ईन्द्रप्रसाद भुसाल
भोटेकोसीमा आएको विनाशकारी महाप्रलयले नेपालका मानिस पहाड, नदी, बस्ती, बाटो र भौतिक संरचना मात्रै बगाएको छैन, यसले हाम्रो राजनीतिक चेतना, सामाजिक संवेदना र मानवीय उत्तरदायित्वलाई पनि एउटा कठोर परीक्षाको कठघरामा उभ्याइदिएको छ । भदौ १० गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीले सिर्जना गरेको विध्वंसले केही क्षणमै लाखौं परिवारका सपना उजाडिन सक्छन्, कति आमाका काख रित्तिन सक्छन्, कति सन्तान बाबुआमाविहीन बन्न सक्छन् र जीवनभरको कमाइ एकैछिनमा माटो र भेलमा विलीन हुन सक्छ भन्ने भयावह दृश्य देखाइदिएको छ । भोटेकोसी नदीको भेलसँगै बगेका जीवित शरीरका दृश्यले आज हामीलाई प्रश्न गरिरहेका छन् कि मानिस हराइरहँदा, परिवार रोइरहँदा, देश शोकमा डुबिरहँदा हाम्रो सामाजिक र राजनीति उत्तरदायित्व कहाँ छ ? भदौ १० को प्रकृतिक विपत्तिपछि खोज तथा उद्धार कार्य निरन्तर जारी छ ।
पछिल्ला विवरणअनुसार मृतकको संख्या एक हजार नाघिसकेको र हजारौँ मानिस अझै बेपत्ता रहेको अवस्था सार्वजनिक हुन सकेको छैन । स्वदेशी – विदेशी नागरिकको कुनै हिसाब किताब छैन । भौतिक क्षतिको कुनै आँकडा आउन सकेको छैन । कहालीलाग्दो नदीको अवस्था देख्दा त्यसले निम्ताएको विध्वंसको अवस्था हेर्दा आफन्त गुमाउनेहरू अब मुटु भित्र ठुलो बज्रपात सहनुको कुनै बिकल्प छैन । उद्धारकर्मीहरू नदीका किनार, भग्न संरचना, सुरुङ र दुर्गम बस्तीहरूमा जीवनको सानोभन्दा सानो संकेत खोजिरहेका छन् । हाम्रो प्रविधि क्षमता सिप र बुद्धि विवेकले भेटेसम्म्म उद्धार कार्य गरिरहेकै छौँ, तर अवस्था सोंचेभन्दा धेरै पर छ । उद्धार कहाँ ढिलो भयो, राहत किन समयमा पुगेन, स्थानीय सरकारलाई किन पर्याप्त अधिकार र साधन दिइएन, पूर्वतयारी किन कमजोर रह्यो ? यी सबै प्रश्न उठिरहेको छन् । वास्तवमा प्रारम्भिक चरणमा उद्धार तथा राहत व्यवस्थापन अत्यधिक केन्द्रीकृत हुँदा स्थानीय तहलाई पर्याप्त भूमिका नदिएको भन्दै आलोचना पनि भएको थियो । पछि प्रभावित जिल्लाहरूमा बहुदलीय संयन्त्र बनाएर स्थानीय सरकारसँग समन्वय गर्ने निर्णय भएको छ । विपद् आएको बेला सरकारको मात्रै जिम्मेवारी हो भनेर राजनीतिक दलहरू पन्छिन् मिल्दैन । राज्यको संयन्त्रले आफ्नो काम गरिरहँदा दलका हजारौँ कार्यकर्ता गाउँगाउँमा परिचालित हुनु पर्ने थियो । उनीहरूले राहत बोकेर नदी किनारमा पुग्नु पर्नेथियो । बेपत्ता परिवारको आँसु पुछ्नु पर्ने थियो । घाइतेहरूको खोजी तथा अस्पताल पु¥याउनु पर्ने थियो । रगत चाहिएको ठाउँमा रगत सङ्कलन गरि घाइतेहरूलाई उपलब्ध गराउनु पर्नेथियो, शव खोजि, सङ्कलन, पहिचान तथा व्यवस्थापनमा अग्रसर हुनुपर्ने थियो । उद्धारकर्मीलाई खाना, औषधि, कपडा, उपकरण र मानवीय सहयोग पु¥याउन पर्ने थियो तर विडम्बना हामी सरकारको आलोचना गरेर समय खर्च ग¥यौं । राजनीति संस्कार केवल निर्वाचनको दिन मत माग्ने कला मात्र नभई जनताको सुखमा खुसी हुनु र दुःखमा काँध थाप्नु पनि हो । राजनीति भनेको संसद्मा सरकारलाई प्रश्न गर्नु मात्रै होइन, राष्ट्रिय बिपत्ति र भवितव्यमा पीडितसम्म पुग्नु पनि हो ।
