिक वर्गीकरणसँग जोडिएको रूप विशेष गरी मध्यकालीन सामाजिक पुनर्गठनमा अझ स्पष्ट हुँदै गएको देखाउँछ ।
(ग) मल्लकालमा जातीय वर्गीकरण
चौधौँ शताब्दीमा जयस्थिति मल्लसँग सम्बन्धित सामाजिक पुनर्गठन र जातीय वर्गीकरणले काठमाडु उपत्यकामा जात–पेशा–धार्मिक हैसियतलाई अझ व्यवस्थित बनायो । एउटा अध्ययनमा उपत्यकाको सामाजिक विभाजनमा जनैधारी समूहको पृथक हैसियत उल्लेख गरिएको छ ।
त्यसैले यसको निष्कर्षमा काठमाडुमा वैदिक–ब्राह्मणीय संस्कार लिच्छवि कालभन्दा अगाडिदेखि वा कम्तीमा लिच्छवि कालसम्म स्थापित भइसकेको थियो, तर आजको अर्थमा जनैलाई जातीय प्रतिष्ठा र सामाजिक श्रेणीको प्रमुख प्रतीक बनाउने प्रक्रिया मध्यकालमा अझ स्पष्ट र संस्थागत भयो ।
७. पश्चिम नेपालमा जनै कहिले भित्रियो ?
पश्चिम नेपालको इतिहास झन् रोचक छ ।
कर्णाली क्षेत्र, दुल्लु, जुम्ला आदि क्षेत्रमा खस राज्य र खस मल्ल ठकुरी राज्यको विकास भएको थियो । चौधौँ शताब्दीका दुल्लुका अभिलेखहरूले त्यहाँको राजनीतिक–सांस्कृतिक इतिहासको महत्वपूर्ण प्रमाण दिन्छन् ।
तर पश्चिम नेपालका सबै खस समुदाय सुरुदेखि जनैधारी थिए भन्ने बलियो प्रमाण छैन ।
एक महत्वपूर्ण ऐतिहासिक अध्ययनले पश्चिम नेपालमा १६औँ शताब्दीको एउटा दस्तावेजमा स्थानीय शासकले आफ्ना आश्रित वा सेवक समूहलाई जनै धारण गर्ने अधिकार दिन वा खोस्न सक्ने व्यवस्था भएको उल्लेख गरेको छ । यसले के देखाउँछ भने जनैधारण त्यहाँ सामाजिक–राजनीतिक अधिकारसँग जोडिँदै थियो ।
यसै आधारमा पश्चिम नेपालको बारेमा यस्तो निष्कर्ष बढी सुरक्षित देखिन्छ ।
कर्णाली क्षेत्रमाः
खश राज्यको समयदेखि हिन्दू–बौद्ध–स्थानीय परम्पराको मिश्रित संस्कृति थियो ।
सबै खश सुरुमा एकरूप जनैधारी थिएनन् ।
१४ औँदेखि १६औँ शताब्दीको बिचमा संस्कृतीकरण र ब्राह्मणीकरण तीव्र हुँदै गयो ।
१६औँ शताब्दीसम्म आइपुग्दा केही खश समूहलाई जनैधारणको अधिकार प्रदान गरिएको स्पष्ट प्रमाण भेटिन्छ ।
यसैले “पश्चिम नेपालका खश मानिस आदिकालदेखि नै सबै जनैधारी थिए” भन्नु इतिहाससम्मत हुँदैन ।
८. नेपालमा जनैलाई जातीय शक्तिको प्रतीक कसरी बनाइयो ?
यसको सबैभन्दा स्पष्ट प्रमाण वि.सं. १९१० (सन् १८५४) को मुलुकी ऐन हो ।
त्यस ऐनले नेपाली समाजलाई विभिन्न जातीय तहमा विभाजन ग¥यो । सबैभन्दा माथिल्लो वर्गमध्ये एक प्रमुख श्रेणी “तागाधारी” अर्थात् जनैधारी बनाइयो । त्यसमा मुख्यतः बाहुन, क्षत्री, ठकुरी तथा केही उच्च जातीय नेवार समूह परे । त्यसैले कानुनी व्यवस्थामा जनै सामाजिक उच्चताको प्रमुख प्रतीक बन्यो ।
त्यसैले नेपालमा जनैको प्रश्न केवल धर्मको प्रश्न रहेन, राज्य र कानुनले पनि यसलाई एक समय सामाजिक श्रेणीकरणको प्रतीक बनाएको थियो ।
९. दलितलाई जनैधारण गराइदिए के बिग्रिन्छ ?
