दाङको जैविक मार्ग भएर वन्यजन्तुको ओहोरदोहोर बढेसँगै आक्रमणका घटना बढ्न थालेका छन् । सर्वसाधारण वन क्षेत्रमा प्रवेश गर्दा सावधानी नपनाउँदा वन्यजन्तुको आक्रमणमा परेर घाइते भइरहेका छन् । गएको असारमा मात्रै दुई जना घाइते भए । गत वर्ष चार जना गम्भीर घाइते भएका थिए । उपचारमा ठूलो धनराशी खर्च भइरहेको छ । संरक्षणले वन राम्रो भयो, वनमा बासस्थान भयो, वन्यजन्तु बढे । वनमा वन्यजन्तुको जोखिम छ भन्ने हेक्का सर्वसाधारणलाई नहुने र त्यसतर्फ सजग गराउने प्रयन्त पनि नहुनु दुःखद छ ।
दाङको जैविकमार्ग पश्चिममा बाँके राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सोहिलुवा वन्यजन्तु आरक्षणसँग जोडिएको छ । वन क्षेत्रमा भएको सुधारले वन्यजन्तु ओहोरदोहोर गर्न सजिलो भएको छ । जैविक मार्ग भएर नेपालका संरक्षित वन्यजन्तुहरु पाटे बाघ, हुँडार, चौका, हात्तीलगायतका जनावर आवतजावत गरिरहेका छन् । एकातिर आक्रमणको जोखिम बढेको छ, अर्कोतिर बाघलगायतका वन्यजन्तुलाई चोरी सिकारीबाट बचाउनुपर्ने चुनौती छ ।
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणको उपाय हो, वन्यजन्तु र मानव हिंड्ने बाटो फरक फरक बनाउने । जैविक मार्गमै मान्छेको गतिविधि बढ्दा जोखिम बढेपछि अब गर्नुपर्ने काम भनेको बाटो फरक–फरक बनाउने हो । पूर्वमा बागमती नदीदेखि पश्चिममा महाकाली नदीसम्मको नेपालको तराई भू–परिधि क्षेत्रभित्र छ वटा संरक्षित क्षेत्र र अन्य प्रमुख जैविक मार्गहरु छन् । तराईका पहिचान भएका जैविक मार्गभित्र दाङको लमही, बाँकेको महादेवपुरी, बर्दियाको खाता, कञ्चनपुरको मोहना–लालझाडी पर्दछन् । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्र जैविकमार्ग र बोटल नेक (साँघुरो घाँटी) क्षेत्रभित्र पर्दछ । यी जैविक मार्ग हुँदै वन्यजन्तु आवत जावत गर्ने क्रममा सवारी दुर्घटनामा परेर मृत्यु हुने, घाइते हुने अवस्था देखिएको छ भने वन प्रवेश गर्ने उपभोक्ताहरु पनि वन्यजन्तुको आक्रमणमा पर्न थालेका छन् ।
वन्यजन्तु-मानव बढ्दो द्वन्द्वले संरक्षण अभियानलाई असर गर्न सक्छ । संरक्षण अभियानलाई दीगो बनाउने हो समुदायमुखी बनाउन ढिलाइ गर्न हुन्न । समुदायको साथका लागि राज्य पनि हाम्रो साथमा छ भन्ने अनुभूति उनीहरुलाई हुनुपर्छ । त्यसका लागि वन्यजन्तुको आक्रमणमा परेका नागरिकको उपचार र राहतको जिम्मा सरकारले लिनुपर्छ । सकेसम्म द्वन्द्व न्यूनीकरणका सबै उपाय अवलम्बन गर्नुपर्छ ।