सबै जसो राजनीतिक दलसँग देशभर संगठन छ, वडा–वडा तहसम्म कार्यकर्ता छन्, हजारौँ जनप्रतिनिधि छन्, करोडौँ रुपैयाँको स्रोत परिचालन गर्न सक्ने क्षमता छ भने विपद्को घडीमा नदेखाइने कार्यकर्ता र त्यो क्षमता कुन प्रयोजनका लागि साँचिएको हो ? भोटेकोसीको महाप्रलय पुराना दलहरूको लागि जनताको मन जित्ने एउटा परिवेश पनि हो । तर विडम्बना अधिकांश राजनीतिक दलहरू सरकार को आलोचना गरेरै समय बिताइदिए । यसको अर्थ कुनै दलले केही गरेकै छैन भन्ने होइन । उदाहरणका लागि, नेकपा एमालेले विपद् प्रभावितका लागि रु. १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति भोटेकोसीमा पुग्नुभयो । तर उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्ना संगठनलाई परिचालन गर्ने कुरामा राजनीतिक दलहरू पछाडि परेकै हुन् । प्रश्न रकमको मात्रै होइन, जनताको आँखाले देख्ने गरी, पीडितको आँगनमा अनुभूति हुने गरी, राजनीतिक दलहरूको मानवीय उपस्थिति कति बलियो भयो त ? भन्ने पनि हो । हामीले विपद्लाई पनि राजनीतिक चस्माबाट हेर्न थाल्यौँ भने त्योभन्दा दुर्भाग्यपूर्ण अवस्था अर्को हुन सक्दैन । प्रधानमन्त्रीले राम्रो काम गरे भने त्यो सफलता नेपाल राष्ट्रको हो । उद्धारमा नेपाली सेना सफल भयो भने नेपाल आमाको सफलता हो । नेपाल प्रहरीले जीवन जोखिममा राखेर मानिस बचायो भने त्यो प्रहरी संगठनको मात्र गौरव होइन; सम्पूर्ण नेपालीको गौरव हो । कुनै राजनीतिक दलको कार्यकर्ताले बाढीपीडितलाई काँधमा बोकेर अस्पताल पु¥यायो भने त्यो पार्टीको प्रचार सामग्री नभई नेपाली मानवताको परिचय हुनेछ ।
२०७२ सालको महाभूकम्पको बेला संसारले नेपाललाई सम्झिएको थियो । विश्वका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था तथा देशबाट आर्थिक सहयोग, उद्धार टोली, चिकित्सा टोली, राहत सामग्री, स्वयंसेवकहरू आए । जापानले पाकिस्तानको २००५ को भूकम्पपछि उद्धार टोली, चिकित्सकीय टोली र हेलिकोप्टरसहित सहयोग पठाएको थियो । उक्त महाभूकम्पमा जापानी सरकारसँगै राजनीतिक दल र निजी क्षेत्रसँगै सक्रिय भएको जापानको परराष्ट्र मन्त्रालयको अभिलेखमा उल्लेख छ । आज भोटेकोसीमा पनि संसारले नेपालतर्फ हेरिरहेको छ । भारत र चीनले राहत तथा प्राविधिक सहयोग दिएका छन् । दक्षिण कोरियाले एक मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।
बेलायतले पाँच मिलियन पाउन्ड बराबरको सहयोग तथा उद्धार जनशक्ति पठाउने प्रतिबद्धता जनाएको छ । अमेरिकाले पनि सहयोग र प्राविधिक सहायता अघि सारेको छ । अन्तर्राष्ट्रिय रेडक्रस, विश्व स्वास्थ्य संगठनलगायत संस्थाहरूले समेत सहयोग परिचालन गरेका छन् । जब संसारका विभिन्न कुनाबाट मानिसहरू नेपालको पीडामा साथ दिन खोजिरहेका छन्, तर नेपालका राजनीतिक दलहरूबिच भने एकअर्काको कमजोरी खोज्ने प्रतिस्पर्धा हुनु कति विडम्बनापूर्ण दृश्य हो ! हामीलाई अहिले अर्को दललाई गाली गर्ने कार्यकर्ता तथा