मानव शरीरलाई केही बिग्रिँदैन । जनै धागोबाट बनेको धार्मिक–सांस्कृतिक प्रतीक हो । दलितले जनै लगाएमा प्रकृति बिग्रिँदैन, आकाश खस्दैन, सूर्य उदाउन छोड्दैन । धर्मको नैतिक मूल्य पनि बिग्रिँदैन ।
सत्य, अहिंसा, दया, करुणा, ज्ञान र सदाचार जात हेरेर कसैको निजी सम्पत्ति बन्न सक्दैनन् ।
बिग्रिन सक्ने कुरा भने पुरानो ब्राह्मणिक जातीय विशेषाधिकारको भावना हो ।
यदि कुनै समुदायले जनैलाई “हामी मात्र उच्च हौँ” भन्ने चिह्न बनाएको छ भने सबै मानिसलाई जनैधारणको समान अवसर दिँदा त्यो विशेषाधिकारको पर्खाल कमजोर हुन्छ । पर्खाल हुने देखेर नै आफूले मात्रै लगाउने गरेका हुन् । यो दासकालीन व्यवस्था हो ।
त्यसैले प्रश्न यसरी पनि उठ्छ–
जनै सबैले लगाएमा धर्म बिग्रिन्छ कि जातीय श्रेष्ठताको एकाधिकार बिग्रिन्छ ?
ऐतिहासिक रूपमा हेर्दा यहीँ मुख्य विवाद देखिन्छ ।
१०. दलितलाई जनै लगाउनबाट रोक्नु कानुनी रूपमा उचित हुन्छ ?
नेपालमा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ पनि लागू छ ।
त्यसैले आजको लोकतान्त्रिक र संवैधानिक नेपालमा—“फलानो जात भएकाले तिमीलाई धार्मिक संस्कार गर्न पाइँदैन” भन्ने सोंचलाई मानव समानताको दृष्टिले गम्भीर प्रश्न गर्नुपर्छ ।
११. एउटा महत्वपूर्ण ऐतिहासिक विरोधाभास
इतिहासमा जनैको अर्थ परिवर्तन हुँदै गयो ।
प्रारम्भिक अर्थ पछिल्लो सामाजिक अर्थ
धार्मिक वा यज्ञसम्बन्धी धारण–विधि जातीय पहिचान शिक्षा र उपनयनसँग सम्बन्ध सामाजिक हैसियत धार्मिक अनुशासन उच्च जातको प्रतीक
संस्कार विशेषाधिकारको चिह्न त्यसैले आजको मुख्य प्रश्नः जनै धर्मको प्रतीक हो कि मानिसलाई उच्च–नीच बनाउने सामाजिक औजार हो । प्रष्टै छ आफू श्रेष्ठ र अरुलाई निच बनाउने दृष्टिकोणबाट प्रेरित छैन र ?
