गुल्मी । चन्द्रकोट गाउँपालिकाले दुर्गम तथा स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका बस्तीका नागरिकलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क सूक्ष्म स्वास्थ्य शिविर अभियानअन्तर्गत वडा नम्बर ८, तुराङको कालिका गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८३/८४ को नियमित बजेट तथा कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको शिविरमा १५८ जना नागरिकले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। शिविरमा शान्तिपुर आँखा उपचार केन्द्रबाट ५० जनाले आँखा उपचार सेवा, नागरिक आरोग्य केन्द्र शान्तिपुरबाट २८ जनाले आयुर्वेदसम्बन्धी सेवा तथा सशक्तीकरणका लागि सामी कार्यक्रमका सहजकर्तामार्फत ८० जनाले मनोसामाजिक स्वास्थ्य परामर्श सेवा लिएका हुन्।
चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसरको उपस्थितिमा सञ्चालन भइरहेको अभियानअन्तर्गत गाउँपालिकाले स्वास्थ्य संस्थाबाट टाढा रहेका, दुर्गम तथा विकट क्षेत्रका साथै आदिवासी जनजाति र विपन्न नागरिकको बसोबास रहेका बस्ती छनोट गरी शिविर सञ्चालन गर्दै आएको छ। स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
यसअघि असोज १५ गते वडा नम्बर ३ को गैडुङ, असोज १६ गते वडा नम्बर ४ को डाँडाबन, असोज १९ गते वडा नम्बर ५ को मगरगाउँ र असोज २० गते वडा नम्बर ७ को बाँसदीमा शिविर सञ्चालन गरिएको थियो। ती स्थानमा पनि स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।
स्वास्थ्य संस्थासम्म पुग्न चेतनाको अभाव, भौगोलिक दूरी तथा सहज पहुँचको कमीका कारण रोग लुकाएर घरमै बस्नुपर्ने अवस्थाका वृद्धवृद्धा, आर्थिक रूपमा विपन्न तथा अशक्त नागरिकलाई शिविरबाट प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाइ छ।
चन्द्रकोट आधारभूत अस्पतालका एमबीबीएस चिकित्सक डा. रोशनकुमार यादव, डा. अरुण गैरे, स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्मा तथा अन्य स्वास्थ्यकर्मीको उपस्थितिमा शिविर सञ्चालन भइरहेको छ।
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षेत्रीले गाउँमै चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराएर नागरिकलाई गाउँपालिकाले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको पहुँच अझ नजिक पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो।
स्थानीय केशवराज सापकोटाले गाउँमै चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन हुँदा आफूहरू निकै खुसी भएको बताउनुभयो। उहाँका अनुसार दुर्गम बस्तीका नागरिकका लागि यस्ता शिविर प्रभावकारी भएका छन्।
चन्द्रकोट आधारभूत अस्पतालका मेडिकल अफिसर डा. अरुण गैरेका अनुसार हालसम्मका शिविरमा सुगर, प्रेसर तथा मनोसामाजिक समस्यालगायत नसर्ने रोगका बिरामीको संख्या बढी देखिएको छ। भाइरलजन्य रोगका बिरामी भने तुलनात्मक रूपमा कम भेटिएको उहाँको भनाइ छ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाशचन्द्र शर्माका अनुसार अभियानअन्तर्गत असोज २२ गते विशुखर्कको धौलादिप , २३ गते दिव्रुंग दह र २४ गते हरेवाको खादिकोटमा निःशुल्क सूक्ष्म स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।
गाउँपालिकाले स्वास्थ्य संस्थासम्म सहज पहुँच पुग्न नसकेका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरेको यो अभियानले विशेषगरी दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने अपेक्षा गरिएको छ।




