बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले धनमुढा चौर समाज, बुटवलले एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
समाजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको हो। भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजन तथा भौतिक क्षति भएकामा दुःख व्यक्त गर्दै समाजले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको जनाएको छ।
समाजका अध्यक्ष देवबहादुर थापाले बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि आफ्नो संस्थाको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको बताए।
“विपद्को यस्तो दुःखद घडीमा प्रभावित परिवारसँग समाजको ऐक्यबद्धता छ। राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौँ,” अध्यक्ष थापाले भने।
यसैबीच, समाजले वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै भदौ २१ गते आयोजना गर्ने भनिएको तीज मिलन तथा दरखाने कार्यक्रम स्थगित गरेको छ। विपद्का बेला उत्सवभन्दा प्रभावित नागरिकको राहत र सहयोगलाई प्राथमिकता दिनुपर्ने भन्दै कार्यक्रम स्थगित गरिएको समाजले जनाएको छ।
समाजले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।




