यतिखेर भोटेकोसी बाढीबाट प्रभावितको उद्धार र राहतको काममा सरकार जुटेको छ । मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । बेपत्ता हुनेको संख्या यकिन नभए पनि अहिलेसम्म ४ हजारभन्दा बढी बेपत्ता छन् । मृत्युको पहिचान हुन सकिरहेको छैन । राज्यले लाश व्यवस्थापन गर्न नसक्दा डिएनए संकलन गरी कुनै निश्चित ठाउँमा लास गाडेर व्यवस्थापन थालेको छ । सम्पर्कमा नआएका व्यक्तिका आफन्त पाए सास नपाए लास चाहियो भन्दै प्रहरी, सेनाको व्यारेक र विभिन्न अस्पताल धाइरहेका छन् । बाँचेकाहरुले व्यवस्थित ढंगले राहत पाउन सकिरहेका छैनन् । त्योभन्दा पनि विपतपछि आउने महामारीमा चनाखो बन्नुपर्ने भएको छ ।
बेपत्ताको संख्या धेरै भएकोले उनीहरुमध्ये धेरै जीवित रहने सम्भावना न्यून छ । उनीहरुको शव विभिन्न ठाउँमा छरिएका हुनसक्छन् । मान्छे मात्रै नभएर विभिन्न पशुपंक्षीको पनि मृत्यु भएको छ । उनीहरुको दुर्गन्ध र बढाउने प्रदूषणले निम्त्याउने जोखिम छ । बाँचेकाहरुको वासस्थानमा सरसफाईको अभाव हुन सक्छ । ओढ्ने र ओछ्याउने कपडाको अभावमा चिसोले निमोनिया लगायतको संक्रमण हुनसक्छ । एकातिर संक्रामक रोग फैलिन नदिन सचेत हुन आवश्यक छ । सरसफाइको कमीले झाडापखाला र टाइफाइडको संक्रमण हुन सक्छ । समुदायमा हैजा फैलिनसक्छ । यी संक्रामक रोग नियन्त्रण गर्न अहिलेदेखि नै अभियान चलाउनुपर्छ । अहिले सचेत नहुने, तर बिरामीको चाप बढेपछि सक्रिय बन्दा जोखिम धेरै हुन्छ । जसले धेरैको ज्यान जानसक्छ । संक्रामक रोग नियन्त्रणका लागि जति पहलकदमी आवश्यक छ, नसर्ने रोग नियन्त्रणमा पनि सरकार जिम्मेवार बन्नुपर्छ ।
नेपालको रोगको भारसम्बन्धी अध्ययनअनुसार कुल मृत्युमा नसर्ने रोगको हिस्सा १९९० मा करिब ३१ प्रतिशत रहेकामा २०१९ सम्म आइपुग्दा करिब ७१ प्रतिशत पुगेको थियो । त्यसैले अहिले नेपालमा विपद् व्यवस्थापन केवल कीटजन्य तथा संक्रामक रोग, चोटपटक र खानेपानी तथा सरसफाइको दृष्टिकोणबाट मात्र योजना बनाएर पर्याप्त हुँदैन । नेपालमा विगतका विपतपछि स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसक्दा कैयौंले ज्यान गुमाएको तथ्याङ्क छ । संक्रामक रोग नियन्त्रणको लागि सरसफाइको व्यवस्था र सामूहिक बसोबास राम्रो बनाउन जति आवश्यक छ, नसर्ने रोग नियन्त्रणको लागि औषधीको व्यवस्थापन सहजै मिलाउनुपर्छ । मनोपरामर्शले पनि व्यक्तिलाई नकारात्मकताबाट सकारात्मक बनाउन सक्छ । व्यक्ति सकारात्मक बन्दा शरीरमा शक्ति र उर्जा आउँछ । सबैखाले रोगसँग जुध्न सक्छ । अहिले बाढीप्रभावित क्षेत्रमा मनोपरामर्शकर्ता खटाएर विगतमा तड्पिएर होइन्, भविष्यप्रति आशावादी भएर बाँच्न प्रेरित गर्न राज्यको योजनाबद्ध पहलकदमीको खाँचो छ ।