यदि जनै केवल धार्मिक संस्कार हो भने सदाचार मान्ने सबै मानिसले आफ्नो इच्छाअनुसार अपनाउन सक्ने बाटो खुला हुनु हो ।
यदि जनैलाई केवल “जन्मका आधारमा केही मानिस मात्र उच्च छ” भन्ने प्रतीक बनाइन्छ भने त्यो आधुनिक मानव समानता र नेपालको संविधानसँग टकराउँछ ।
१२. निष्कर्ष
मेरो अनुसन्धानात्मक निष्कर्ष यसप्रकार छ—
१. धागोको आविष्कार मानव सभ्यताको प्राचीन प्राविधिक विकास हो ।
२.कम्तीमा हजारौँ वर्ष पुरानो पुरातात्विक प्रमाण भेटिन्छ ।
३. जनै धागोभन्दा धेरैपछिको धार्मिक–सांस्कृतिक विकास हो ।
४. प्रारम्भिक वैदिक “उपवीत” आजको जस्तो निश्चित कपासको जनै नै थियो भनेर सीधा भन्न मिल्दैन । यसको रूप क्रमशः विकसित भयो ।
५. उपनयन संस्कार ब्राह्मणमा मात्र सीमित थिएन । परम्परागत रूपमा क्षत्रिय र वैश्य पनि द्विज संस्कारसँग जोडिएका थिए ।
६. काठमाडु उपत्यकामा ब्राह्मणीय–वैदिक प्रभाव लिच्छवि कालसम्म स्पष्ट थियो, तर जनैलाई कठोर जातीय हैसियतको प्रतीक बनाउने प्रक्रिया मध्यकालमा बढी संस्थागत भयो ।
७. पश्चिम नेपालमा खश समाज सबै आदिकालदेखि जनैधारी थिए भन्ने प्रमाण छैन ।
१६औँ शताब्दीसम्म आइपुग्दा केही खश समूहलाई जनैधारणको अधिकार प्रदान गरिएको ऐतिहासिक प्रमाण भेटिन्छ । यसको कारण छ । आफ्नो पेशालाई सुरक्षित स्थायी बनाउन ब्राह्मणहरुले सिंजाका बौद्ध राजाहरुलाई जैन लगाएर ठकुरी बनाए । यसरी नै ओखरकोट प्यूठानका राजा परश घर्तीलाई कण्ठु जैसीले जनै लगाई क्षत्री बनाइदिए । राजाहरु जनैधारी भएपछि धेरै मगरहरुले पनि जनै धारण गर्न लालयित भए भने ब्राह्मणहरुले उनीहरुलाई जनैधारी बनाउन लालयित भए ।
त्यसबाट ब्राह्मणहरु पनि जजमान धेरै बनाउन सकेकोमा खुशी भए भने आफू ठकुरी बन्न पाएको र जातीय प्रमोशन हुन पाएकोमा उनीहरु खुशी भए । यसरी नै लम्जुङका राजा कुल मण्डन खाम मगरलाई जनै लगाइदिएर ठकुरी बनाइदिए । गोरखाका कुल मण्डन खामकै छोराहरु नरहरि खाम र द्रव्य खाम पनि ठकुरी भए । द्रव्य खामलाई गणेश पाडे र नारायण अर्यालले जनै लगाइदिएर गोर्खाको राजामा विभूषित गरे । यहाँबाट दिल्लीका मुगल राजा कहाँ जाँदा कुल मण्डन खामहरुलाई शाहको उपवादी दिएपछि शाह लेखन थालेको इतिहास छ ।
८. नेपालमा जनैलाई सामाजिक श्रेणीको राज्य–मान्य प्रतीक बनाउने काम १८५४ को मुलुकी ऐनले झन् स्पष्ट ग¥यो ।
९. दलितलाई जनैधारण गराउँदा मानव, प्रकृति वा नैतिकता बिग्रिँदैन ।
मुख्य रूपमा चुनौतीमा पर्ने कुरा जन्ममा आधारित धार्मिक–सामाजिक विशेषाधिकारको पुरानो संरचना हो ।
निष्कर्षः
जनै धागो मात्र हो, मानिसको मूल्य उसको जन्मले होइन, उसको ज्ञान, कर्म, चरित्र र मानवताले निर्धारण गर्दछ । धागोले होइन,
“मान्छेलाई जनैले ठूलो बनाउँदैन, मान्छेको कर्मले जनैको अर्थ ठूलो वा सानो बनाउँछ ।
अन्त्यमा येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वाम् प्रतिवध्नामि जुन धागाले महाबलि बलि राजा र देवगणका राजा इन्द्रलाई बाँधियो त्यही धागाले तिमीलाई पनि धागाले बाँध्छु । रक्षा होस् रक्षा होस् । जातिबढिया होस् । जस्ता मन्त्र वाचन गर्दै ब्राह्मणले रक्षा बन्धन गर्दै घर घर पुग्छन् । यो ब्राह्मणको पेशा हो । पेशा सुरक्षित होस् । तर यो २०८३ को जनैपूर्णिमाले नेपाली समाजलाई विभाजन होइन, एउटै सूत्रमा बाँध्ने काम गरोस्, हार्दिक शुभकामना ।




