बुटवल । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा भएको जनधनको क्षतिप्रति स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गर्दै बाढीपीडितका लागि रु. ७ लाख ३ हजार ५ सय ५३ सहयोग गरेको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णराज चौधरीका अनुसार संस्थाको तर्फबाट रु. ५ लाख ५ हजार तथा सम्पूर्ण कर्मचारीहरूको तर्फबाट रु. १ लाख ९८ हजार ५ सय ५३ गरी जम्मा रु. ७ लाख ३ हजार ५ सय ५३ सहयोग गरिएको हो ।
बाढीका कारण भएको मानवीय क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिहरूको सकुशल खोजी तथा शीघ्र उद्धारको कामना गरेको छ ।
प्राकृतिक विपदमा परी घाइते भई विभिन्न स्वास्थ्य संस्थामा उपचाररत व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संस्थाले प्रभावित नागरिक, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र परिवारजनले भोग्नुपरेको पीडाप्रति सहानुभूति व्यक्त गरेको छ ।
राहत तथा उद्धार कार्यमा खटिएका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूप्रति पनि संस्थाले आभार व्यक्त गरेको छ ।