नेता होइन, भेलमा बगिरहेको मानिसलाई बचाउने स्वयंसेवक चाहिएको छ । हामीलाई सामाजिक सञ्जालमा आक्रोश पोख्नेभन्दा नदीको किनारमा उभिएर बेपत्ताको खोजी गर्ने हात चाहिएको छ । हामीलाई सरकारको कमजोरीको सूची तयारपार्ने प्रतिपक्षको हुटहुटि नभई सरकारका उद्धार संयन्त्रलाई सहयोग गर्ने राजनीतिक संस्कार चाहिएको छ । तर यसको अर्थ सरकारलाई प्रश्न नगर्ने भन्ने पनि होइन । सरकारको काम सरकारलाई गर्न दिनुपर्छ, राजनीतिक दलले आफ्नो संगठन र स्रोत सरकारको काममा सहायक हुने गरी परिचालन गर्नुपर्छ । राज्यको अधिकार राज्यसँगै रहोस्, तर समाजको शक्ति समाजले परिचालन गरोस अनि मात्र लोकतान्त्रिक सहकार्यको सुन्दर नमूना हुन सक्छ । हिमालको उच्च श्रृङ्खलाबाट बुलेट ट्रेनको गतिमा आएको भोटेकोसीको भेलले आफ्नो सीमाना बुझेन, त्यसले एमाले, कांग्रेस, रास्वपा, राप्रपा माओवादी कसैलाई छोडेन, धनी, गरिब, बिरामी, बच्चा बृद्ध, महिला पुरुष , नेपाली र विदेशी कसैलाई छुट्याएन । सजिव निर्जिव केही चिनेन ।
नदीको त्यो बितन्डाले आफ्नो क्षमताले भेटेसम्म्म कोही कसैलाई बाँकी राखेन । मानवीय वैज्ञानिक उपलब्धिमाथि सजिलै जित हासिल ग¥यो र क्षणभरमै सुन्दर सन्सार कालकोठरीमा बदलिदियो । त्यसैले उद्धार गर्दा पनि हामीले मानवताको सम्वेदनशिला बुझ्न जरुरी छ । यो विपत्ति केवल प्राकृतिक विपत्ति मात्र होइन, यसले हाम्रो विकासको ढाँचा, वातावरणीय चेतना र भविष्यको तयारीमाथि पनि गम्भीर प्रश्न उठाएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै यस्ता चरम प्राकृतिक जोखिम बढ्दै गएको संकेत विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन् । प्रधानमन्त्रीले समेत भोटेकोसी विपत्तिलाई जलवायु परिवर्तनसँग जोड्दै हिमाली मुलुकका लागि अन्तर्राष्ट्रिय ध्यान आवश्यक रहेको बताएका छन् । त्यसैले आजको राहत भोलिको पुनर्निर्माणसँग जोडिनुपर्छ । आजको उद्धार भोलिको विपद् पूर्वतयारीसँग जोडिनुपर्छ । आज बगेको पुल, विद्युत् गृहहरू भोलि फेरि त्यही ठाउँमा जस्ताको तस्तै बनाउने होइन; अझ सुरक्षित अझ बलियो संरचना र बदलिँदो जलवायु जोखिमलाई ध्यानमा राखेर निर्माण गर्नुपर्छ । नदीलाई साँघुरो पारेर, जोखिमपूर्ण भूभागमा अव्यवस्थित संरचना बनाएर र प्रकृतिको चेतावनीलाई बेवास्ता गरेर हामीले विकासको नाममा आफ्नै जोखिम बढाइरहेका त छैनौँ भन्ने प्रश्न पनि अब टार्न मिल्दैन । दलका शीर्ष नेताहरू हेलिकोप्टरमा प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किनु मात्र पर्याप्त छैन । प्रत्येक दलले आफ्नो संगठनको शक्ति वास्तविक उद्धारमा लगाउनुपर्छ । प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रमा राहतको अवस्था बुझ्नुपर्छ । प्रत्येक स्थानीय नेता आफ्नो गाउँको बेपत्ताको सूची, घाइतेको अवस्था र राहतको आवश्यकताको विवरण लिएर प्रशासनसँग समन्वयमा उभिनुपर्छ । पार्टी कार्यालयहरू केही दिनका लागि राहत समन्वय केन्द्र बन्न जरुरी छ । प्रत्येक कार्यकर्ताहरू स्वयंसेवक बन्न सक्छन् । चिकित्सक, इञ्जिनियर, शिक्षक, विद्यार्थी, व्यवसायी, पत्रकार र सामाजिक संस्थाहरू एउटै मानवीय मोर्चामा उभिन सक्छन् । राजनीतिक दलहरूको वास्तविक चरित्रको मापन यो बिनाशकारी विपद्का बेला देखिनु पर्ने थियो ।
