परासी ।लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले शिक्षा र कृषि क्षेत्र राम्रो भए मात्रै नागरिकको स्वास्थ्य अवस्था पनि राम्रो हुने बताएका छन ।
उनले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य क्षेत्रलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।उनले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि स्वास्थ्यसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका शिक्षा, कृषि लगायतका अन्य क्षेत्रहरूमा समेत सुधार गर्न आवश्यक रहेकोमा जोड दिए ।
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा आगामी योजनाबारे दुईदिने गोष्ठीलाई सम्बाेधन गदै मन्त्री पुनले स्वास्थ्य क्षेत्रमा विभिन्न साझेदारी संस्थाले आ–आफ्नो क्षेत्रबाट छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गरी सेवा तथा सहयोग पुर्याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दै सबै स्थानीय तहले स्वास्थ्यका इन्डिकेटर (सूचक) लाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।
त्यस्तै, स्थानीय तह र साझेदारी संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य क्षेत्रका उपलब्धि र चुनौतीका आधारमा आगामी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए ।जिल्ला समन्वय समितिका प्रमुख भगाैतीप्रसाद (रूदल) यादवले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी त्यसको समाधानका लागि नियमित अनुगमन, समन्वय र आवश्यक सुधारलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिएका थिए ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अगद बहादुर शाहीले कार्यक्रममा स्वास्थ्य क्षेत्रमा भएका कामको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक योजना, प्राथमिकता र रणनीति तय गर्ने उद्देश्य राखिएको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासी तथ्यांक अधिकृत यबदेव न्याैपानेले स्वास्थ्य कार्यालयले संचालन गरेकाे आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको वार्षिकबारे जानकारी गराएका थिए ।स्वास्थ्य कार्यालय नवलपरासीका बरिस्ठ मलेरिया ईपेस्टर देविलाल पाैडेलले स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट भएका कार्यक्रमहरूको उपलब्धि र समस्याबारे समेत छलफल गरी स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने विषयमा योजना तर्जुमा गरिने बताए ।
गोष्ठीमा स्वास्थ्य कार्यालय, स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको छ। कार्यक्रम स्थानिय तह प्रमुुखहरूले आ-आफ्नो धारणा राखेको थिए ।




