बुटवल
जलवायु परिवर्तन अहिले विश्वकै सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । वातावरण वैज्ञानिकहरूका अनुसार पृथ्वीको तापक्रम लगातार बढ्दै जाँदा मौसमको चक्र असामान्य बन्दै गएको छ, जसले मानव जीवन, पशुपन्छी, वनस्पति र समग्र पर्यावरणमा गम्भीर असर पारिरहेको छ । संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि जलवायु परिवर्तनलाई मानव स्वास्थ्य र जैविक विविधतामाथिको प्रमुख जोखिमका रूपमा औंल्याएका छन् ।
यसैको पछिल्लो उदाहरण नेपालको उत्तरी हिमाली क्षेत्रमा आएको बाढी हो । बुधबार बिहान रसुवामा आएको भीषण बाढीले निम्त्याएको मानवीय र भौतिक क्षति जलवायु परिवर्तनको सबैभन्दा क्रूर उदाहरण मान्न सकिन्छ । उक्त बाढीको गति हालसम्मकै तीव्र रहेको विज्ञले बताएका छन् ।
बाढी यति तीव्र र शक्तशाली थियो कि त्यसको प्रहारले धुवाँजस्तै मुस्लो उठेको थियो । नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ विभागीय जलविद् दिनकर कायस्थका अनुसार रसुवागढीबाट १३ किलोमिटर टाढा रहेको स्याफ्रुबेँसी जम्मा १५ मिनेटमा बगाएको थियो । विज्ञहरू नेपालमा भीषण बाढीको गति पनि यसअघिसम्म प्रतिसेकेन्ड ५ मिटरभन्दा बढी नपाइएको बताउँछन् । तर बुधबार रसुवाको टिमुरे र स्याफ्रुबेँसीमा झण्डै १५ मिटर प्रतिसेकेन्ड गति मापन गरिएको मौसम विभागका सूचना अधिकारीसमेत रहेका कायस्थले बताए ।
‘यो भनेको प्रतिघण्टा ५४ देखि ५५ किलोमिटरसम्को वेग हो । जुन ठाडो खोलाका लागि निकै खतरनाक, विनाशकारी र भयानक हो ।’–उनले भने । जबकि नदीमा बाढीको गति ५ मिटरमाथि हुनुलाई नै अत्यन्त खतरनाक मानिन्छ । नेपालमा यति तीव्र गतिको बहाबको रेकर्ड छैन । यो घटना केवल एउटा प्राकृतिक विपद् नभएर हिमाली क्षेत्रमा निरन्तर सिर्जना भइरहेको ठुलो पर्यावरणीय संकटको परिणाम हो । गत वर्ष पनि यही बाढीकै घटना बेहोरेको रसुवा र नेपालका लागि यो पटकको धक्का निकै गम्भीर हो । चीनको तिब्बत क्षेत्रबाट सुरु भई त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीको भित्री कारण पहिल्याउन यतिबेला वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सक्रिय छन् । चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल र हिम बाढी जोखिमका नेपाली अनुसन्धानकर्ता नितेश खड्काका अनुसार प्रारम्भिक अध्ययनले नेपाल–चीन सीमा क्षेत्रको तिब्बततर्फको भू–भागमा एउटा ठुलो हिमपहिरो खसेर नदी थुनिएको संकेत गरेको छ ।
तिब्बतको जिलोङ काउन्टी अर्थात् केरुङ क्षेत्रमा पर्ने दोङलिङ साङ्पो खोलामा पहिरो खसेर केही समय नदी थुनिएपछि बनेको अस्थायी ताल फुट्दा त्रिशूलीमा अचानक यो प्रलयकारी बाढी आएको अनुमान गरिएको छ । यद्यपि, त्यस क्षेत्रमा साना–साना हिमतालहरू मात्र रहेकाले एउटै मात्र ताल फुट्दा यति ठुलो क्षति हुन सम्भव नहुने हुँदा यो विपद् बहुआयामिक कारणहरूको संयुक्त प्रभाव हुन सक्ने खड्काको विश्लेषण छ ।
