कञ्चन । रुपन्देहीको गैडाहवा गाउँपालिका–४ गैडाहवा तालमा गैडाताल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सञ्चालन गरेको खानेपानी आयोजना उद्घाटन गरिएको छ । आयोजनाको उद्घाटन गैँडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गरेका गरेका हुन् ।
योजनाको उद्घाटन गर्दै अध्यक्ष पौडेलले गैडहवाका नागरिकलाई स्वस्थ तथा स्वच्छ पिउने पानी उपलब्ध गराउनु गाउँपालिकाको अनिवार्य कर्तव्य र जिम्मेवारी भएको बताए । स्वस्थ पानी पिउन पाउनु प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले ‘वास प्लान’का आधारमा गाउँपालिकाका सबै वडा तथा टोलमा खानेपानीको पहुँच सुनिश्चित गर्न संघीय तथा प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रकाश के.सी.ले खानेपानी आयोजना सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय सरकारसँगै उपभोक्ताहरूले गरेको लगानी तथा सक्रियताको प्रशंसा गरेका थिए । आयोजना निर्माण सम्पन्न हुँदैमा यसको दिगोपना सुनिश्चित नहुने भन्दै उनले प्रत्येक उपभोक्ताको घरमा धारा जडान गरी खानेपानीको पूर्ण उपयोग गर्न उपभोक्ताहरूलाई उत्साहित गर्नुपर्नेमा जोड दिए ।
गैँडहवा गाउँपालिका–४ का वडाध्यक्ष सुरेन्द्र सिंह कुर्मीले वडावासीलाई स्वच्छ पिउने पानीको अधिकार सुनिश्चित गर्नु वडाले अनिवार्य जिम्मेवारीका रूपमा लिँदै आएको बताए । खानेपानीको पहुँच विस्तारका लागि निरन्तर पहल गरिने वडा अध्यक्ष कुर्मीले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गर्दै गैँडाताल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष ईश्वरी अधिकारीले आयोजना सञ्चालनको सुरुवातदेखि उपभोक्ताको घरसम्म धारा जडान गर्ने कार्यसम्म आर्थिक, भौतिक, नैतिक तथा विभिन्न प्रकारका सहयोग र सल्लाह दिने सबैप्रति आभार व्यक्त गरेका थिए । अध्यक्ष अधिकारीले आयोजनाको लक्ष्यअनुसार अधिकतम उपभोक्ताको घरमा धारा जडान गर्न विशेष योजना सञ्चालन गरिने बताउदै त्यसका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारबाट थप सहयोग र सहकार्यको अपेक्षा रहेको उनको भनाइ रहेको थियो ।
कार्यक्रममा युवा राजनितीकर्मी चन्द्र प्रकाश घर्ती (काशीराम) र संस्थाका सचिव टंकबहादुर बस्नेतले पनि खानेपानी आयोजनाको महत्व तथा यसको दीगो सञ्चालनका विषयमा धारणा राखेका थिए ।
संस्थाका उपाध्यक्ष बाबुराम मल्लले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सूर्यप्रसाद अधिकारीले गरेका थिए ।
आयोजनाअन्तर्गत निर्माण गरिएको ओभरहेड ट्यांकीको क्षमता २ लाख २५ हजार घनलिटर रहेको छ । उक्त आयोजनाबाट करिब १ हजार ५ सय घरधुरीलाई पर्याप्त खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको संस्थाले जनाएको छ । उक्त योजना २०७६ भदौ देखि शुरु भएको थियो ।




