वडाध्यक्ष केसीको घरदैलो अभियान :
अनिल नेपाली
अर्घाखाँची
सन्धिखर्क नगरपालिका ७ ले वडा कार्यालयसम्म पुग्न समस्या हुने ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको छ । वडा अध्यक्ष चुराबहादुर केसीका अनुसार पहिलो चरणमा भालुखोला लगायतका स्थानमा पुगेर नवीकरण सेवा प्रदान गरिएको छ । आइतबार बिहानदेखि सुरु भएको अभियान क्रमशः वडाका विभिन्न टोलमा सञ्चालन गरिने उनले बताए । भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लाभग्राहीले आफ्नो विवरण नवीकरण गरिसक्नुपर्ने भएकाले समयमै सेवा लिन वडा कार्यालयले आग्रह गरेको छ । टोलसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त तथा असहाय लाभग्राहीका लागि समेत वैकल्पिक व्यवस्थामार्फत् नवीकरणमा सहजीकरण गरिने अध्यक्ष केसीले जनाए ।
वडाले घर तथा टोलमै पुगेर सेवा दिन थालेपछि स्थानीय लाभग्राहीले सेवा सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् । वडा सचिव सीता बिसि पराजुलीलगायत वडा सदस्य पुष्पा नेपाली कर्मचारी माया भट्टराईलगायतका जनप्रतिनिधि तथा कर्मचारीले समेत अभियानमा सहजीकरण गर्दै आएका छन् । अध्यक्ष केसीले ५० जना सेवाग्राहीले सेवा लिई लाभान्वित भएको बताए ।
सन्धिखर्क नगरपालिका–७ खाँचिकोटका वडाध्यक्ष चुरा ब. के.सी जिल्लाकै कान्छा वडाध्यक्षका रूपमा जनताको सेवामा सक्रिय देखिएका छन् । २०७९ साल बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित केसीले निर्वाचित भएदेखि नै वडा कार्यालयको नियमित सेवासँगै नागरिकका समस्या समाधानलाई प्राथमिकता दिँदै आएका छन् ।
सामाजिक काममा भने उनको संलग्नता नयाँ होइन । २०६४ सालदेखि नै गाउँमा सामाजिक गतिविधिमा सक्रिय रहेका केसीले अध्ययनका क्रममा विद्यार्थी राजनीतिबाट आफ्नो सामाजिक तथा राजनीतिक यात्रा सुरु गरेका थिए । वडाध्यक्ष निर्वाचित भएपछि उनको अधिकांश समय नागरिककै सेवामा बित्ने गरेको छ । विदाका दिनबाहेक बिहान ९ बजे वडा कार्यालय पुग्ने र साँझ ५ बजेसम्म कार्यालयमै बसेर सेवाग्राहीका काम गर्ने गरेको उनी बताउँछन् । कार्यालयसम्म आउन नसक्ने तत्काल सहयोग आवश्यक परेका नागरिकको समस्या समाधानका लागि सम्बन्धित ठाउँमै पुग्ने गरेको उनको भनाइ छ ।
टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण
नयाँ आर्थिक वर्ष सुरु भएसँगै वडाध्यक्ष केसीले भदौ महिनामा वडाका विभिन्न टोलमा अभियान सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता लाभग्राहीको कार्ड नवीकरण गर्ने कामलाई प्राथमिकता दिएका छन् । विशेषगरी वृद्धवृद्धा, अशक्त तथा सहाराविहीन नागरिकलाई वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता हटाउने उद्देश्यले टोल तथा घरमै पुगेर सेवा प्रदान गरिएको उनले जानकारी दिए ।
‘वृद्ध बुबाआमा वडा कार्यालयसम्म आउन नसक्ने हुनुहुन्छ, कतिपय वृद्धवृद्धा सहाराविहीन नै हुनुहुन्छ,’ उनले भने–‘त्यसैले टोलमै पुगेर सेवा दिएको छु, हिँड्न नसक्ने अशक्त वृद्ध बुवाआमालाई घरमै पुगेर सेवा दिने गरेको छु ।’
वडामा रहेका अपांगता भएका व्यक्ति, एकल महिला तथा दलित समुदायका पाँच वर्षमुनिका बालबालिकाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरणसमेत टोल तथा घरमै पुगेर गरिएको उनले जानकारी दिए । सामाजिक सुरक्षा भत्ता लिनसमेत नागरिकलाई सहज बनाउने उद्देश्यले बैंकसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी भत्ता घरमै उपलब्ध गराउने योजनामा आफू रहेको उनले बताए । ‘जनतालाई नजिकको सरकारको अनुभूति दिलाउने गरी काम गर्नेछु,’ उनी भन्छन्–‘सरल, सहज, छिटोछरितो रूपमा सेवा प्रवाह गर्ने मेरो प्रयास हो । आवश्यक कागजात पूरा भएका सेवाग्राहीको काम सकेसम्म १५ मिनेटभित्रै सम्पन्न गर्ने गरी सेवा प्रवाह गरिरहेको छ ।’
अन्य सरकारी कार्यालयसँग समन्वय गर्नुपर्ने काममा केही समय लाग्न सक्ने भए पनि त्यस्ता सेवाग्राहीलाई सहजीकरण गरेर काम सम्पन्न गराउन आफूले सहयोग गर्ने उनले बताए ।
नागरिककै समस्या समाधानमा घरदैलो
वडाध्यक्ष केसीका अनुसार जनप्रतिनिधिको मुख्य जिम्मेवारी नागरिकको समस्या बुझ्नु र समाधानका लागि पहल गर्नु हो । त्यसैले कार्यालयमा आउने सेवाग्राहीसँगै नागरिकका समस्या बुझ्न आवश्यक पर्दा टोल तथा घरमै पुग्ने गरेका छौं ।
दिनको समयमा मात्र नभई आकस्मिक रूपमा नागरिकलाई समस्या परे रातिको समयमा समेत सम्बन्धित ठाउँमा पुगेर सहयोग गर्ने गरेको उनको भनाइ छ । वडाको विकास निर्माणमा समेत नागरिकलाई सँगसँगै लिएर अघि बढ्ने उनले जनाए । स्थानीय आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै विकास निर्माण र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने उनको लक्ष्य छ ।
३४ वर्षको युवा उमेरमै वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेका केसीको घरदैलोमै पुगेर सेवा दिने अभ्यासले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको देखिन्छ । अब उनका आगामी कामले खाँचिकोटमा ‘नजिकको सरकार’को अनुभूति नागरिकले कत्तिको पाउँछन् भन्ने विषय महत्वपूर्ण रहनेछ ।