खड्काका अनुसार बाढीको प्रकृतिलाई भारतको उत्तराखण्डस्थित चामोलीमा सन् २०२१ मा भएको भीषण हिमपहिरोको घटनासँग तुलना गर्न सकिन्छ । सिक्किमको दक्षिण लोनाक ताल फुटेजस्तो ठुलो हिमताल त्रिशूलीको आसपास नभएकाले वर्षायाममा नदी थुनिएर पानीको बहाव घटेको तत्काल थाहा नभएको र पछि त्यो अवरोध एकैपटक खुल्दा तल्लो तटीय क्षेत्रमा विनाशकारी बाढी आएको बुझिन्छ ।
तथ्याङ्कीय इतिहासलाई हेर्दा सन् १९५० को दशकदेखि नै विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा हिमतालहरू बन्ने र तिनको आकार फैलिने क्रम तीव्र गतिमा भइरहेका छन् । सन् १९८७ देखि २०१७ सम्मको तीन दशक लामो अध्ययनले हिमतालहरूको क्षेत्रफल करिब २५ प्रतिशतले बढेको देखाएको छ । अनुसन्धानकर्ता खड्काका अनुसार यी हिमतालहरू अहिले ‘टाइम बम’ जस्तै संवेदनशील अवस्थामा छन्, जो जुनसुकै बेला विस्फोट हुन सक्छन् । त्रिशूली, भोटेकोशी, तामाकोशी, मस्र्याङ्दी र अरुणजस्ता नेपालका प्रमुख नदीहरूको ठुलो जलाधार क्षेत्र तिब्बतमा रहेकाले सीमापारि हुने साना वातावरणीय हलचलले पनि नेपालमा सधैँ उच्च जोखिम सिर्जना गरिरहेको हुन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कले हिमाली क्षेत्रको भयावह अवस्था थप प्रस्ट पार्छ । प्राधिकरणका अनुसार २०६८ देखि २०८२ सालसम्म १४ वर्षको अवधिमा नेपालमा ४५ वटा ठुला हिमपहिरोका घटना अभिलेख गरिएका छन् । यी घटनाहरूमा परेर ६२ जनाले ज्यान गुमाएका छन् भने ३१ जना अझै बेपत्ता छन् । ६४ जना घाइते भएका यी घटनाहरूले हिमपहिरोको संख्या कम देखिए पनि यसले पु¥याउने मानवीय क्षति निकै गम्भीर र अपूरणीय रहेको पुष्टि गर्छन् । यस विपद्को प्रभाव पर्वतारोहीहरूमा मात्र सीमित छैन, बरु उच्च हिमाली क्षेत्रमा पुस्तौँदेखि बसोबास गर्दै आएका स्थानीय समुदाय अहिले आफ्नो अस्तित्व जोगाउने सङ्घर्षमा छ ।
हिमाली क्षेत्रमा हिमपहिरोसँगै हिउँहुरीको प्रकोप पनि कम छैन । पछिल्लो १४ वर्षमा भएका १० वटा ठुला हिउँहुरीमा परेर १७ जनाले ज्यान गुमाइसकेका छन्, जसमा धेरैजसो पदयात्री र स्थानीय गोठालाहरू छन् । यस तथ्याङ्कले मानवीय क्षतिको दर्दनाक तस्बिर मात्र देखाउँदैन, बरु नेपालको हिमाली अर्थतन्त्रको मुख्य खम्बा मानिने पर्यटन व्यवसाय र पर्वतारोहण क्षेत्र कसरी क्रमिक रूपमा असुरक्षित बन्दै गइरहेको छ भन्ने सङ्केत पनि गर्छ । सन् २०७८ सालमा मेलम्चीमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा भएको वातावरणीय परिवर्तनले तल्लो तटीय क्षेत्रमा कस्तो प्रलय ल्याउन सक्छ भन्ने कुरा यसअघि नै प्रमाणित गरिसकेको थियो ।
