प्यूठान । प्यूठान नगरपालिका जिल्लाकै उर्वर खेतीयोग्य जमिन भएको पालिका हो । झिमरुक फाँटले खेतीयोग्य भूमिको ठूलो हिस्सा ओगटेको छ । नगरक्षेत्र भित्रको केही ठाउँहरुमा कृषकले व्यवसायिक रुपमा तरकारी खेती, फलफूल खेती, माछा पालन, कुखुरा पालन, मौरी पालन, अन्डा उत्पादन, दूध उत्पादन गर्दै आएका छन् । झिमरुक नदीको किनारका अधिकांश क्षेत्रहरुमा निर्वाहमुखी खेती धान र गहुँ मात्र उत्पादन हुँदै आएको छ । विस्तार जग्गामा भाडा लिएर व्यवसाय खेती गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।
प्यूठान नगरपालिका ८ खप्रेङखोला निवासी विपना के.सी.ले लामो समयदेखि मौसमी तथा बेमौसमी सबै जातका तरकारी उत्पादन गरी तरकारी व्यवसायमा रमाउँदै आएकी छिन् । सुरुमा होटल व्यवसाय गरेकी उनले सोही ठाउँका केही कृषकहरु तरकारी उत्पादन गरेको देखेपछि तरकारी व्यवसाय रोजाइमा परेको उनी बताउँछिन् । ‘२०७२ सालदेखि साढे दुई रोपनी जग्गा भाडामा लिएर तरकारी व्यवसाय सुरु गरेकी थिए,’ कृषक विपनाले भनिन्–‘आफ्नो हिसाबले समय मिलाएर काम गर्न सकिने हुँदा तरकारी खेती स्वतन्त्र पेशा हो ।’ होटल व्यवसाय गर्दा ग्राहक कुर्नु पर्ने, बनाएर राखेका खानेकुरा बिक्री नहुँदा घाटा हुने, ग्राहक आएपछि मात्र आफू व्यस्त हुनु पर्ने थियो । अहिले मन लगाएर बिहान साँझ फर्ममा काम गरेर दिउँसो आराम गर्ने गर्दछु । आफ्नो अनुकुल मिलाएर काम गरे पनि हुने हुँदा तरकारी खेती राम्रो लागेपछि व्यवसायिक रुपमा तरकारी उत्पादन थालेको उनी बताउँछिन् । कृषक केसीले टमाटर, काँक्रा, सिमी, ब्रो काउली, बन्दा, घिरौला, खुर्सानी, लौका, करेली, भान्टा, सिम्लामिर्चलगायतका मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गर्दै आएको बताइन ।
२०७७ सालमा थप विस्तार गर्दै साढे सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको उनी बताउँछिन् । कोरोनाकै समयमा २०७८ सालमा विपना कृषि फर्म दर्ता थप व्यवस्थित गर्दै तरकारी उत्पादनलाई बढाउँदै लगेको उनको भनाइ छ । वार्षिक ६० हजार जग्गा भाडा तिर्दै आएको उनले बताइन । बिउपल तथा बेर्ना जमाउँदा, रोप्दा, गोडमेल गर्दा आंशिक कामदार लगाउने गरेको कृषक विपनाले जनाइन । विपना दम्पती र कक्षा ९ मा अध्ययन गर्ने छोरा अभिषेकको खर्च व्यवस्थापन गर्ने मुख्य आयस्रोत नै तरकारी व्यवसाय हो । उनले फर्मबाट वार्षिक ३ लाख ५० हजारको कारोबार गर्नेे र २ लाख ५० हजार आम्दानी गर्दै आएको बताउँछिन् । सुरुमा साना किसान कृषि सहकारीबाट ऋण लिइ करिब १ लाख लगानीमा तरकारी व्यवसाय सुरु गरेको उनको भनाइ छ ।
तरकारीले बजार पाउने, तर मूल्य नपाउने
ठूलो लगानी गरेर कृषि फर्म सञ्चालन गरेका कृषकहरुको मुख्य समस्या भनेको उत्पादन लागतअनुसार तरकारीले मूल्य नपाउनु हो । उत्पादन गरेको तरकारीले बजारै पाएन भन्ने गुनासो नभए पनि तराईबाट आउने तरकारी सस्तो हुने हुँदा हामीले उत्पादन गरेको तरकारीले बजार पाए पनि मूल्य नपाएको केसीले सुनाइन ।
‘तराईको तरकारीमा उत्पादनमा लगानी पनि कम लाग्ने र प्रशस्तै विषादी प्रयोग गरी कम लागतमा धेरै उत्पादन गरिएको हुन्छ,’ उनले भनिन्–‘हामीले कम विषादी र बढी प्रांगारिक मोलको प्रयोग गर्दा कम तरकारी फल्ने गर्दछ, त्यस कारण मौसमी तरकारीले खासै मूल्य पाउँदैन ।’ यससँगै दर्ता नगरी थोर थोरै तरकारी खेती गर्ने कृषकहरुको संख्या धेरै भए पनि व्यवसाय रुपमै तरकारी पेशामा लागेका कृषक खासै नभएको उनले बताउँछिन् । तरकारी खेती गर्दा सबै कृषकले एउटै उत्पादन गर्नुभन्दा फरक–फरक खालका तरकारी उत्पादन गरी एकीकृत रुपमा बजारीकरण गरेमा राम्रो मूल्य पाउनुका साथै बजार पनि पाउने कृषक केसीले बताइन ।
त्यसैगरी सोही निवासी माधवा गिरीले पनि विगत लामो समयदेखि तरकारी खेती गर्दै आएकी छिन् । टमाटर उत्पादनलाई मुख्य र अन्य मौसमी तथा बेमौसमी तरकारीहरु फलाउँदै आएको उनले बताइन । अभिशेष कृषि तथा पशुंपक्षी फर्म दर्ता गरी करिब ५ रोपनी जग्गामा तरकारी खेती गरी आम्दानी गर्दै आएको उनको भनाइ छ ।