त्यसैले अहिले पुराना दलहरूका लागि यो इतिहासले दिएको अन्तिम अत्यन्त महत्वपूर्ण परीक्षा हो । उनीहरूले सरकारको असफलता खोजेर आफ्नो सफलता प्रमाणित गर्न खोजे भने जनताले त्यो राजनीति सम्झिरहनेछन् । राजनीतिक दलहरूले आफ्नो झन्डाभन्दा माथि नेपालको झन्डा राखेर, आफ्नो पार्टीभन्दा माथि पीडित नागरिकलाई राखेर, आफ्ना कार्यकर्तालाई राहत र उद्धारमा उतारेर, सरकारसँग प्रतिस्पर्धा होइन, सहकार्य गरेर काम गरेर देखाउने बेला हो । कांग्रेस, एमाले, रास्वपा, माओवादी, राप्रपा वा अन्य कुनै दल कसले कति आर्थिक सहयोग गरे भन्ने हिसाबभन्दा पनि कसले कति मानिसको आँसु पुछ्यो भन्ने हिसाब महत्वपूर्ण छ । इतिहासले पार्टी कार्यालयमा भएका निर्णय होइन, संकटको क्षणमा पाएको साथ सम्झन्छ किनकि मानिसको जीवनभन्दा ठूलो मूल्यवान कुनै विचार छैन, कुनै पार्टी छैन, कुनै पद छैन, कुनै सत्ता होइन । सिङ्गो राष्ट्र विपत्तिमा हुँदा सत्ता पक्ष र प्रतिपक्ष भन्ने सीमारेखा मेटिनुपर्छ । सङ्कटको बेला सरकारको सफलता भनेको विपक्षको असफलता होइन ।
अब भोटेकोसीमा बगेका मानिसहरूका लागि ढिलो भएको समय फर्काउन सकिँदैन । तर बाँचेका मानिसहरूको जीवन जोगाउन सकिन्छ । बेपत्ताको खोजी गर्न सकिन्छ । घाइतेलाई उपचार दिन सकिन्छ । भोकालाई खाना दिन सकिन्छ । घर गुमाएकालाई आश्रय दिन सकिन्छ । शोकमा डुबेका परिवारको काँधमा हात राख्न सकिन्छ । अब हाम्रो एउटा राष्ट्रिय संकल्प बन्नुपर्छ र सबै नेपालीले भन्नु पर्छ–“तिमीहरू एक्ला छैनौ, सिंगो नेपाल तिमीहरूको साथमा छ ।” त्यसैले यो समय सरकारको खैरो खन्ने समय होइन । सरकारको कमजोरी छ भने सुधारका लागि दबाब दिने हो, उद्धारको हात रोक्ने समय होइन । यो समय दलगत स्वार्थको होइन, राष्ट्रिय संवेदनाको हो । आर्थिक, सामाजिक, भौतिक, प्राविधिक, चिकित्सकीय वा नैतिक साथ दिने समय हो । गाउँ–गाउँबाट बस्ति–बस्तिबाट सहयोगका हात बढाउने समय हो । भोटेकोसीको महाप्रलयमा सफलता पाउनु सिंगो नेपाली समाजको सफलता हो । जनताको मन जित्ने बाटो भाषणबाट होइन, सेवाबाट खुल्छ । नाराबाट होइन, समर्पणबाट खुल्छ । सत्ताबाट होइन, संवेदनाबाट खुल्छ । भोटेकोसीले दिएको विपत्तिको बेला जसले मानिसको हात समाउँछ, इतिहासले अन्ततः उसैको हात समाउनेछ । यो बेला मानवीय संवेदनाको सुन्दर उदाहरण पस्कने बेला हो । भोटेकोसीमा फसेका तथा बेपत्ता भएका सम्पूर्ण नेपाली र विदेशी नागरिकहरूको शीघ्र खोजी तथा सकुशल उद्धार होस् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् । आफ्ना प्रियजन गुमाएका परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्राप्त होस् । विपत्तिमा परेका प्रत्येक नागरिकले आफू एक्लो नभएको अनुभूति गर्न पाओस् भन्ने आजको सबैभन्दा ठूलो प्रार्थना हो ।