४७ तालहरू विस्फोटको जोखिममा
प्राधिकरण र इसिमोडको संयुक्त अध्ययन अनुसार नेपालका मुख्य नदी प्रणालीहरू कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा कुल ३ हजार ६ सय २४ वटा हिमताल छन् । तीमध्ये ४७ वटा तालहरू यस्ता छन्, जुनसुकै बेला विस्फोट हुन सक्ने र तिनलाई ‘अति उच्च जोखिम’को सूचीमा राखिएको छ । अझ चिन्ताको विषय के छ भने यी ४७ जोखिमयुक्त तालमध्ये २५ वटा चीनको तिब्बत क्षेत्रमा अवस्थित छन् । यदि तिब्बतमा रहेका ती ताल फुटे त्यसको प्रत्यक्ष र विनाशकारी असर नेपालका भोटेकोशी, सुनकोशी, तामाकोशी र त्रिशूली जस्ता नदी किनारका ३ हजारभन्दा बढी घरमा पर्ने सुनिश्चित छ । यी तटीय बस्तीहरू अहिले प्राकृतिक विष्फोटकको सिधा मार्गमा रहेका छन्, तर तिनलाई बचाउने वा पूर्वसूचना दिने प्रभावकारी संयन्त्रको अझै अभाव देखिन्छ ।
जोखिम केवल ठुला र पहिचान भएका हिमतालहरूबाट मात्रै छैन भन्ने कुरा पछिल्लो समय हिमनदीको सतहमाथि बन्ने अस्थायी ‘सुप्रा ग्लेसियल’ तालहरूको व्यवहारले देखाएको छ । सोलुखुम्बुको थामेमा गत वर्ष आएको आकस्मिक बाढी यस्तै प्रकृतिको थियो । तापक्रम वृद्धिका कारण हिमनदीको सतहमा साना–साना पोखरीहरू बन्ने र ती एकापसमा जोडिएर अचानक फुट्दा तल्लो क्षेत्रमा ठुलो लेदोसहितको बाढी आउने गरेको छ । नेपालका ३ हजारभन्दा बढी घरहरू यस्ता अस्थायी तालहरूको सिधा जोखिम रेखाभित्रै पर्छन्
विज्ञहरूका अनुसार विगत पल्टाएर हेर्ने हो भने नेपालमा हिमपहिरो र हिमाली विपद्को जोखिम पछिल्ला दशकहरूमा झनै तीव्र गतिले बढेको पाइन्छ । ‘जर्नल अफ टुरिजम एण्ड हिमालय एड्भेन्चर’ मा प्रकाशित प्रतिवेदन अनुसार सन् १९२२ देखि २०२० सम्मको एक शताब्दीमा ६० वटा ठुला हिमपहिरोबाट मात्रै ३७२ जनाको ज्यान गएको छ । पछिल्लो समय हिमताल विस्फोटको घटनाहरू बढ्न थालेका हुन् ।
राष्ट्रियसभाको दिगो विकास उपसमितिले तयार पारेको ‘जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ ले झनै डरलाग्दो तथ्य उजागर गरेको थियो । डा. अन्जान शाक्य संयोजकत्वको उपसमितिले नेपालले अहिले वातावरणीय मात्र नभई आर्थिक र मानवीय क्षेत्रमा समेत ‘बहुआयामिक संकट’ भोगिरहेको निष्कर्ष निकालेको छ ।
काठमाडौँ विश्वविद्यालयका हिमताल तथा हिमनदीविज्ञ रिजनभक्त कायस्थका अनुसार विगत केही वर्षयता नेपालका हिमाली क्षेत्रहरूमा प्रकृतिले आफ्नो स्वरूप नाटकीय रूपमा बदल्न थालेको छ । विगतमा केवल सौन्दर्यको प्रतीकका रूपमा हेरिने हिमालहरू आज विभिन्न प्राकृतिक विपदका स्रोत बन्दै गएका छन् । २०७८ सालको मेलम्ची बाढीदेखि अहिलेसम्म आइपुग्दा नेपालले थुप्रै साना–ठुला हिमपहिरो र हिमताल विस्फोटका घटनाहरू भोगिसकेको छ । अहिले जोखिमको स्वरूप परिवर्तन भई हिमनदीभित्रै रहेका साना–साना पोखरीहरू र हिमनदीको सतहमा जमेका पानीहरू झन् खतरनाक साबित भइरहेका छन् ।
तापक्रम वृद्धिका कारण हिमनदीभित्रका प्राकृतिक पाइपजस्ता संरचना अर्थात् ‘इन–ग्लेसियर च्यानल’ हरू तातेर ठुला हुन्छन् र तिनले एकैपटक धेरै पानी तल पठाउँदा तल्लो तटीय क्षेत्रमा विनाश निम्तने गर्छ । रसुवा र मुस्ताङमा देखिएका बाढीका घटनाहरू यसकै परिणाम हुन् । हिमाली क्षेत्रको तापक्रम विश्वको औसत तापक्रम वृद्धिभन्दा झन्डै तीन गुणा बढी दरले बढिरहेको छ । हिमनदीमा रहेको हिउँ र बरफको तापक्रम सामान्यतया शून्यदेखि माइनस ५ डिग्री सेल्सियसको आसपास हुने गर्छ, तर जब तापक्रम सामान्य रूपमा बढ्छ, बरफहरू तीव्र गतिमा पग्लिन थाल्छन् र भित्र थुप्रिएको पानी एकैपटक बाहिर निस्कन्छ ।
दुर्गम स्थानमा रहेका हिमनदी र तिनको आकारमा भइरहेको परिवर्तनको जानकारी हरेक हप्ता वा हरेक दिन अद्यावधिक हुन जरुरी रहेको कायस्थको तर्क छ । विशेषगरी मनसुनको समय र तापक्रम बढ्ने बैशाखदेखि भदौसम्म यसलाई अझ बढी सक्रिय बनाइनुपर्छ ।
जलवायु परिवर्तनको मुख्य कारण मानवीय गतिविधि मानिएको छ । कोइला, पेट्रोलियम र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोग, उद्योगबाट हुने हरितगृह ग्यास उत्सर्जन, वन विनाश, तीव्र सहरीकरण, सवारीसाधनको बढ्दो प्रयोग तथा कृषि र पशुपालनबाट निस्कने मिथेन ग्यासका कारण वायुमण्डलमा कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासको मात्रा बढिरहेको वैज्ञानिकहरूको निष्कर्ष छ । यी ग्यासले पृथ्वीको ताप बाहिर जान नदिई तापक्रम वृद्धि गराउँछन् ।
‘जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् बढ्दै’
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय वातावरण निरीक्षक निर्मल चौधरी जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मी, अनियमित वर्षा, खडेरी, बाढी, डढेलो, हिमताल विस्फोट, समुद्री सतह वृद्धि र शक्तिशाली आँधीबेहरीका घटना बढिरहेका बताउँछन् ।
‘नेपालजस्ता हिमाली मुलुकमा हिमनदी तीव्र गतिमा पग्लिनु, मनसुनको ढाँचा परिवर्तन हुनु र प्राकृतिक विपद्का घटना बढ्नु यसको प्रत्यक्ष संकेत हुन्,’ चौधरीले भने–‘विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान दिए पनि हिमाली मुलुक नेपाल जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हुने देशहरूमध्ये एक बनेको छ,जलवायु तापमान वृद्धिसँगै यस्ता विपद् झन् बारम्बार र भयानक बन्दै गएका छन् ।’
वल्र्ड वाइल्डलाइफ फन्डका अनुसार नेपालका हिमनदीहरू प्रतिवर्ष १५ मिटरसम्म पग्लिएर खुम्चिँदै गएका छन् । यसले हिमाली भिरालो क्षेत्रलाई अस्थिर बनाउनुका साथै जोखिमयुक्त जलासयहरू निर्माण गरिरहेको छ, जसले विनाशकारी बाढीको रूप लिने गर्दछ ।
वातावरण निरीक्षक चौधरीका अनुसार जलवायु परिवर्तनको क्रूर वास्तविकता के छ भने, यस समस्यामा सबैभन्दा कम जिम्मेवार रहेका देशहरूले नै यसको ठूलो मूल्य चुकाउनु परिरहेको छ । एक अध्ययन अनुसार नेपालले सन् २०२४ मा करिब १ करोड ८८ लाख मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो, जुन विश्वको कुल उत्सर्जनको ०.१ प्रतिशतभन्दा पनि कम हो । करिब तीन करोड जनसंख्या भएको नेपालमा यो प्रतिव्यक्ति करिब ०.६३ मेट्रिक टन मात्र पर्न आउँछ ।
यसको तुलनामा संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा ४ अर्ब ९० करोड मेट्रिक टन (प्रतिव्यक्ति १४.२ मेट्रिक टन) र चीनले १२ अर्ब ३० करोड मेट्रिक टन (प्रतिव्यक्ति ८.६ मेट्रिक टन) कार्बन उत्सर्जन गरेका थिए ।
‘नगण्य उत्सर्जनका बाबजुद नेपाल विश्वकै सर्वाधिक जलवायु जोखिमयुक्त देशको सूचीमा परेको छ, गरिबी र कृषिमाथिको निर्भरताले यो स्थिति झनै जटिल बनेको छ,’ चौधरीले भने–‘नेपालको जलवायु योजना १.५ डिग्री सेल्सियससँग अनुकूल छ, जसको अर्थ यो औद्योगिकीकरण पूर्वको स्तरभन्दा तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौताको लक्ष्यसँग मेल खान्छ ।’
जलवायु परिवर्तनले पशुपन्छी र वन्यजन्तुलाई पनि प्रत्यक्ष असर गरिरहेको छ । ‘तापक्रम र वर्षाको ढाँचा बदलिँदा चराचुरुङ्गी तथा वन्यजन्तुको बसोबास र प्रजनन चक्र प्रभावित भएको छ,’ चौधरीले भने–‘धेरै प्रजाति नयाँ बासस्थान खोज्न बाध्य भएका छन् भने कतिपय दुर्लभ प्रजाति लोप हुने जोखिममा पुगेका छन् ।’
कृषि क्षेत्र पनि जलवायु परिवर्तनबाट प्रभावित बनेको चौधरीले बताए । अनियमित वर्षा, लामो खडेरी, अत्यधिक वर्षा र बढ्दो तापक्रमका कारण बाली उत्पादन घट्ने, खाद्य सुरक्षामा चुनौती थपिने तथा किसानको आम्दानीमा प्रतिकूल असर पर्ने अध्ययनहरूले देखाएका छन् । विकसित देशहरूका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा निकाले पनि, नेपालमा जलवायु परिवर्तनका असर ठूलो मात्रामा र नकारात्मक प्रभावहरू देखिन थालिसकेका छन् ।
जलवायु परिवर्तनले विश्वको समग्र वातावरणीय अवस्थामा परिवर्तन ल्याई प्राणीजगत्मा नकारात्मक असर पार्ने हुनाले यस्ता असरहरूको निराकरणका लागि आ–आफ्ना तर्फबाट पहल गर्नुपर्ने समय आइसकेको छ ।
बुधबारको बाढीलाई आठ दलको बैठकले समेत जलवायु परिवर्तनका कारण निम्तिएको संकट ठहर गरेको छ । हिमाली क्षेत्रमा बढ्दै गएको हिमताल विस्फोट तथा अस्वाभाविक बाढीको जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै नेपालले भोगेको ‘हानि र नोक्सानी’का लागि अन्तर्राष्ट्रिय समुदायको दायित्व सुनिश्चित गर्न ८ दलले सरकारलाई आग्रह गरेका छन् ।




